खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तीते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको एक लाख बजेटबाट यस वर्ष ११ मुरी तीते फापर उत्पादन गरेको हो ।
गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय गुण भएको तीते फापर बिक्रीका लागि प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिइन् । ‘तीते फापर लोप हुँदै गएको छ । यो स्वास्थ्यका लागि फाइदाजनक छ । गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । यही कार्यक्रमअन्तर्गत यस वर्षदेखि तिते फापर उत्पादन सुरु गरिएको हो’, उनले भनिन्, ‘गाउँपालिकाले उत्पादन गरेको तिते फापर बिक्रीका लागि भण्डारण गरेर राखिएको छ । खरिद गर्न इच्छुक महानुभावले चिसापानी बजार आएर प्रतिकेजी ९० रुपैयाँ मूल्यमा लिनसक्नुहुन्छ ।’
गाउँपालिकाले आर्थिक वर्ष २०८२–०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडा नम्बर ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा सरकारी तथा पर्ती जग्गामा तिते फापर खेती लगाएको थियो ।
तीते फापरखेतीका लागि जमिन खनजोत गर्न, बीउ छर्न, उत्पादित फापर काट्ने र उठाउने काममा पारिश्रमिक दिएर कामदार लगाइएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख काजोल कुश्माले जानकारी दिइन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो जन्तेढुङ्गा गाउँपालिकाले यसअघि सोही ठाउँको बाँझो जमिन उपयोग गरेर ६ हजार केजी आलु उत्पादन गरेको थियो ।
आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आव २०८१–०८२ मा उपलब्ध गराएको १५ लाख सशर्त बजेटमध्ये सात लाख लगानी गरेर गाउँपालिकाले आलु फलाएको हो ।
गाउँपालिकाले भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर गत फागुनमा आलुखेती लगाएको थियो । गाउँपालिकाको आन्तरिक आयश्रोत वृद्धि गर्ने उद्देश्यले बाँझो जमिन फोरेर भञ्ज्याङखर्कमा रोपिएको आलु खन्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीलाई लगाइएको थियो ।
बाँझो जमिन उपयोग गरेर उत्पादन गरिएको आलुलाई गाउँपालिकाको केन्द्र चिसापानी बजारमा सञ्चालन गरिएको कोसेली घरमा भण्डार गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेर बिक्री गरिएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।
गाउँपालिकाले निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीय नागरिकलाई व्यावसायिक बनाउन प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकाको १७औँ गाउँसभाले गाउँपालिकाका स्थानीयवासीलाई व्यावसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने किसिमका नीति तथा कार्यक्रम बनाएको छ ।
छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको ठूलाठूला घाँसे मैदान रहेको भञ्ज्याङखर्कमा आगामी आर्थिक वर्ष पनि आलुखेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।
आलुखेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।













प्रतिक्रिया