प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ? « Khabarhub

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?



काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन पूरा भएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले वालेन्द्रको पछिल्लो राजनीतिक यात्रा र उनको घट्दो लोकप्रियताबारे विस्तृत विश्लेषण प्रकाशित गरेको छ। 

इन्डिया टुडेले सोमबार प्रकाशन गरेको एक विश्लेषणात्मक रिपोर्टमा वालेन्द्र प्रधानमन्त्री बनेको १५० दिनमै उनको राजनीतिक कमजोर हुँदै गएको उल्लेख गरेको छ। केही महिनाअघि मात्रै पुरानो राजनीतिक शक्तिविरुद्धको नयाँ पुस्ताको प्रतीकका रूपमा हेरिएका वालेन्द्र अहिले शासन सञ्चालन, कूटनीतिक विवाद, संसद्सँगको दूरी, आफ्नै पार्टीभित्रको असन्तुष्टि र सडकमा बढ्दो विरोधका कारण दबाबमा परेको रिपोर्टमा उल्लेख छ।

र्‍यापर, स्ट्रक्चरल इन्जिनियर तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर वालेन्द्रको युवापुस्ताको बलियो समर्थनमा प्रधानमन्त्री बनेका थिए। पुराना राजनीतिक दल र लामो समयदेखि सत्तामा रहेका नेताहरूबाट दिक्क भएका युवा मतदाताले उनलाई नयाँ विकल्पका रूपमा हेरेका थिए। 

फागुन २०८२ को निर्वाचनमा वालेन्द्रले चारपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीलाई उनकै राजनीतिक आधार क्षेत्रमा पराजित गरेको र उनको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो बहुमत हासिल गरेको इन्डिया टुडेले उल्लेख गरेको छ। तर, प्रधानमन्त्री बनेको पाँच महिना नपुग्दै वालेन्द्रको लोकप्रियतामा प्रश्न उठ्न थालेको रिपोर्टको निष्कर्ष छ।

सडकमा वालेन्द्रको विरुद्ध त्यही युवा पुस्ता

वालेन्द्रको राजनीतिक उदयमा निर्णायक भूमिका खेलेको युवा पुस्ता नै अहिले उनीविरुद्ध असन्तुष्ट देखिन थालेको छ। सरकारका निर्णय, महानगरको कारबाही शैली, भूमिहीन तथा अनौपचारिक बस्ती हटाउने विषय र विभिन्न प्रशासनिक विवादले जनस्तरमा असन्तुष्टि बढाएको रिपोर्टमा उल्लेख छ। 

विशेषगरी राइड सेयरिङ चालक गणेश नेपालीको आत्मदाह प्रकरणले सरकारमाथि ठूलो नैतिक र राजनीतिक दबाब सिर्जना गरेको थियो। काठमाडौं महानगरपालिकाको नगर प्रहरीसँग पार्किङ जरिवाना र ह्वील लकको विषयमा विवाद भएपछि उनले आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन भएको थियो।

रिपोर्टले भारतबाट ल्याइने सामानमा भन्सार कडाइ, नेपाल–भारत सीमा विवादमा वालेन्द्रको अभिव्यक्ति, कूटनीतिक उतारचढाव तथा धार्मिक तनावलाई वालेन्द्र सरकारका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको छ। 

कुनै समय वालेन्द्रको समर्थनमा सडकमा उत्रिएका युवा नै पछि उनको सरकारविरुद्ध नाराबाजी गर्न थाले। यही परिवर्तनलाई इन्डिया टुडेले प्रधानमन्त्री वालेन्द्रको राजनीतिक चमक घट्दै गएको महत्वपूर्ण संकेतका रूपमा प्रस्तुत गरेको छ।

संसद्सँग प्रधानमन्त्रीको दूरी

प्रधानमन्त्री वालेन्द्रको शासनशैलीमाथि उठेको अर्को ठूलो प्रश्न उनको संसद्मा उपस्थितिसँग जोडिएको छ। प्रधानमन्त्री बनेपछि प्रतिनिधिसभाका धेरै बैठकमा अनुपस्थित रहेको भन्दै विपक्षी सांसदहरूले पटक–पटक प्रश्न उठाएका छन्। 

इन्डिया टुडे को अर्को रिपोर्टअनुसार सभामुख डोलप्रसाद अर्यालले बालेनलाई बुधबार प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन्। 

प्रधानमन्त्री बनेपछि पहिलो ३९ बैठकमध्ये वालेन्द्र केवल पाँचवटा बैठकमा उपस्थित भएको उल्लेख गरिएको छ। विशेषगरी नेपाल–भारत सीमा सम्बन्धी उनको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग उठ्दै आएको छ।

प्रधानमन्त्री वालेन्द्रले संसदमा बोल्दै नेपालले पनि भारतीय भूभागमा अतिक्रमण गरेको हुन सक्ने आशयको टिप्पणी गरेका थिए। त्यसपछि विपक्षी दलहरूले उनले आफ्नो भनाइको प्रमाण दिनुपर्ने वा अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेका थिए।  परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइ  ‘दसगजा क्षेत्रमा हुने अतिक्रमण तथा सीमा क्षेत्रमा हुने स्थानीय कब्जा’सँग सम्बन्धित भएको स्पष्टीकरण दिएको थियो।

भारतसँगको सम्बन्धमा पनि बदलिँदै वालेन्द्र

प्रधानमन्त्री बनेपछि वालेनले विदेशी राजदूत र उच्च अधिकारीसँगको व्यक्तिगत भेटघाटमा केही दूरी कायम गरेका थिए। उनले भारत र चीनलगायत मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेट गर्नुको सट्टा काठमाडौंस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग सामूहिक भेट गर्ने शैली अपनाएका थिए। तर, समयसँगै उनको यो नीति परिवर्तन भयो। 

अगस्ट १० मा वालेन्द्रले भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा पहिलोपटक एक्लाएक्लै भेट गरे। भेटमा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी र दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो। 

इन्डिया टुडेले यो भेटलाई प्रधानमन्त्रीको अघिल्लो कूटनीतिक शैलीमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा प्रस्तुत गरेको छ। भारतीय राजदूतसँगको भेटपछि प्रधानमन्त्रीले चीनका राजदूतसँग पनि छुट्टै भेट गर्ने कार्यक्रम बनाएका थिए। त्यसपछि अमेरिकी कूटनीतिक प्रतिनिधिसँग समेत भेटवार्ता गर्ने तयारी गरिएको थियो। 

यसअघि बालेनले केही उच्चस्तरीय विदेशी अधिकारीसँग व्यक्तिगत भेट गर्न अस्वीकार गरेका थिए। त्यसैले पछिल्लो भेटघाटलाई उनको अघिल्लो नीतिबाट पछि हटेको संकेतका रूपमा हेरिएको छ।

रवि लामिछानेसँग पनि दूरी बढेको हो ?

प्रधानमन्त्री वालेन्द्रले आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सम्बन्धलाई लिएर पनि प्रश्न उठ्न थालेको इन्डिया टुडे को रिपोर्टमा उल्लेख छ। वालेन्द्र्र र रास्वपा अध्यक्ष रवि लामिछानेबीच सम्बन्धमा तनाव बढिरहेको हो कि भन्ने चर्चा पार्टीभित्र चलिरहेको बताइएको छ। 

गत शुक्रबार  रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो। आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल भइरहेको उक्त बैठकमा वालेन्द्र सहभागी भएनन्। उनी त्यतिबेला काठमाडौं बाहिर पोखरा हुँदै मुस्ताङ पुगेका थिए।

रिपोर्टअनुसार प्रधानमन्त्री बनेपछि वालेन्द्र रास्वपाका बैठक तथा पार्टी कार्यालयमा नियमित रूपमा उपस्थित हुने गरेका छैनन्। पार्टीभित्रै केही नेताले वालेनको पार्टी प्रणालीप्रतिको विश्वासबारे प्रश्न उठाएको र निर्वाचनमा प्राप्त ठूलो जनमतको श्रेय कसलाई दिने भन्ने विषयमा समेत मतभेद देखिएको बताइएको छ। 

यसले बालेन र उनलाई प्रधानमन्त्री बनाएको राजनीतिक शक्तिबीचको सम्बन्ध भविष्यमा कस्तो हुन्छ भन्ने प्रश्न जन्माएको छ।

भारतसँग जोडिएको गोर्खा भर्तीको मुद्दा

नेपाल–भारत सम्बन्धमा अर्को संवेदनशील विषय भारतीय सेनामा नेपाली गोर्खाको भर्ती पनि हो। भारतीय सेनाका प्रमुख जनरल धीरज सेठको नेपाल भ्रमणअघि पोखरामा पूर्वगोर्खा सैनिक र उनीहरूका समर्थकले प्रदर्शन गर्दै नेपाली युवालाई भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत भर्ती खोल्न माग गरेका थिए। 

सन् २०२० देखि नेपाली गोर्खाको भारतीय सेनामा भर्ती रोकिएको छ। पूर्वसैनिकहरूले नेपाली युवाका लागि भारतीय सेनाको रोजगारी महत्वपूर्ण रहेको भन्दै सरकारलाई समस्या समाधान गर्न दबाब दिएका छन्। जनरल सेठले अगस्टमा नेपाल भ्रमणका क्रममा बालेनसँग भेटवार्ता गरेका थिए। 

भेटमा दुई देशबीचको रक्षा सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो। उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जासमेत प्रदान गरिएको थियो।

धार्मिक तनावले थपियो चुनौती

गत महिना साउनमा  तराई–मधेस क्षेत्रमा भएको धार्मिक तनावले पनि सरकारलाई ठूलो चुनौती दियो। सुनसरी र सिरहालगायत क्षेत्रमा भएको साम्प्रदायिक झडपमा तीन जनाको मृत्यु भएपछि विभिन्न स्थानमा कर्फ्यु लगाइएको थियो। 

प्रधानमन्त्री बनेपछि सार्वजनिक रूपमा कम देखिएका बालेन्द्रले त्यसपछि राष्ट्रका नाममा सम्बोधन गर्दै शान्ति, धैर्य र राष्ट्रिय एकताका लागि अपिल गरेका थिए। उनले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए। 

यो घटना त्यतिबेला भयो, जतिबेला काठमाडौंमा सरकारविरुद्ध युवा असन्तुष्टि बढिरहेको थियो र पार्टीभित्र पनि असहजता देखिन थालेको थियो।

अब बालेनसामु ठूलो परीक्षा

इन्डिया टुडे को विश्लेषणले बालेन्द्रको १५० दिनलाई एउटा महत्वपूर्ण राजनीतिक मोडका रूपमा चित्रित गरेको छ। प्रधानमन्त्री बन्नुअघि वालेन्द्र  ‘पुरानो राजनीतिक प्रणालीको विकल्प’ थिए। उनीसँग ठूलो जनसमर्थन थियो र युवापुस्ताले उनलाई परिवर्तनको प्रतीकका रूपमा हेरेको थियो।
तर प्रधानमन्त्री बनेपछि उनले सामना गर्नुपरेका चुनौतीले उनको लोकप्रियता र शासन क्षमतामाथि प्रश्न उठाएको छ। 

सडकको असन्तुष्टि, संसद्मा सीमित उपस्थिति, आफ्नै पार्टीसँगको दूरी, भारतसँगको कूटनीतिक विवाद, सीमा सम्बन्धी अभिव्यक्ति र साम्प्रदायिक तनावजस्ता घटनाले उनको सरकारमाथि दबाब बढाएका छन्। त्यसैले वालेन्द्रका लागि अब सबैभन्दा ठूलो चुनौती लोकप्रियता जोगाउनु मात्र होइन, आफूलाई प्रभावकारी शासकका रूपमा प्रमाणित गर्नु हो। 

विपक्षमा हुँदा टकराव र आक्रामक शैलीले उनलाई लोकप्रिय बनाएको थियो। तर सरकार चलाउँदा संवाद, समन्वय, कूटनीति र आवश्यक ठाउँमा सम्झौता गर्न सक्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

१५० दिनअघि परिवर्तनको आशाका रूपमा उदाएका वालेन्द्र अहिले आफैं शासनको कठोर परीक्षामा छन्।  युवापुस्ताको ‘हिरो’का रूपमा उदाएका वालेन्द्रको राजनीतिक चमक पाँच महिनामै फिक्का हुँदै गएको इन्डिया टुडे को निष्कर्ष छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  २ : ४८ बजे

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख