पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स « Khabarhub

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेकि छन् । 

नेपालस्थित अमेरिकी दूतावासले आइतबार आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । 

उनले अमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस, अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गर्दै हिमाल र विशेषगरी सगरमाथाले विश्वभरका साहसिक पर्यटक तथा पर्वतारोहीलाई प्रेरित गर्दै आएको बताइन् । 

उनले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँगै सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै त्यसले नेपाल–अमेरिका सम्बन्धलाई थप गहिरो बनाएको उल्लेख गरिन् । उनका अनुसार छ दशकभन्दा बढी समयपछि पनि दुवै देशबीचको सम्बन्ध पर्यटन, शिक्षा, व्यवसाय, प्रविधि र जनस्तरको आदानप्रदानमार्फत निरन्तर बलियो बन्दै गएको छ ।

उपविदेशमन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली, सञ्चार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापनसम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको उल्लेख गरिन् । यस्ता प्रविधिले खोज तथा उद्धार, मौसम पूर्वतयारी, लजिस्टिक व्यवस्थापन र पर्वतारोहण सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

उनले सन् २०२५ मा नेपालले ११ लाख ५० हजारभन्दा बढी अन्तरराष्ट्रिय पर्यटक भित्र्याएको र त्यसमध्ये अमेरिकाबाट मात्रै करिब एक लाख १२ हजार पर्यटक नेपाल आएको तथ्य प्रस्तुत गर्दै अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन उद्योग, होटल व्यवसाय, पदप्रदर्शक सेवा तथा स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन् । 

रोजर्सले नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा वर्णन गर्दै नवप्रवर्तन, उद्यमशीलता, शिक्षा तथा सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले हिमालले संसारलाई साहस, धैर्य र सहकार्यको पाठ सिकाउने उल्लेख गर्दै यही मूल्यले नेपाल–अमेरिका सम्बन्धलाई पनि मार्गदर्शन गरिरहेको बताइन् । 

‘हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो कोसँग यात्रा गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ,’ उनले भनिन्, ‘संयुक्त राज्य अमेरिका नेपालसँगको ७९ वर्ष पुरानो मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताको शिखरहरू सँगै चढ्न चाहन्छ ‘

त्यस अवसरमा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सगरमाथा नेपालको अन्तरराष्ट्रिय पहिचान, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको सबैभन्दा महत्त्वपूर्ण आधारमध्ये एक भएको बताइन् ।
 
उनले सगरमाथाले विश्वसामु नेपालको परिचय स्थापित गर्न अतुलनीय भूमिका खेलेको उल्लेख गरिन् । 

सभापति उदासले पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यसले वायुसेवा कम्पनी, होटल, रेष्टुरेन्ट, ट्राभल कम्पनी, गाइड, भरिया, स्थानीय व्यवसाय तथा हिमाली समुदायहरूको जीविकोपार्जनमा ठूलो योगदान पुर्‍याइरहेको बताइन् । 

प्रत्येक वर्ष हजारौं विदेशी पर्यटक, पर्वतारोही, अनुसन्धानकर्ता, चलचित्र निर्माता तथा साहसिक यात्रुहरू हिमालको आकर्षणले नेपाल आउने गरेको उनको भनाइ थियो । 

उनले पश्चिम एसियामा देखिएको सङ्कटका कारण नेपालको समग्र पर्यटन क्षेत्रमा असर परे पनि पर्वतारोहण गतिविधि तुलनात्मक रूपमा स्थिर रहनुले नेपालको हिमाली पर्यटनप्रतिको विश्वव्यापी आकर्षण अझै बलियो रहेको प्रमाणित गरेको धारणा राखिन् । 

सभापति उदासले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भीर असर पुर्‍याइरहेको भन्दै हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको, पुराना आरोहण मार्गहरू परिवर्तन भइरहेको तथा वातावरणीय चुनौतीहरू बढ्दै गएको उल्लेख गरिन्  ।  

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ३ : २९ बजे

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

गलकोट– जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । सभाको

गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई हामीले तोड्न खोजेको हो : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई

सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको