कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए  « Khabarhub

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको जित सुनिश्चित भएको दाबी गरेकी छिन् । काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उनी गत चुनावमा रास्वपा नेता सोविता गौतमसँग झिनो मतान्तरले पराजित भएकी थिइन् ।

 दुई दशकदेखि जनताको सुखदुखको साक्षी र सारथी भएका कारणले पनि यसपटक आफूले चुनाव जित्ने वातावरण बनेको उनको भनाइ छ । अघिल्लो निर्वाचनमा पराजय बेहोरे पनि निरन्तर जनतासँगै सक्रिय रहँदै आएको उल्लेख गर्दै पोखरेलले यसपटक अघिल्लो नतिजा उल्टिने विश्वास व्यक्त गरेकी छन् । 

युवा उद्यमी समेत रहेकी उनी एक दशकदेखि राप्रपाको राजनीतिमा सक्रिय छिन् । राप्रपाको एकता महाधिवेशनमा सबैभन्दा धेरै मत प्राप्त गरेकी थिइन् । साथै, उनी सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय छिन् । उनी राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष पनि हुन् ।

यस क्षेत्र अन्तर्गतको प्रदेशसभा निर्वाचनमा राप्रपाले जित हासिल गरिसकेको छ भने शंखरापुर नगरपालिका पनि राप्रपाको नेतृत्वमा रहेको छ । हिन्दु राजतन्त्रात्मक शासन व्यवस्था फर्काउने राप्रपाको दीर्घकालीन एजेन्डालाई खुलस्त पार्दै उनी चुनावी दौडमा छिन् । 

घरदैलो कार्यक्रम कस्तो भइरहेको छ ?

चुनावी घरदैलो मात्रै गरेर बसिरहेको छैन,२०७९ मा चुनाव हारेदेखि नै घरदैलो कार्यक्रमै छु । जनताका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर विभिन्न समिति, स्थानीय तह र जनतासँग प्रत्यक्ष छलफल गरिरहेको छु । 

मतदाताहरूले चुनाव हारेर पनि फेरि तपाईँ नै आउनुभयो ? भनेर सोध्नुभएको छ । साथै मेरो पुनः उम्मेदवारी देखेर खुसी पनि हुनुभएको छ । अब पक्का भोट हाल्छौ, अरुलाई हालेर पछुताएका छौं भन्नुभएको छ । अब पार्टी हेरेर होइन, काम गर्ने मान्छेलाई भोट हाल्छौं भन्नुभएको छ । मतदाताको प्रतिक्रिया अधिकांश सकारात्मक पाएको छु । साथै, चुनाव जित्छु भन्नेमा यसपटक आफैं पनि विश्वस्त छु । 

जनताका के के अपेक्षा रहेका छन् ?

शंखरापुरमाथि नाङ्लेभारेदेखि लिएर विभिन्न ठाउँमा बाटोको समस्या छ । अर्को केही भागमा मुख्य समस्या पानी पनि रहेको छ । पानी उम्रिरहेको छ, तर ट्याङकीहरुको व्यवस्थापन नहुँदा र पाइपलाइनहरू नबिछ्याइदिँदा सर्वसुलभ हुन सकिरहेको छैन । 

बाटो बनिरहेको छ तर भित्री बाटोहरु कच्ची छन् । काठमाडौं राजधानीका जनता बाटोको समस्यामा छन् भन्दा नपत्याउलान् भन्ने छ । तर भएको समस्याको बारेमा बोल्नैपर्यो । जसको कारण आमजनताले कष्ट भोग्नुपरेको छ । 

हिजो माथितिर जाँदै थिएँ, गाडी धकेलेर जानुपर्यो । अवस्था यस्तो नाजुक छ । पहिलेदेखि हरेक महिना दुईचार पटक जाँदै गरेको छु । बाटोको लागि ४० करोड बजेट छुट्याइएको छ । 

 त्यसैगरी नगरपालिकामा एम्बुलेन्सको संख्या अत्यन्त कम छ । बिरामी हुँदा इमरजेन्सी एम्बुलेन्स प्राप्त गर्ने स्थिति छैन । कुर्नुपर्ने वा पर्खिनुपर्ने अवस्था आफैँमा लज्जाजनक छ । आधा देखि एक घण्टासम्म एम्बुलेन्स नआउँदा बिरामीको ज्यान जाने अवस्थाका बारेमा नागरिकले गुनासो गर्नुभएको छ । धेरै प्रयासमा एउटा एम्बुलेन्स व्यवस्था गरिदिएको छु शंखरापुरमा । 

अर्को युवा बेरोजगारी देशैभरको समस्याको रुपमा रहेको छ । शंखरापुरमा पनि अवस्था त्यही छ । अत्यन्त पर्यटन व्यवसायको सम्भावना भएको क्षेत्रका युवाहरु बेरोजगार हुनु भनेको हाम्रो दुर्भाग्य हो । यहाँबाट हिमालहरू देखिन्छन् । साली नदीको मेला अहिले चलिरहेको छ । भारतदेखि विश्वभरका हिन्दुहरू त्यहाँ ल्याउन सकिन्थ्यो । भारतमा कुम्भमेला विश्वभर चर्चित भयो । त्यसरी नै हामीले साली नदीको प्रचार गर्नुपर्थ्यो । 

स्वस्थानी माताको दर्शन सँगै साली नदीको स्नानको बारेमा चर्चा गर्नुपर्ने थियो । यस क्षेत्रको महत्व बुझेर काम गर्ने नेताको असाध्यै अभाव छ । यस क्षेत्रमा हरेकपटक सांसद् फरक–फरक चुनिएका छन् । पहिले निर्वाचन जितेको नेता दोस्रोपटक उम्मेदवारी दिँदैनन् । जनता सँधै ठगिएका छन् । यो भन्दा अगाडि पनि रास्वपाबाट अत्यधिक मतसहित विजय प्राप्त सांसद् अहिले अर्को निर्वाचन क्षेत्रमा चुनाव लड्न जानुभएको छ । 

यहि बसेर आफ्नो क्षेत्रको विकास र जनताको सुखदुःखका काम लाग्ने नेता यो क्षेत्रले पाएका छैनन् । उनीहरु गुनासो र प्रश्न सुन्ने नेता पाएका छैनन् । नयाँ संसद्‍बाट आश गर्नुहुन्छ र हरेक पटक निराशाबाहेक जनतालाई केही छैन ।

चुनाव जितेर मतदान गर्ने जनताको पक्षमा नेताहरू नबस्ने प्रचलन यस क्षेत्रमा विद्यमान छ । जुन अत्यन्त घातक हो । स्थानीयदेखि म आफैँले भोगेको समस्या यही हो । तीन वर्षमा म प्रत्येक घरघर पुगे । केन्द्रमा पुगेर यहाँको समस्या उजागर गर्ने र आवाज उठाउने नेता अहिलेसम्म भेटिएकै छैन । 

 पर्यटन क्षेत्रको प्रवर्द्धन कसरी गर्ने ?खाका कस्तो छ तपाईसँग ?

काठमाडौंको यो छेउ विकासको अभावमा ओझेलमा परेको छ । धार्मिक पर्यटक र कृषिमा राम्रो काम गर्न सकिने क्षेत्र हो । नगरकोटभन्दा कम सुन्दर ठाउँ होइन । नगरकोट घुम्न जाने गन्तव्यको रुपमा चिरपरिचित हुनु तर शंखरापुर कसैले नचिन्नु दुर्भाग्य हो । त्यो यहाँका नेताहरूको कमीकमजोरीले भएको हो । 

यहाँ स्थानीय तहसँगै छलफल गरेको छु । मेयरदेखि वडाअध्यक्षहरूसँग साँखु क्षेत्रको मन्दिरको प्रचारप्रसार गर्ने खाका बनाइरहेका छौँ । नाङग्लेभारा र कात्तिकेमा पाँचतारे होटलहरू खोल्नुपर्छ । लगानी भित्र्याउन सकिन्छ । योजनाबद्ध रुपमा काम गर्नेछौ । यदि जनताले पाँच वर्षको लागि संसद्मा पठाउनुभएमा यी सबै कामहरू गरेर देखाउनेछु । 

यो क्षेत्रका कुनैपनि युवाले बेरोजगार बस्नुपर्ने छैन । साली नदीदेखि माथि गुम्बासम्म धार्मिक र पर्यटकीय क्षेत्र हो । यहाँबाट सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । साँखुमाथि पुगेपछि पुरै खाली जग्गाहरू छन् । एकजना व्यक्तिकै सय डेढसय रोपनी जमिन छ । कृषिसम्बन्धी अनुसन्धान गरेर त्यो जमिनमा अधिकतम लाभ लिन सकिन्छ । के फल्छ ? के रोप्न सकिन्छ ?अध्ययन गर्नुपर्छ ।

 सडकमा बसेर पनि यस क्षेत्रको विकासको लागि काम गरिरहेको छु । अब संसद्मै पुगेर आवाज पुर्‍याउँछु । मन्त्रालयबाट केन्द्रीय बजेट भित्र्याउने काम गर्छु । विदेशी लगानी पनि भित्र्याउने गरी काम गर्ने प्रतिवद्धता लिएको छ । 

भौतिक विकाससँगसँगै त्यहाँको सामाजिक समन्वयको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हक अधिकार सुरक्षित गर्ने काम गर्छु । ज्येष्ठ नागरिकहरूका लागि सामुदायिक भवन निर्माण, खाली जग्गाहरूमा कसरत गर्ने स्थान तोक्छु । 

साथै, व्यक्तिगत रुपमा आफैं पनि धार्मिक व्यक्ति भएकाले ध्यान र योग गर्ने स्थलको निर्माण गर्छु ।  

यी योजना पुरा गर्न चुनाव जोत्नुपर्‍यो । पहिलेको निर्वाचनमा तेस्रो भएको पार्टी  हो । यसपटक चुनाव जित्ने आधार के हो ?

यस क्षेत्रमा सांसद् कोही दोहोरिएका छैनन् । यस क्षेत्रका मतदाता करिब सबै नै शिक्षित हुनुहुन्छ । यसले गरेन, अर्को नेता ल्याउ । त्यसले पनि गरेन अर्कोलाई ल्याउ भन्दै सांसद फेरिएको फेरियै छन् । 

काठमाडौं जस्तो राजधानी यसै विकट भएको होइन । नेताहरू चुनाव जितेर गयो । फर्केर कामै नगर्ने । बजेट ल्याउन नसक्ने । यहाँको सम्भावना अध्ययन नगर्ने भएकाले हो । 

बाटो बनाउँदा नगरपालिकामा ताल्चा लगाउनुपरेको थियो । मत चुनाव हार्दा पनि जनताकै काममा लागिरहेको छु । दुई दशदेखि यस क्षेत्रको जनताको सुखदुखको साक्षी र सारथी हुँ । सांसद्ले नीति नियम बनाउने मात्रै हो भन्नुहुन्छ । तर सांसद्ले बजेट ल्याउने पनि हो–आफ्नो क्षेत्रमा । बाटोमा आएको बजेट, बाटोमा काम भइरहेको छ कि छैन ? विकास निर्माणका काम के–कति भएका छन् ? सांसद्ले अवलोकन गर्नुपर्छ । निगरानी राख्नुपर्छ । 

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  २ : ११ बजे

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले