छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान « Khabarhub

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले शान्ति र स्थिरताप्रतिको इरानको प्रतिबद्धता पुष्टि गर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर र ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद अल बुसाइदीसँग क्रमशः सोमबार र मङ्गलबार भएका वार्तामा क्षेत्रीय समाधानमा जोड दिइएको बताए ।

‘नयाँ करिडोरका लागि प्रस्तावित रूपरेखा, संयुक्त रूपमा बारुदी सुरुङ हटाउनेकार्य र होर्मुजको भविष्यको व्यवस्थापन यसका उदाहरण हुन्,’ अराघचीले लेखेका छन् ।

इरान र ओमानले होर्मुज जलसन्धिमा अस्थायी संयुक्त जलमार्ग (सिपिङ करिडोर) स्थापना गर्ने तथा उक्त जलमार्गबाट बारुदी सुरुङ हटाउने संयुक्त परियोजना सञ्चालन गर्ने प्रस्ताव सार्वजनिक गरेपछि उनको यस्तो भनाइ आएको हो ।

यसैबीच, अराघचीले मङ्गलबार कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग टेलिफोन वार्ता गरेका थिए । इरानी विदेश मन्त्रालयका अनुसार वार्तामा क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न कूटनीति र समन्वयमा जोड दिइएको थियो ।

इरानी भू–भागमा इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त आक्रमणपछि इरानले फेब्रुअरी २८ देखि होर्मुज जलसन्धिमा आफ्नो नियन्त्रण कडा बनाउँदै इजरायल र अमेरिकासँग सम्बन्धित वा उनीहरूको स्वामित्वमा रहेका जहाजको आवतजावतमा रोक लगाएको थियो ।

गत महिना दुई देशबीच तनाव बढेसँगै, जुन १८ मा भएको अमेरिका–इरान समझदारीपत्र (एमओयू) अन्तर्गतको ६० दिने वार्ताको समयसीमा अगस्ट १७ मा समाप्त भएको थियो । यससँगै अन्तिम शान्ति सम्झौताको सम्भावना अनिश्चित बनेको छ । रासस
 

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ७ : ४५ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा