दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले नेपाली कांग्रेसका पूर्व पार्टी सभापति शेरबहादुर देउवा सल्लाहकारको सल्लाह र गलत निर्णयको प्रभावमा परेर आफ्नो सम्मान, मान–प्रतिष्ठा र राजनीतिक इतिहास बिर्सिँदै गएको आरोप लगाएका छन् ।
बिहीबार राजधानी काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायक’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लामाले दुईपटक पार्टी सभापति र पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने समयमा सल्लाहकार र आफू वरिपरिका व्यक्तिहरूको प्रभावमा पर्दा कांग्रेसभित्र विभाजनको अवस्था सिर्जना भएको बताए ।
उनले पद र शक्तिका लागि देउवाको वरिपरि घुम्ने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाउँदै गएको दाबी गरे ।
लामाले भने, ‘देउवाले आफ्नो लामो राजनीतिक इतिहास र योगदानलाई सम्झेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने हो । तर अहिले अघिपछि हिँडेर पदका लागि मरिमेट्नेहरूले कांग्रेसलाई टुक्र्याउन खोजिरहेका छन् ।’
लामाले देउवाको पछिल्लो राजनीतिक व्यवहारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसलाई राणा शासन र राजाको शासनकालजस्तै सञ्चालन गर्न खोजिएको आरोपसमेत लगाए ।
पार्टीभित्र लोकतान्त्रिक अभ्यास र कार्यकर्ताको भावनालाई सम्मान गर्नुपर्नेमा नेतृत्वले आफू वरिपरिका सीमित व्यक्तिको सल्लाहमा निर्णय गर्न थालेको उनको भनाइ थियो ।

‘हिजो लोकतन्त्रका लागि लडेका देउवाले आज आफ्नै पार्टीका तल्लो तहका कार्यकर्ताको भावना र सुझावसमेत बुझ्न छाड्नुभएको छ, ‘लामाले भने, ‘सल्लाहकारको गलत सल्लाहको पछि लाग्दा उहाँले आफ्नो मान–सम्मान र इतिहाससमेत गुमाउँदै जानुभएको छ।’
लामाले कांग्रेस अब नयाँ पुस्ताको भावना सम्बोधन गर्दै १५औँ महाधिवेशनमा जानुपर्ने बताए ।
उनका अनुसार पार्टीको नेतृत्वमा गगन थापाको नेतृत्वलाई स्वीकार गर्दै युवा पुस्ता र ‘जेन्जी’ पुस्ताले उठाएका माग तथा मुद्दालाई सम्बोधन गरेर कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता छ ।
‘अब पुरानै शैली र सोचबाट कांग्रेस चल्दैन,’ लामाले भने, ‘युवा पुस्ता र जेन्जीले उठाएका आवाजलाई सम्बोधन गर्दै नयाँ पुस्ताको नेतृत्व स्वीकार गरेर १५औँ महाधिवेशनमा जानुपर्छ।’
उनले व्यक्तिगत स्वार्थ र पदको मोहभन्दा माथि उठेर पार्टीको भविष्यबारे सोच्न नेतृत्वलाई आग्रह गरे ।
कांग्रेसलाई बलियो, लोकतान्त्रिक र जनमुखी बनाउन पुस्तान्तरणसँगै विचार, संगठन र कार्यशैलीमा समेत परिवर्तन आवश्यक रहेको लामाको भनाइ थियो । सुवाश बस्नेत/दोलखा












प्रतिक्रिया