संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ « Khabarhub

संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै राखेको भनाइमा सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ ।

प्रधानमन्त्रीको भनाइलाई लिएर राजनीतिक क्षेत्रका नेतृत्वदेखि विभिन्न क्षेत्रका विज्ञ र आम सर्वसाधारणहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

प्रधानमन्त्री शाहले भनाइ राखेलगत्तै सदनभित्रैबाट सबै प्रतिपक्षी दलका नेताले विरोध जनाएका थिए । अहिले सामाजिक सञ्जालमा ठूलो संख्याका नेपालीहरूले आफ्नो भनाइ राखिरहेका छन् ।

संविधानविद् डा भीमार्जुन आचार्यले प्रधानमन्त्रीको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै आचार्यले सीमाको विषयमा तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक भएको टिप्पणी गरेका छन् ।

‘नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ । दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझै चिन्ताजनक छ । आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद्बाहिर दिएको रेकर्ड छैन’, उनले भने, ‘यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित छैन । यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुनस्तरमा अतिक्रमण भइरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ । सिंगो देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ ।’

नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिँदै त्यसलाई सबै नेपालीले अस्वीकार गर्न आह्वान गरेका छन् ।

एमाले नेता एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीको भनाइ आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य भएको टिप्पणी गरेका छन् ।

‘……नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’, संसद्को‍ रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ । यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस्’, उनले भनेका छन् ।

कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालले कुनै पनि छिमेकीको भूमि नमिचेको भन्दै प्रधानमन्त्रीको भनाइको दाबीको आधार, स्रोत वा प्रमाण के हो ? भन्दै सार्वजनिक गर्न आग्रह गरेका छन् ।

‘नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्दछ, कसैको भूमि मिचेको छैन। बरू, नेपालले आफ्नो भूमि र राष्ट्रिय सीमाको पर्याप्त संरक्षण तथा व्यवस्थापन आवश्यक छ’, उनी भन्छन्, ‘त्यसैले सीमासम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल गर्नुपर्दछ। यसमा नेपालीको धारणा एउटै हुनु पर्दछ ।’

उनले बालेनलाई नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार, स्रोत वा प्रमाण के हो ? सार्वजनिक गर्न माग गरेका छन्। उनले यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्तावेज छ भने सार्वजनिक गर्न पनि भनेका छन् ।

आइतबार संसद्मा उपस्थित नभएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पनि सामाजिक सञ्जालबाट प्रधानमन्त्री शाहलाई हुतिहारा टिप्पणी गरेका छन् ।

कलाकार दीपकराज गिरीले प्रधानमन्त्रीको भनाइलाई कटाक्ष गर्दै ‘बोल्नलाई बोल्न त पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ’ भन्दै स्वप्न सुमनको गीतको भ्यूजको कुरा फेसबुकमा लेखेर कटाक्ष गरेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पनि फेसबुकमा लेख्दै प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।
 
त्यस्तै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्रीको भनाइले सिंगो नेपाल राष्ट्र र नेपाली जनतालाई गम्भीर आघात पुर्‍याएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा क्षमा याचनाका लागि ध्यानाकर्षण गराएका छन् ।

‘प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहद्वारा व्यक्त ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्तिले सिगो नेपाल राष्ट्र र नेपाली जनतालाई गम्भीर आघात पुर्‍याएको छ’, उनी भन्छन्, ‘ यो भनाइ तथ्यहीन र आपत्तिजनक छ । म प्रधानमन्त्री वालेन्द्र शाहलाई यो अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा क्षमा याचनाका लागि ध्यानाकर्षण गर्दछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि प्रधानमन्त्रीले सार्वभौम संसदको रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयमा गरेको प्रस्तुति आपत्तिजनक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै लिङदेनले उक्त विषयमा यथार्थ प्रष्ट पार्न सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ७ : ०५ बजे

आईपीएल फाइनल : पहिले ब्याटिङ गरेकाे गुजरातको कमजोर सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा डिफेन्डिङ च्याम्पियन रोयल

प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

सभामुख अघि बढ्न खोज्दा संसद्‍मा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिसभाको आइतबार दिनभर चलेको बैठकमा साँझ तनाव भएको छ।

लागू औषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं- प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ गरेको