काठमाडौं – वरिष्ठ निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’को शीर्ष गीत ‘ॐ नम शिवाय’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा रञ्जित सिंह गजमेरको सङ्गीत, भारती घिमिरे र शिव परियारको स्वर र निर्देशक घिमिरेको शब्द रहेको छ ।
उक्त गीतमा फिल्मका सबै मुख्य कलाकारहरू फिचर्ड छन् । यो गीतलाई सेट निर्माण गरेर छायाङ्कन गरिएको निर्देशक तुलसी घिमिरेले बताए ।
उनले भने, ‘यो गीत फिल्मका लागि महत्वपूर्ण छ, यो गीतपछि फिल्मको कथाले नयाँ मोड लिन्छ । हामीले झन्डै १३ दिन लगाएर सेट निर्माण गरेर यो गीतलाई तीन रात खिचेका थियौँ । फिल्मको महत्वपूर्ण समयमा आउने गीत भएकाले यसमा अधिकांश कलाकारलाई फिचर्ड गराएका छौं ।’
यस गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ र सुनिल थापा लगायतलाई देख्न सकिन्छ ।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा बनेकव यस फिल्म आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुँदै छ । निर्देशक घिमिरेका अनुसार युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाडले ल्याउने सामाजिक र आर्थिक समस्यालाई फिल्ममा देखाइएको छ ।
गीतको लिंक : https://www.youtube.com/watch?v=hwmO-OsuIgo&t=142s













प्रतिक्रिया