काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। चाप नियन्त्रण र आवगमन सहज बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणाली लागू गर्दै मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गको क्षमतालाई ध्यानमा राख्दै मालवाहक सवारीको तौल सीमा अधिकतम १० टन तोकेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडक जाम हुन नदिन ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी धुलिखेल-खुर्कोट खण्डमा मालवाहक गाडीको समय व्यवस्थापन गरिएको छ।
यस्तै ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीलाई धुलिखेल-भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको रोहवरमा मात्रै सञ्चालन गराइनेछ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जोखिमयुक्त र साँघुरा घुम्तीहरूमा तत्काल सुधारका काम अघि बढाइएको जानकारी दिए। सडक अवरुद्ध हुन नदिन संवेदनशील स्थानहरूमा डोजर तथा अन्य उपकरण तम्तयारी अवस्थामा राखिएको छ।












प्रतिक्रिया