एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ? « Khabarhub

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले बिहीबार ओमानको सामना गर्दैछ। नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुने खेलमा दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्।

समूह चरणका चारमध्ये तीन खेल जित्दै नेपाल शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको हो। टोलीले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो ।

समूह चरणमा नेपाली ब्याटिङ लाइनअप कमजोर देखिँदा केही संघर्ष गर्नुपरेको छ। अघिल्ला तीनवटै खेलमा दुई सयभन्दा कम रनको लक्ष्य पछ्याएको नेपालले हङकङले प्रस्तुत गरेको २ सय ६२ रनको मध्यम लक्ष्यसमेत भेट्न सकेन। ४९.१ ओभरमा २ सय ४६ रनमा अलआउट हुँदै नेपाल पराजित भयो। प्रतियोगिताभर नेपालका लागि इशान पाण्डेले हङकङविरुद्ध बनाएको ९० रन नै एकमात्र अर्धशतक हो। यसबाहेक अर्जुन कुमाल (अविजित ४५ रन), आसिफ शेख (४४ रन), र गुलसन झा (अविजित ४४ रन) ले केही सम्हालिएको इनिङ्स खेलेका थिए।

ब्याटिङ कमजोर रहे पनि नेपाली ब्याकबोनका रूपमा बलरको प्रदर्शन भने उत्कृष्ट छ। कप्तान सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले टोलीका लागि महत्त्वपूर्ण विकेट लिँदै विपक्षी टोलीलाई सस्तोमै समेट्न ठूलो योगदान दिएका छन्।

बिहीबार नै हुने अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) र समूह ‘ए’ को उपविजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ को जुन १८ देखि जुलाई ४ सम्म बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।

हेड टु हेडमा नेपाल अगाडि: पछिल्ला ५ खेलमा नेपालको वर्चस्व

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीचको पछिल्ला भेटहरूमा नेपालको पल्ला भारी देखिएको छ। दुई टोलीबीच भएका पछिल्ला ५ ओडीआई खेलमध्ये नेपालले ३ खेलमा जित दर्ता गरेको छ भने ओमानले २ खेल आफ्नो पक्षमा पारेको छ।

घरेलु मैदान कीर्तिपुरमा खेलिएका तीनवटै खेलमा नेपालले ओमानमाथि एकछत्र दबदबा कायम राखेको छ। सन् २०२५ को मे ५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको थियो। उक्त खेलमा नेपालले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याएको ओमान १७५ रनमै समेटिएको थियो।

त्यसैगरी, सन् २०२४ को अप्रिल २१ मा कीर्तिपुरमै भएको खेलमा नेपालले ३१० रनको विशाल योगफल खडा गर्दै ओमानलाई २२६ रनमा रोकेर ८४ रनको फराकिलो जित निकालेको थियो। त्यसअघि सन् २०२२ को जुन १४ मा कीर्तिपुरमै खेलिएको अर्को भेटमा ओमानलाई १६३ रनमै अलआउट गर्दै नेपालले १६७/३ रन बनाएर ७ विकेटको सहज जित हात पारेको थियो।

स्कटल्यान्डको डन्डीमा खेलिएका दुई खेलमा भने ओमानले बाजी मारेको थियो। सन् २०२५ को अप्रिल २९ मा डन्डीमा भएको खेलमा ओमानले डकवर्थ-लुइस पद्धति अनुसार नेपाललाई १०२ रनले हराएको थियो। ओमानले ३०५/८ रन बनाएको सो खेलमा नेपाल १५५/७ रनमै समेटिएको थियो। त्यस्तै, २०२५ कै जुन १८ मा डन्डीमै भएको रोमाञ्चक भिडन्तमा ओमानले नेपाललाई १ विकेटको झिनो अन्तरले पराजित गरेको थियो। नेपालले दिएको २२० रनको लक्ष्य ओमानले ९ विकेट गुमाएर २२३ रन बनाउँदै भेट्टाएको थियो।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ६ : ३५ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।