काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको शुक्रबार पूजा–अर्चना गरी आशीर्वाद लिएका छन् ।
कुमारी माजुको दर्शन गर्नुका साथै सभापति राणाले हनुमानढोका दरबार क्षेत्रस्थित मरु गणेश, गुरु गोरखनाथ, तलेजु भवानी, काल भैरव, स्वेत भैरव लगायत मठमन्दिर तथा शक्तिपीठमा पूर्जा–अर्चना गरे ।
इन्द्र जात्राका अवसरमा कुमारीको दर्शन गर्नुलाई अत्यन्तै शुभ र आध्यात्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । ‘यही मान्यता र परम्परा अनुरूप हामीले आज कुमार माजुको दर्शन गर्यौँ, आशीर्वाद ग्रहण गर्यौँ र देशमा सुख, शान्ति कायम होस् भन्ने कामना गर्यौँ,’ जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले भने ।
सो अवसरमा हनुमान ढोका मठमन्दिर पूजारी समितिका अध्यक्ष इन्द्रमान श्रेष्ठ र इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यले सभापति राणा लगायत पार्टी नेताहरूलाई स्वागत गरेका थिए ।
इन्द्र जात्रामा कुमारीका साथै भैरव र गणेशको रथयात्रा गरिन्छ । जात्राको अवधिभर हनुमानढोका दरबार क्षेत्रमा लाखौँ भक्तजनहरू कुमारी, गणेश र भैरवको दर्शन तथा आशीर्वाद लिन भेला हुने गर्दछन् ।
इन्द्र जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवहरूमध्ये एक हो । आठ दिनसम्म चल्ने यो जात्राले काठमाडौंको ऐतिहासिक धरोहर, जीवन्त संस्कृति र धार्मिक सहिष्णुतालाई झल्काउँछ ।













प्रतिक्रिया