रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता « Khabarhub

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेको जनाउँदै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रशासनका अनुसार बाढीका कारण नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत त्रिशूली बजार क्षेत्रका केही पुल तथा त्रिशूली र ढुंगे बजारका घर तथा बस्तीसमेत बगाएको सूचना प्राप्त भएको छ।

नेपाल प्रहरीले पनि भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै त्रिशूली नदी आसपासका जिल्लामा अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गृह मन्त्रालयको आपत्कालीन सूचनामा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेको उल्लेख गरिएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन भनिएको छ।

खोज तथा उद्धार आवश्यक परे वा कुनै किसिमको सहायता आवश्यक भए तत्काल टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र ती क्षेत्रमा आवतजावत रोक्नसमेत अनुरोध गरिएको छ।

यसैबीच रसुवाबाट आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै धादिङ प्रशासनले नदी किनारमा बसोबास गर्ने तथा नदीमा काम गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा त्रिशूली नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएकाले नदीको बहाव बढ्न सक्ने र विपद्को जोखिम निम्तिन सक्ने उल्लेख छ।

प्रशासनले नदीमा माछा मार्ने तथा अन्य काम गर्ने व्यक्ति र मजदुरलाई नदीमा नजान तथा नदीमा गइसकेको भए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। नदी आसपास बसोबास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन भनिएको छ।

कुनै विपद्जन्य घटना भए तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।

आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ।

भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। बाढीसँगै आएको लेदो र पहिरोले प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सवारीसाधन बगाएको र बजार रहेको क्षेत्रमा अहिले खोला बगिरहेको उनीहरूको भनाइ छ।

बाढीको पानी केही घटेको भए पनि नदीको बहाव र तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले प्रशासन र सुरक्षा निकायले नागरिकलाई नदी किनारबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १० : ३० बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।