राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे « Khabarhub

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न गरी उनी यही माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन् ।

उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनाका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनेछन् ।

नेपाल–जापान सम्बन्ध

नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो । १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो । जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ ।

ऐतिहासिक सम्बन्ध

जापानी बौद्ध भिक्षु, रेभ एकाई कावागुची पहिलोपटक १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थहरूको खोजीमा तिब्बतको बाटो हुँदै नेपाल आएको इतिहास छ । उहाँले जापानमा नेपालको परिचय गराएको र आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानी जनतालाई लुम्बिनीको महत्त्व उजागर गरेको इतिहासकारहरू बताउँछन् ।

नेपालमा राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि जापान गएकापछि नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक भएको बताइन्छ ।

भ्रमण आदानप्रदान

नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न योगदान पु¥याएको छ । पछिल्लो समय एकअर्का देशहरूमा उच्चस्तरस्तरीय भ्रमणहरू आदानप्रदान भइरहेका छन् ।

जापानका विदेशमन्त्री तारो कोनोको निमन्त्रणामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखिसम्म जापानको औपचारिक भ्रमण गरेका थिए । यस्तै, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एसियाली अफ्रिकी कानुनी परामर्शदाता सङ्गठनको ५७औँ सत्रमा भाग लिन २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गर्नुभएको थियो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ अक्टोबर २०–२२ सम्म टोकियोमा आयोजित सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन जापानको भ्रमण गरेका थिए ।

यसैगरी जापानका विदेशमन्त्री तारो कोनोले २०१९ जनवरी ९ देखि १० सम्म नेपालको भ्रमण गर्नुभएको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानकी विदेशमन्त्री सुश्री कामिकावा योकोले २०२४ मे ५ मा नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो ।

विकास सहयोग

जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउँदै आएको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगका रूपमा सहयोग गर्र्दै आएको छ । साथै नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि प्रदान गर्दै आएको छ । जापानीले नेपाललाई गर्ने आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण र संस्कृतिलगायत रहेका छन् ।

जापानले विद्युत् उत्पादन, सडक, पुल, खानेपानी सुविधा, दूरसञ्चारलगायत क्षेत्रहरूमा आधारभूत पूर्वाधारको सुधारलाई महत्व दिँदै आएको छ । सिन्धुली सडकको निर्माण जापानी विकास सहयोगअन्तर्गत प्रमुख परियोजनाहरूमध्ये एक हो । जापानले नेपाललाई कुलेखानी १ र २ जलविद्युत् स्टेसन, कालीगण्डकी ‘ए’ जलविद्युत् स्टेसन, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजना जस्ता परियोजनाहरूमा ऋण सहयोग प्रदान गरेको छ ।

यस्तै, पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत हाल सञ्चालनमा रहेका परियोजनाहरूमा नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार परियोजना र चौबाटो सुधार परियोजनाहरू रहेका छन् ।

सन् १९५४ मा जापान कोलम्बो योजनामा सामेल भएदेखि नै जापान सरकारले नेपाली विद्यार्थीहरूलाई प्राविधिक तालिम प्रदान गर्दै आएको छ । जापानले जापन अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) स्वयंसेवक कार्यक्रमअन्तर्गत नेपाललाई जापान ओभरसिज कोअपरेसन भोल्युन्टियर्स र वरिष्ठ स्वयंसेवकहरू पनि प्रदान गर्दै आएको छ । यो कार्यक्रम सन् १९७० मा सुरु भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : ४२ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी