एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए जङ्गे ! शाहज्यादा र शाहज्यादीहरूको विवाह गरिदिनुपर्याे । वर बधुहरूको खोजी गर ।’
जंगबहादुरले मौकाको फाइदा उठाउँदै जवाफ फर्काए– ‘सरकार ! वर बधुहरू किन खोजिरहनुपर्याे र ! युवराजहरूको विवाह मेरा छोरीहरूसँग, शाहज्यादीहरूको विवाह मेरा छोराहरूसँग गरिदिइबक्से भइहाल्छ नि !’
जङ्गबहादुरको जवाफले राजाको पारो चढ्यो । उनले आक्रोशित हुँदै भने– ‘तँ खसले हाम्रा शाहज्यादीहरू ताक्ने ?’ जङ्गबहादुरले राजालाई खरो तर विनम्र भावमा सम्झाए– ‘सरकारले आफूलाई कत्रो जातवाला सम्झिबक्सेको छ ? सरकारको जिज्यूबुबा स्वर्गीय राजा गीर्वाणयुद्ध विक्रम शाह ब्राहणीतर्फको सन्तान होइबक्सन्नथ्यो र ? के राजा रणबहादुर शाहका महारानी सुवर्णप्रभातर्फका जेठा छोरा रणोद्योत शाह र कान्छा छोरा शमरशमशेर शाहहरू दुवैजना राज सिंहासनको हकदार हुँदाहुँदै राजा रणबहादुर शाहको बहुलठ्ठीपनले जम्मा १७ महिनाको गीर्वाणयुद्धलाई राजसिंहासनमा राखेको हैन ? मैले नै सरकारलाई राज सिंहासन दिलाएँ नत्र सिंहासनमा सरकारकै भाइ साहिँला साहेबज्यू रणेन्द्र विक्रम शाह बस्थे ।’
जागिर माग्न आएको एउटा केटोलाई रेडियोमा ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ दिलाएर जाउलो खाने बन्दोबस्त मिलाइदिएको आत्मरतिमा केपी ओलीले रवि लामिछानेलाई हेपाहा बोली बोलिरहँदा आज यो दिन आएको बुझ्न कठिन छैन ।
जङ्गबहादुरको कुरा सुनेपछि राजालाई आफ्नो हैसियत र जङ्गबहादुरको शक्ति बल्ल महसूस भयो । जङ्गबहादुरलाई अर्दली सम्झिएर व्यवहार गरेकोमा पछुतो भयो । विनीत भावमा राजाले भने– ‘लौ जङ्गे, तैँले भनेका कुरा सत्य हुन् । हाम्रा छोराछोरीको विवाह आपसमा गरिदिन म राजी छु ।’
जागिर माग्न आएको एउटा केटोलाई रेडियोमा ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ दिलाएर जाउलो खाने बन्दोबस्त मिलाइदिएको आत्मरतिमा केपी ओलीले रवि लामिछानेलाई हेपाहा बोली बोलिरहँदा आज यो दिन आएको बुझ्न कठिन छैन । संसदमा दुई तिहाइ सरकारको मालिक बालेन अब एमालेजनको सस्तो टिप्पणी ‘लुसिफर’ नभएर तीन करोड जनताको अभिभावक हो । एमाले विशाल पोखरी हुँदा माछाले कमिला खायो । जनमतले एमालेको पोखरी सुकेपछि त्यही कमिला माछामाथि हावी भयो । अहिले एमालेको सरकार थियो भने बालेन, रवि, सुधन सबै सरकारको पाहुना भएर हिरासतमा हुन्थे । उनीहरू सत्तारुढ हुँदा ओली, रमेश लेखक भए । फरक त्यति हो । बाबुराम भट्टराईले भनेजस्तै नेपालको संसद अहिले यथार्थमै गाईलाई गोरु र गोरुलाई गाई बनाउने ल्याकत राख्छ । नेपाली जनताले सार्वभौम संसदको माहुते बन्ने जिम्मेवारी रवि–बालेनलाई दिएका छन् ।
शासन सत्ता भनेको निर्णय प्रक्रियामा सहभागी हुनु मात्र होइन, त्यसको स्वामित्व लिनु पनि हो । सरकारले एक रुपियाँको निर्णय गर्दा कम्तिमा तीन करोडको श्रोत चाहिन्छ भन्ने त्यहाँ बसेकाहरूले हेक्का राख्नुपर्छ ।
शासन सत्ता भनेको निर्णय प्रक्रियामा सहभागी हुनु मात्र होइन, त्यसको स्वामित्व लिनु पनि हो । सरकारले एक रुपियाँको निर्णय गर्दा कम्तिमा तीन करोडको श्रोत चाहिन्छ भन्ने त्यहाँ बसेकाहरूले हेक्का राख्नुपर्छ । कुनै मान्यता प्रतिस्थापन गर्नुअघि त्यो ठाउँमा राख्ने वस्तुको जोहो गरिएन भने प्रश्न गर्ने हावी, उत्तर दिने कमजोर हुँदै जान्छन् । चर्चित बन्न सजिलो छ, लोकप्रिय हुन कठिन छ ।
रत्नपार्कदेखि भक्तपुरसम्म सडकमा रातो पोतेर रातारात ननस्टप बस सेवा सञ्चालन गर्न राज्यको दश करोड स्वाहा गरेपछि थाहा भयो– सरकारले चलाएको सुपर बस लोकलभन्दा बसपार्क ढिलो पुग्न थाल्यो । आफ्नै अध्यक्ष रविले तामझामका साथ भरतपुरमा सुरु गरेको नीलो बस सेवा सत्ताको रापतापसँगै सेलाएको त्यो पार्टीका धेरैलाई थाहा छ । गृहमन्त्री हुँदाताका रवि भावुक भएर महिला प्रहरीलाई महिनावारीको समयमा बिदा दिने निर्णय भोलिपल्टै नकाम ठहरियो । ठमेल चौबीस घण्टा खुला गर्दा व्यभिचार बढ्यो, व्यापार घट्यो । निर्णय गर्दा कम्तिमा अनुसन्धान चाहिन्छ ।
शिक्षामन्त्रीले ब्रिजकोर्स हटाए भनेर नाङ्लो ठटाए । आधा घण्टामा निर्णय कापी नै गायब भयो । निर्णय गर्नुअघि किमाथाङ्काको विद्यार्थीले काठमाडौँ आफ्नै समवयीसँग प्रतिस्पर्धा गर्नुपर्याे भने उसले त्यो खाल्डो कसरी पुर्छ ? काठमाडौँमा उठेको जनप्रतिनिधिले एक घण्टामा आफ्नो निर्वाचन क्षेत्र घुम्न सक्छ । डोल्पाको जनप्रतिनिधिलाई आफूले भोट पाएका जनतालाई प्रत्यक्ष धन्यवाद दिन घुम्नुपर्याे भने न्यूनतम आधा वर्ष छुट्याउनु पर्छ । शासकीय दृष्टि भूत, वर्तमान र भविष्य समयका तीनवटै आयामबाट पर्गेल्नु पर्छ । एम्बुलेन्सको चालक अधिकांश समय बेरोजगार जस्तै हुन्छ तर चाहिएको बखत ऊ गैरजिम्मेवार भयो भने त्यो चरम अपराध ठहर्छ ।
राज्यको हटसीटमा बसेर प्रतिशोधी र आत्मकेन्द्रित निर्णय गर्दा हुने क्षयिकरणको सन्दर्भमा माओत्सेतुङले गरेको गल्ती उदाहरण लिन सकिन्छ । माओले चार प्रकारका जीव मुसा, लामखुट्टे, झिँगा र भँगेरालाई चिनियाँ कृषिक्रान्तिको बाधकको रुपमा हेर्थे । यी जीवलाई चार प्लेगको संज्ञा दिए । आफू शक्तिमा आउनासाथ उनले यी जीव निर्मूल गर्न देशव्यापी अभियान चलाए । भँगेरा मार्न र तिनीहरूको गुँड भत्काउन सबै संयन्त्र प्रयोग भए । भँगेराले अन्न खाइदिएर जनता भोको रहनुपरेको बुझाई उनको थियो ।
सबै वर्ग, क्षेत्र, लिङ्गका मानिसलाई मन्त्री, सांसद बनाएर देश बन्ने होइन । इमानसहितको सपना देख्ने मानिस राज्यमा पुग्नुपर्छ ।
त्यो समय चीनमा यति धेरै भँगेरा मारिए कि मानिसले तिनलाई मिल्काउन ठूला ठूला कन्टेनरको प्रयोग गर्नुपर्याे । चीनमा सबैभन्दा बढी पाइने यो चरा दुई वर्षभित्रै लोप हुने अवस्थामा पुग्यो । भँगेरा मार्दा प्रयोग गर्ने विधिले अरु प्रजातिका चरा उत्तिकै मारिए ।
यो अभियानका कारण करोडौँ भँगेरा मरेपछि किराको आक्रमण बढ्न थाल्यो । सलह रुचाउने भँगेरा नामेट भएपछि सलहले बालीनाली सत्यानास गरिदियो । यसले चीनमा भोकमरी डरलाग्दोसँग बढ्यो । जनतामा हाहाकार मच्चियो । भँगेरा मास्दा यो परिणाम आएको सुझाव विज्ञहरूले माओलाई दिए । खोजेको एउटा, भयो अर्कै । यति विधि गल्ती गर्दा पनि माओले गल्ती स्वीकारेनन् । बरु गोप्य रुपमा रुससँग लाखौँ भँगेरा आयात गरे ।
सबै वर्ग, क्षेत्र, लिङ्गका मानिसलाई मन्त्री, सांसद बनाएर देश बन्ने होइन । इमानसहितको सपना देख्ने मानिस राज्यमा पुग्नुपर्छ । असमानता हाम्रो शासकीय प्रणालीमा छ । देशको प्रशासनिक मुख्यालयमा एकपछि अर्का शासक आए, समन्वयकारी आएनन् । सुधार थाल्ने हो भने सबैभन्दा पहिला त्यहाँका ठूला मानिसका गोप्य बैठक कक्षमा डोजर लगाउनुपर्छ । जनताको हित पहिलो र अन्तिम एजेण्डा भएपछि गोप्य मन्त्रणाको औचित्य के हुन्छ ? एउटा सामान्य नागरिकले न डढेको सिंहदरबार हेर्न पाउँछ, न बनेको नै । भित्र पस्न त्यहाँको पहुँचवालाको अनुग्रह नपरेसम्म सम्भव हुँदैन । बेलायत, अमेरिका, अष्ट्रेलियाको संसद, राष्ट्रसंघको पोडियममा फोटो खिचेर आएको नेपाली सांसद बनाउँछ, संसद भवन पहुँच राख्न सक्दैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले पाएको दुई तिहाईसँग २०१५ सालमा कांग्रेसले अनपेक्षित प्राप्त गरेको सफलतासँग संयोग मिल्छ । जुन सफलता उनीहरूको आशाभन्दा बाहिरको थियो ।
मन्त्रालयको सचिव ट्रेड युनियनको नेता छ भने कार्यालय सहायकसँग पनि अङ्कमाल गर्छ, नत्र आफूलाई जिन्दगीभर सुरक्षित यात्रा गराउने चालकलाई हात मिलाएर जन्मोत्सवको शुभकामना दिँदैन । कर्मचारीतन्त्रको जिन नै तदर्थवादबाट शुरु भएर त्यहीँ अन्त्य हुन्छ । हाँसेर सेवा दिने–लिने संस्कार त्यहाँ हिमालमा यती खोजेजस्तै हो । सरकारी राज्यकोषलाई कर्मचारी आफ्नो बपौती ठान्छ । राज्यकोषबाट निर्मित नयाँ संरचनामा जस लिन दावी गर्नेको उत्पात खेलकुद चल्छ ।
लोकसेवाले क्षमताको कसी लगाउँछ, आचरण चिन्दैन । कर्मचारीभित्र गणेश र कुमार चरित्रबीच द्वन्द्व छ । एकथरि ‘सीडीओ साप’ नभनिँदा आईसीयू भर्ना गर्नुपर्ने प्रवृत्तिका छन् । अर्काथरि सिंहदरबार बाहिर सरुवा हुनुपर्दा हस्तिनापुर हारेको अनुभव गर्ने छन् । सहसचिवमा घोकन्ते भतिज र सामन्ती काका पुस्ताको जामले एउटै व्यक्ति डेढ दशक रजगज गरिरहेको छ । एउटा सहसचिव डेढ दशक रहनु भनेको मन्त्री पाल्नुभन्दा चर्को हो । बोर्ड अफ डाइरेक्टर, विदेश भ्रमण, ब्राण्डेड गाडी, गाडी मर्मत, तेलको छ्याकनमा हाकिमहरूको चलाखी प्रशासनिक संयन्त्र अल्झेको छ । मन्त्रीको कार्यकक्षमा सचिव, सचिवकोमा सहसचिव र सहसचिवकोमा उपसचिव अनि शाखा अधिकृतको अखडा जम्नुलाई चलायमान प्रशासनको संज्ञा दिइन्छ ।
सिंहदरबारभित्र ठूला मानिसका सचिवालयमा काम गर्ने पिएहरूको स्वभावले पनि निजामती सेवाको बिम्ब देखाउँछ । भेटघाट गराउने ब्रिजको काम गर्नुपर्ने सचिवालयका मानिस सहजकर्ता हुनुपर्नेमा उनीहरू भेटघाट नगराउनेमा बढी सक्रिय हुन्छन् । मान्छेले मान्छेलाई गर्नुपर्ने न्यूनतम सत्कार तिनीहरूको बोलीमा देखिँदैन । सचिवालय चुस्त र दुरुस्त बनाउन करारमा नयाँपुस्ता भर्ती गर्न जरुरी छ । ढोकाबाट पस्दा जोर घडाको लच्छिन कार्यालयमा पनि त चाहिएला नि !
सूर्यसँग जिस्किँदा कुन्तीले कुमारी आमाको हाल भोगेजस्तै अनपेक्षित परिणाम धान्न सकिएन भने त्यसले आत्मघाती अवस्थाको निम्तो दिन्छ ।
हामी प्रधानमन्त्रीय शासन प्रणालीमा छौँ । असल कर्मका लागि कानुनी हिसाबले नेपालको प्रधानमन्त्री संसारका कुनै शक्तिशाली सरकार प्रमुखभन्दा कम छैनन् । त्यसका लागि अहिलेसम्म जोक्कर बनाइएको प्रधानमन्त्री कार्यालयलाई चुस्त बनाउन आवश्यक छ । सबै मन्त्रालयको छायाँकपी प्रधानमन्त्री कार्यालय बन्नुपर्छ । आज देशमा कति नागरिक जन्मिए ? कति दैवका प्यारा भए ? कति देशबाहिर गए ? प्रधानमन्त्रीले आफ्नो टेबलमा बस्दा आईप्याड खोलेर कम्तिमा यी विवरणको हेक्का राखून् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले पाएको दुई तिहाईसँग २०१५ सालमा कांग्रेसले अनपेक्षित प्राप्त गरेको सफलतासँग संयोग मिल्छ । जुन सफलता उनीहरूको आशाभन्दा बाहिरको थियो । सूर्यसँग जिस्किँदा कुन्तीले कुमारी आमाको हाल भोगेजस्तै अनपेक्षित परिणाम धान्न सकिएन भने त्यसले आत्मघाती अवस्थाको निम्तो दिन्छ । ०१५ सालको चुनाव हुनु तीन दिनअघि पत्रकार मदनमणि दीक्षितले बीपीलाई भेटेर सोधेका थिए- ‘चुनावमा तपाईंको पार्टीको अवस्था के हो ?’ जवाफमा उनले भने- ‘तपाईंले पत्रिकाका लागि सोध्नुभएको कि व्यक्तिगत ? पत्रिकाका लागि हो भने बहुमत हाम्रो आउँछ । हैन, व्यक्तिगत हो भने ४८ सिट आयो भने हामी खुसी हुन्छौँ ।’
त्यो चुनावमा संसदको १०९ सिटमध्ये कांग्रेसले ७४ सिट हात पा¥यो । आश्चर्य त के छ भने त्यसबखतका चर्चित नेताहरू टंकप्रसाद आचार्य, पुष्पलाल श्रेष्ठ, केआई सिंंह, डा. केशरजंग रायमाझी, रंगनाथ शर्मा, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजालले शर्मनाक हार व्यहोरे । अरु त अरु राजा महेन्द्रका ससुरा हरिशमशेर र मामा ससुरा योगविक्रम शाहलाई समेत चुनाव फापेन ।
अब फेरि अर्को प्रयोगशाला नबनाऔँ । बनाउन सकिन्न भने बनेको संरचना नभत्काउँ । नबिर्सौँ यो धरा जन्मिएकाको मात्र हैन, नजन्मिएकाहरूको पनि हो ।
अहिलेका हर्क साम्पाङजस्तै केआई सिंह छेडछाडमा उत्रिन्थे । उनी कांग्रेस कम्युनिष्टलाई भक्कु गाली गर्थे । चुनावी प्रचारमा हिँड्दा विपक्षी नेताहरूलाई धारे हात लगाउँदै भन्थे– ‘टंकप्रसाद आचार्य केको नेता त्यो सिमेन्टको बोरा हो । गणेशमान त्यो पिलन्धरे जिउभरि गु लगाएर भाग्ने मान्छे के को वीर ? सिंहदरबार २४ घण्टा कब्जा गर्ने म वीर हो ।’
अबको राजनीति गर्नेले भागवत गीता हैन अष्टावक्र गीता कण्ठस्थ गर्नुपर्छ । जसरी नजन्मिदैको बालकले प्रश्न गरेर आफ्नै बालाई कठघरामा उभ्याए, अब राजनीतिक चेत भएका अल्फा पुस्ताले जेनजी पुस्तालाई त्यसैगरी धक्का हान्नेछ । त्यो यस्तो शक्तिशाली ग्रन्थ हो, जसको प्रेरणाले नरेन्द्र नामको व्यक्ति स्वामी विवेकानन्दमा रूपान्तरण भयो ।
उत्तालक ऋषिले आफ्ना परमप्रिय शिष्य कहोडसँग छोरी सुजाताको विवाह गरिदिए । सुजाता गर्भवती थिइन् । कहोड रातदिन शास्त्र पढ्थे । शास्त्र पढ्ने क्रममा उनले आठपटक शास्त्र उल्टोसुल्टो गरी पढे । पेटभित्रका बच्चालाई बाउको गल्ती सुनेर असह्य भयो । उनले सचेत गराउँदै भने— ‘पिताजी ! तपाईंले आफूलाई उच्च देखाउन एकपटक मात्र होइन, आठपल्ट शास्त्रको सूत्रलाई गलत व्याख्या गर्नुभएको छ । कृपया सच्याउनुस् ।’
पेटभित्रको बालकले सिकाएको पण्डित कहोडलाई चित्त बुझेन । उनले तत्काल श्राप दिँदै भने– ‘तँ मलाई सिकाउने ? जब जब तेरो जन्म हुनेछ, तेरो शरीर आठ ठाउँमा वक्र भएको हुनेछ ।’ नभन्दै उनी त्यस्तै जन्मिए । शरीरको आधारमा उनको नाम अष्टावक्र राखियो । तिनै १२ वर्षीय अष्टावक्र राजा जनकको दरबार गएर शास्त्रार्थमा विद्वानहरूलाई जितेर फर्किए । राजा जनकले उनलाई गुरुको कोटीमा राखेर सम्मान दिए । अष्टावक्र गीता अद्वैत वेदान्त ग्रन्थ हो । यसमा ज्ञान, वैराग्य, मुक्तिको विषय वर्णन आएको छ । ज्ञात रहोस्, अबको राजनीतिज्ञले यस्तै पुस्ताको सामना गर्नुपर्ने छ ।
अझ चाणक्यले जनतालाई राज्यको धरातल भनेर व्याख्या गरेका छन् । उनले उर्वर, प्राकृतिक संसाधनले परिपूर्ण, पशुधन, नदी, ताल तथा वनजंगल भएको भूमिलाई उपयुक्त भनेका छन् । त्यसैले अब फेरि अर्को प्रयोगशाला नबनाऔँ । बनाउन सकिन्न भने बनेको संरचना नभत्काउँ । नबिर्सौँ यो धरा जन्मिएकाको मात्र हैन, नजन्मिएकाहरूको पनि हो ।















प्रतिक्रिया