वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि अमेरिकामा रहेका इरानी मूलका समुदायमा युद्ध र इरानी शासन परिवर्तनको विषयलाई लिएर गहिरो विभाजन देखिएको छ ।
इरानी शासनको विरोधमा रहे पनि सैन्य हस्तक्षेपबाट शासन परिवर्तन सम्भव छ कि छैन भन्ने विषयमा समुदाय विभाजित भएको हो । युद्धको विरोध गर्ने केही इरानी–अमेरिकीले आफूलाई शासन समर्थकको आरोप लाग्ने गरेको बताएका छन् भने युद्ध समर्थकहरूले शासन परिवर्तनका लागि सैन्य कारबाही आवश्यक रहेको बताएका छन् ।
क्यालिफोर्निया स्टेट युनिभर्सिटी, साक्रामेन्टोस्थित इरानी तथा मध्यपूर्वी अध्ययन केन्द्रकी निर्देशक साहर रजावीका अनुसार युद्धले इरानी प्रवासी समुदायमा पहिलेदेखि रहेको राजनीतिक तनाव थप बढाएको छ । उनका अनुसार युद्धका कारण परिवार र लामो समयदेखिका मित्रतासमेत प्रभावित भएका छन् ।
युद्ध सुरु हुँदा इरानी प्रवासी समुदायमा युद्धको समर्थन र विरोध लगभग बराबर रहेको भए पनि एक महिनापछि गरिएको सर्वेक्षणमा ६६.१ प्रतिशतले युद्धको विरोध र ३२.७ प्रतिशतले समर्थन गरेको पाइएको थियो ।
निर्वासित इरानी नेता रेजा पहलवीका समर्थकहरू भने सैन्य हस्तक्षेपमार्फत इरानी शासन अन्त्य गर्नुपर्ने पक्षमा छन् । उनीहरूले इरानमा शासन परिवर्तनका लागि अन्य विकल्प प्रभावकारी नभएको तर्क गरेका छन् ।
यसबीच युद्धको विरोध गर्नेहरू भने सैन्य कारबाहीले इरानमा सर्वसाधारणको ज्यान, रोजगारी, सम्पत्ति र बचतमा थप क्षति पुग्ने भन्दै राजनीतिक परिवर्तन स्वदेशभित्रैबाट हुनुपर्ने बताउँदै आएका छन् ।
युद्ध र शासन परिवर्तनबारेको मतभेदले अमेरिकास्थित इरानी समुदायमा सामाजिक तथा पारिवारिक सम्बन्धसमेत तनावपूर्ण बनेका छन् ।













प्रतिक्रिया