काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्ना प्रदेश सांसदहरू ‘बिकेको’ भनेर लगाएको आरोप प्रमाणित गर्न वा सार्वजनिक रूपमा क्षमायाचना गर्न २४ घण्टे अल्टिमेटम दिएको छ।
प्रदेश अध्यक्ष विक्रमबहादुर थापाले केन्द्रीय बुधबार केन्द्रीय कार्यालय घेराउका क्रममा उक्त अल्टिमेट दिएका हुन् । लिङ्देनले बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने आफ्नै पार्टीका सांसदलाई लक्षित गर्दै ‘भेडा-बाख्राजस्तै बिके’ र ‘अर्काको ओछ्यान तताउन गए’ जस्ता अभिव्यक्ति दिएको भन्दै थापाले आपत्ति जनाएका छन्।
प्रदेश समितिले ‘को बिक्यो, कति रकममा बिक्यो, कसले किन्यो, कहिले, कहाँ र कसरी लेनदेन भयो तथा त्यसको प्रमाण के हो?’ भन्दै आरोप पुष्टि गर्ने प्रमाण २४ घण्टाभित्र सार्वजनिक गर्न माग गरेको छ।
आरोप प्रमाणित भए सम्बन्धितमाथि पार्टी विधानअनुसार कारबाही गर्न र प्रमाण प्रस्तुत गर्न नसके अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना गर्न समितिले माग गरेको छ।
समितिले विगतमा कोशी प्रदेशमा सभामुख पद कायम राख्ने तथा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने पार्टी निर्णयको प्रसङ्ग उठाउँदै राजनीतिक निर्णयमा दोहोरो मापदण्ड अपनाइएको भन्दै प्रश्नसमेत गरेको छ।
बागमती प्रदेश समितिले प्रदेश सांसदहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन, फरक मत राख्ने नेता–कार्यकर्तामाथि व्यक्तिगत लाञ्छना लगाउने प्रवृत्ति अन्त्य गर्न तथा पार्टीभित्र विधि, विधान, पारदर्शिता र राजनीतिक मर्यादा कायम गर्नसमेत माग गरेको छ।
बागमतीको संसदीय दलका नेता उद्धव थापा नेतृत्वका प्रदेश सांसदहरूले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरेपछि राप्रपामा भाँडभैलो भएको छ।




















प्रतिक्रिया