काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको तथ्यांकले देखाएको छ ।
बाढीपहिरो, वन फँडानी, जथाभावी पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण जिल्लाको १३ स्थानीय तहमध्ये सात तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको सरोकारवाला निकायले जनाएका छन् ।
पानीको मूल र मुहान सुक्दै जाँदा स्थानीयले पानी खोज्दै टाढा–टाढा धाउनुपर्ने, वर्षाको पानी संकलन गर्नुपर्ने र बसाइँसराइसमेतका समस्या झेल्नुपर्ने देखिएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहहरू पानी–पुनर्भरणतर्फ उन्मुख भएका हुन् ।
यसका लागि रोशी गाउँपालिकाले योजनाबद्ध रुपमा कार्य अघि बढाइसकेको छ भने बेथानचोक गाउँपालिकाले आफ्ना पानीको स्रोत पहिचान गरी योजना बनाउने तरखरमा छ ।
रोशीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘एकीकृत अनुकूलन समाधान प्याकेज’को क्षेत्रगत परीक्षण तथा परामर्श थालनी गरेको छ ।
हिन्दूकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान परियोजनाअन्तर्गत अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र ९सिप्रेड०को संयुक्त आयोजनामा प्याकेजको थालनी गरिएको हो ।
जलवायु परिवर्तनका जोखिमलाई सम्बोधन गर्न खानेपानी तथा मुहान व्यवस्थापन, जल पुनर्भरण प्रणाली, नवीकरणीय ऊर्जाको पहुँच र कृषि–जैवविविधतालाई एउटै एकीकृत प्रणालीका रुपमा अगाडि बढाउने अवधारणाअनुसार यस्तो प्याकेज तयार पारिएको इसिमोडका कार्यक्रम अधिकृत सदीक्षा गुरागाईं बताउँछिन् ।
उनका अनुसार प्याकेजको पहिलो चरणमा गाउँपालिका–१ स्याउरेटार र २ नं वडा चण्डीबेसीमा कार्यक्रममा स्थानीय महिला, कृषक तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागी गराई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोण आत्मसात् गर्दै सीमान्तकृत समुदायका आवश्यकता र अनुभवलाई ‘अनुकूलन औजार’मा समेट्ने प्रयास गरिएको छ ।
प्याकेजअन्तर्गत खानेपानीको पहुँच कम हुँदै जानु, मुहान संरक्षण गर्दै पुनर्भरणका विधिलाई प्राथमिकता दिइएको गुरागाईंले बताइन् । जोखिम नक्सांकन, जल बाँडफाँड र प्रणालीको आकार निर्धारणजस्ता व्यावहारिक औजारको परीक्षण गरिरहेका छन् भने हाल गाउँपालिकाको दुई वटा वडामा करिब १५ सय बहुउपयोगी बिरुवासमेत रोपिएका छन् ।
यसै क्रममा रोशीमा मुहान-जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापनसमेत गरिने भएको हो ।
यसका लागि हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिको उद्देश्यले एकीकृत जलवायु अङ्गिकरण समाधान कार्यक्रम ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेसन सोलुसन्स फर द हिन्दू कुश हिमालय’ (हाई–क्यास) परियोजना सञ्चालन गर्न लागिएको हो ।
आशयपत्रमा मुहान-जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापनसँगै परियोजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवद्र्धन गर्न लैङ्गिक उत्तरदायी, समावेशी र प्रकृतिमैत्री अनुकूलनका उपायमार्फत जोखिममा रहेका समुदाय र महिलाहरूको उत्थानको लागि पनि काम गर्ने उल्लेख गरिएको छ ।
यस्तै, स्वच्छ र नवीकरणीय ऊर्जाका प्रविधि प्रयोगलाई प्रवद्र्धन गर्दै रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनका काम हुनेछन् । आदिवासी तथा स्थानीय समुदायको सहभागिता, स्थानीय क्षमता अभिवृद्धि र दिगो जीविकोपार्जनमा परियोजनाको योजना छ । रोशीमा २२ प्रतिशत पानीको मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको पाइएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बेथानचोकमा हालै मात्र ३६९ पानीका मुहान पहिचान भएका छन् । इसिमोडले गरेको सर्वेक्षणबाट स्थानीयस्तरमा रहेका पानीका स्रोतको अवस्थाबारे महत्वपूर्ण तथ्याङ्क प्राप्त भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार पहिचान भएका मुहानको संरक्षण, उचित व्यवस्थापन तथा दिगो उपयोगका लागि अब थप योजनाबद्ध रुपमा प्रक्रिया अघि बढाइनेछ ।
‘जलवायु परिवर्तनका कारण भविष्यमा बढ्दो पानीको संकट न्यूनीकरण गर्न थप संवेदनशील हुनुपर्ने भएकाले अहिले नै मुहान संरक्षण तथा पानी–पुनर्भरण सबैको साझा प्रयास आवश्यक छ’, अधिकारीले भने ।
जिल्लाका सात स्थानीय तहले यी समस्यालाई मध्यनजर गर्दै पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रको संरक्षण गर्न गत सालदेखिनै नीतिगत रुपमा छलफल सुरु गरेका हुन् । धुलिखेल नगरपालिका, पनौती नगर, पाँचखाल, नमोबुद्ध, बेथानचोक गाउँपालिका, रोशी र तेमाल गाउँपालिकाका जनप्रतिनिधिले मूलाधार तथा जलाधार संरक्षण गर्ने विषयमा चासो दिँदै नीतिगत रुपमा छलफलमा जुट्दै आएका छन् ।
२०८१ सालको असोजको बाढी पहिरोजस्ता विपद्ले जिल्लाका अधिकांश क्षेत्रका खानेपानीको मुहानमा धेरै क्षति पु¥याएकाले खानेपानीको अभावले विभिन्न समस्या देखिएको छ । यसअघि जिल्लाको सात स्थानीय तहको सहकार्य र समन्वयमा इसिमोडले पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा पाँच हजार १६८ मूल तथा मुहान र ५२१ वटा पोखरी पहिचान हुँदा २७ प्रतिशत स्रोतहरु सुक्खा भएको देखिएको जनाइएको छ ।
यसैबीच २०८१ को बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनर्जीवित कार्यक्रम प्रभावित बनेको थियो ।
कार्यक्रम सञ्चालनका लागि जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा ब्याप्त पानीको समस्यालाई सम्बोधन गर्न तथा समुदायको नेतृत्वमा सोही क्षेत्रका पानीका मुहान संरक्षण गर्ने अभियानमा सम्झौता गरेका थिए ।
प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलधार संरक्षण कार्यक्रमका लागि सन् २०२४ जनवरी पहिलो साता इसिमोडसँग जिल्लाका सात स्थानीय तहका जनप्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर पनि गरेका थिए ।
कार्यक्रम सञ्चालनको तयारीस्वरुप स्थानीय तहमा विभिन्न समुदायमा छलफल चलाउने क्रममा रहँदा गत असोजमा आएको बाढीपहिरोका कारण उक्त अभियान रोकिएको जनाइएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा भन्छन्, ‘केही स्थानमा सुकेको मुहान पहिचानसँगै छलफल चलाउँदै थियौँ, बाढीपहिरोले उक्त अभियान रोकिएको थियो, यस वर्षदेखि पुनः सुरु गरेका छौँ ।’
उनका अनुसार क्षतिग्रस्त आयोजना पुनर्निर्माणसँगै पानीका मुहान पुनर्जीवित कार्यक्रमलाई समेटिनुपर्ने देखिएको छ ।
पानीका मुहान पुनर्जीवित कार्यक्रमका लागि इसिमोडले प्राविधि सहयोग गर्ने गर्दछ भने स्थानीय तहका प्रमुखले उक्त कार्यमा आ–आफ्ना तर्फबाट सहयोग र सहकार्य गर्नुपर्ने सम्झौता गरिएको थियो ।
जिल्लाका सात तहले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मूलको पहिचान, अवस्थाको मूल्यांकन तथा संकटासन्न मुहानको पुनर्जीवित गर्ने नयाँ अभियानमा ऐक्यबद्धता जनाएका थिए । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
इसिमोडका अनुसार हिन्दूकुश हिमालयमा पानीको मुहान क्रमशः सुक्दै जानु आजको प्रमुख समस्या भएको र पहाडी समुदायको पिउने पानी, गाईवस्तु तथा बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवाद न्यूनीकरण गर्नु अहिलेको मुख्य आवश्यकता देखिएको छ ।
प्रतिवेदनहरुका अनुसार हिन्दूकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानले पानीको महत्वपूर्ण स्रोतका रूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता गम्भीर समस्याका कारण पानीका मुहान जोखिममा पर्दै गइरहेको जनाइएको छ ।












प्रतिक्रिया