काठमाडौँ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोलाका किनारमा बिहीबार बिहान पाँच जनाको बेवारिसे शव फेला परेको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७:३० बजे माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र वतन नखुलेका शवहरू फेला परेका हुन्। स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको छेउमा करिब १२-१३ वर्षीय बालकको शव फेला परेको छ भने वडा नं. ३ किमिचौरस्थित माडी खोलाकै किनारमा कम्मरभन्दा माथिको भाग मात्र भएको पुरुषको शव भेटिएको छ।
यसैगरी, वडा नं. ४ गोठीबाङस्थित माडी खोला किनारमा एक महिलाको शव फेला परेको छ। स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा दुई जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। त्यसमध्ये एक महिलाको बायाँ खुट्टाको घुँडाभन्दा तलको भाग छैन।
फेला परेका सबै शवहरूको पहिचान खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको र शवहरूको पहिचानका लागि प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। प्रहरीले परिवारका कुनै सदस्य हराएको भए पहिचानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न अनुरोध गरेको छ।












प्रतिक्रिया