गौरीशंकरको टासिनाममा फल्यो स्याउ, पहिलो उत्पादनमै रोग-कीराको जोखिम ! « Khabarhub

गौरीशंकरको टासिनाममा फल्यो स्याउ, पहिलो उत्पादनमै रोग-कीराको जोखिम !


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ टासिनाममा पहिलोपटक स्याउ फल्न थालेको छ । 

तीन वर्षअघि परीक्षणका रूपमा रोपिएका बिरुवामा यस वर्ष फल लागेपछि स्थानीय किसान उत्साहित भएका छन् । तर पहिलो उत्पादनमै रोग–कीराको संक्रमण देखिएपछि अधिकांश दाना झरेका छन्, जसले किसानलाई चिन्तित बनाएको छ ।

स्थानीय किसानका अनुसार वैशाख महिनामा स्याउका बोटमा फूल प्रशस्त फुलेका थिए। त्यसपछि चिचिलाले बोट नै ढाक्ने गरी फल लागे पनि असार लागेसँगै रोग–कीराको संक्रमण बढ्दा अधिकांश दाना झरेका हुन् । अहिले केही बोटमा बाँकी रहेका फल भने राम्रोसँग बढिरहेका छन् ।

स्थानीय किसान छङबुटी शेर्पाले तीन वर्षअघि परीक्षणका रूपमा १२ वटा स्याउका बिरुवा रोपेकी थिइन् । हाल आठ वटा बिरुवा मात्र बाँकी रहेको र गत वर्षदेखि केही बोटमा फल लाग्न थालेको उनले बताइन् ।

‘यस वर्ष सुरुमा बोटभरि दाना लागेको थियो। पछि रोग–कीराका कारण धेरै झरे। अहिले बाँकी रहेका स्याउ राम्ररी बढिरहेका छन्,’उनले भनिन् । फल लाग्ने क्रममा धेरै चिचिलामै झर्ने समस्या देखिएको भन्दै उनले यसको समाधानका लागि प्राविधिक सहयोग आवश्यक रहेको बताइन् ।

रोग नियन्त्रण गर्न सके राम्रो उत्पादन सम्भव

स्थानीय कृषक कल्याण विकले टासिनामको हावापानी स्याउ खेतीका लागि उपयुक्त देखिएको बताए। रोग–कीराको प्रभाव समयमै नियन्त्रण गर्न सकिए यहाँ व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न सकिने उनको विश्वास छ ।

‘पहिलो प्रयासमै फल लाग्नु आफैँमा सकारात्मक संकेत हो । अहिले देखिएको समस्या रोग–कीराको व्यवस्थापनसँग सम्बन्धित हो । त्यसलाई नियन्त्रण गर्न सके आगामी वर्षदेखि उत्पादन अझ राम्रो हुन्छ,’उनले भने ।

उनका अनुसार सम्बन्धित निकायबाट प्राविधिक परामर्श, रोग–कीरा व्यवस्थापन, गुणस्तरीय बिरुवा र आवश्यक सहयोग उपलब्ध गराइए टासिनाममा स्याउ खेती विस्तार गर्न सकिने अवस्था छ।

स्याउ खेतीमा किसानको आकर्षण बढ्दै

हाल टासिनामका सात घरधुरी किसानले स्याउ खेती सुरु गरेका छन्। मानेडाँडाका तीन घरधुरी तथा चौरटोल, बगङ, यार्सा र ज्याङमाका एक–एक घरधुरीले परीक्षणका रूपमा बिरुवा रोपेका थिए। प्रारम्भिक रूपमा फल लाग्न थालेपछि अन्य किसानको पनि यस खेतीप्रति आकर्षण बढेको छ।

टासिनामकै किसान नाम्गेल शेर्पाले १५० वटा स्याउका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरेका छन्। अन्य किसानले पनि १० भन्दा बढी बिरुवा रोपेका छन्। उनीहरू स्याउ खेतीलाई भविष्यमा गाउँको मुख्य नगदे बाली बनाउने योजनामा छन्।

स्थानीयका अनुसार अन्य बालीको तुलनामा स्याउ खेतीमा श्रम कम लाग्ने, बजारको माग राम्रो रहने र केही वर्षपछि नियमित आम्दानी लिन सकिने सम्भावना भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन्।

हिमाली भेगको चिसो हावापानी र अनुकूल वातावरणका कारण टासिनाममा स्याउ खेतीको भविष्य आशाजनक देखिएको छ। 

पहिलो उत्पादनमै रोग–कीराको चुनौती देखिए पनि आवश्यक प्राविधिक सहयोग र प्रभावकारी व्यवस्थापन गर्न सके टासिनाम आगामी दिनमा दोलखाको नयाँ स्याउ उत्पादन केन्द्रका रूपमा परिचित हुने स्थानीयको विश्वास छ। सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ६ : ४४ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो