काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले मंगलबारदेखि सुरु गरेको बैठकमा मुख्य तीन एजेन्डामा केन्द्रित रहेर छलफल थालेको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजेदेखि सुरु भएको बैठकमा निर्वाचनको समीक्षा र आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ ।
बैठकका एजेन्डा
हालै सम्पन्न निर्वाचनको विस्तृत समीक्षा,
मुलुकको बदलिँदो राजनीतिक अवस्था र पार्टीको भूमिका,
पन्ध्रौँ नियमित महाधिवेशनको तयारी र निर्णय ।
बैठकमा विशेष महाधिवेशनमार्फत चयन भएको वर्तमान नेतृत्वको वैधानिकतामाथि समेत प्रश्न उठाइएको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस १८ गतेको बैठकबाट आगामी वैशाख २८–३१ गतेका लागि पन्ध्रौँ महाधिवेशनको मिति तय गरेको दाबी गर्दै इतर पक्षले सोहीअनुसार तयारी थालेको बताएको छ ।
“विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई हामीले स्वीकार गरेका छैनौँ,” नेता गुरु बरालले भने, “अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसला नआउन्जेल हामी पूर्वतयारी स्वरूप आफ्ना गतिविधि अगाडि बढाउँछौँ । अदालतको फैसला भने हामीलाई स्वीकार्य हुनेछ ।”
इतर समूहले केन्द्रीय कार्यसमिति बैठकको समापनपछि आगामी चैत १९ गते जिल्ला सभापतिको भेला समेत आह्वान गरेको छ । पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्ष चर्किएका बेला बोलाइएको यो भेलालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।













प्रतिक्रिया