वडा अधिवेशन सुरु हुनै लाग्दा समेत शेरबहादुर-गगन संवादहीनता कायमै, दुवै पक्षका आ-आफ्नै अडान « Khabarhub

वडा अधिवेशन सुरु हुनै लाग्दा समेत शेरबहादुर-गगन संवादहीनता कायमै, दुवै पक्षका आ-आफ्नै अडान



काठमाडौं- गत वर्ष जेन-जी आन्दोलन भएदेखि नेपाली कांग्रेस बिरामी परेको छ । आन्दोलनको एक वर्ष बितिसक्दा कांग्रेस सानाठूला गरी तीन धारमा बाँडिन पुगेको छ । नेपाली कांग्रेस यतिबेला गगन कांग्रेस, देउवा कांग्रेस र तटस्थ कांग्रेस गरी तीन धारमा देखिँदा पार्टीका नेता कार्यकर्ताहरु अन्यौलमा छन् ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले २०८२ पुसमा विशेष महाधिवेशन गरी आफूलाई सभापति बनाएका गगन थापाको नेतृत्व स्वीकार नगर्दा यस्तो अवस्था आएको हो । तर, पार्टीको १५औँ नियमित महाधिवेशनको प्रक्रिया सुरु भएपछि पूर्वसभापति देउवाले थापासँग संवाद गर्ने गगन थापा पक्षको अपेक्षा छ ।

देउवा गगन थापासँग संवादको पर्खाइमा रहेको जानकारी उनीनिकट नेताहरूले दिएका छन् । पार्टी एक बनाएर जाने संकल्प नै राखेको भए गगन थापाले शेरबहादुर देउवासँग संवाद गर्नुपर्ने नेता रमेश लेखकको भनाइ छ ।

गगनले देउवासँग संवाद गरेको खण्डमा कांग्रेस एक हुने दाबी गर्दै एक पटक गगनले देउवालाई भेट्नुपर्ने थुप्रै कांग्रेसी नेताको माग छ । गगनले देउवासँग संवाद गर्नुपर्छ भन्ने पक्षमा मीन विश्वकर्मा, प्रकाशमान सिंह, डिना उपाध्यायलगायतका नेताहरू देखिन्छन् ।

अधिवेशन नरोकिने

पार्टीले शनिबारबाट वडा अधिवेशन सुरु गर्दैछ । वडा अधिवेशन सुरु हुनुअघि इतर पक्षका धेरै नेताहरु गगन नेतृत्वको आधिकारिक कांग्रेसतर्फ खुलेका छन् । तीन वटा धारमा कांग्रेस देखिँदा भोलिबाट हुन लागेको वडा अधिवेशनमा देशभरि कस्तो सहभागिता रहन्छ भन्ने विषय पेचिलो बनेको छ ।

देउवा पक्षमै अड्किएका कांग्रेसका कतिपय प्रभावशाली र शीर्ष नेताका कारण तल्लो तहको अधिवेशनमा केही असर पर्ने सम्भावना देखिन्छ । अहिले देउवासँग रहेका शीर्ष नेतामा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधिलगायत छन् । यस्तै प्रकाशशरण महत, कान्छाराम तामाङ, एनपी साउद, मोहनबहादुर बस्नेत, दीपक खड्का, सीता गुरुङलगायत पनि देउवासँगै छन् ।

सुरुमा देउवालाई साथ दिएका र अहिले गगन पक्षमा पुगेका नेता मीन विश्वकर्माका अनुसार बिहीबार मात्रै देउवा पक्षका ५१ जना केन्द्रीय नेता आधिकारिक कांग्रेसमा आइपुगेका छन् । चुनदेवीको सम्पर्क कार्यालयमा देउवा पक्षलाई छोडेर ती नेताहरू गगन पक्षले आयोजना गरेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका थिए ।

शुक्रबार पनि १४औँ महाधिवेशनमा उपसभापति बनेका धनराज गुरुङ, नेता विजय गच्छेदारलगायत नेताहरु गगनसँग खुले । कांग्रेस एक बनाएर लोकतन्त्र, गणतन्त्र र राज्य दरिलो बनाउनका लागि आफूहरू एक भएको नेता गुरुङ बताउँछन् । उनी लोकतन्त्रलाई बलियो बनाउन सबै कांग्रेसीहरू एक ठाउँमा आउनुपर्ने सन्देश दिन्छन् ।

पछिल्लो समय पूर्णबहादुर खड्का र डा. शेखर कोइराला मध्यमार्गी बाटोमा बसिरहेका छन् । कांग्रेस मिलाउनका लागि आफूहरू कतै पनि नखुलेको र कांग्रेस एकताबद्ध बनाउने अभियानमा रहेको डा कोइरालाले खबरहबलाई जानकारी दिए।

कोइरालाका अनुसार यदि दुईवटा महाधिवेशन हुने अवस्था आए उनी कतै पनि सहभागी हुने छैनन् । तर एउटा महाधिवेशन हुने अवस्था बने त्यसमा भने उत्साहित भएर सहभागी हुने उनी बताउँछन् ।

‘एउटै महाधिवेशन गरौँ भन्ने हिसाबले जोडबल गरिरहेको छु । गगनजी र शेरबहादुर दाई दुवैसँग संवादमै छौँ । सकेसम्म कुरा मिलाउने प्रयत्न भइरहेको छ, तर धेरै कुरा अड्किएको छ,’ शेखरले भने, ‘कांग्रेस एक हुने भए महाधिवेशन रोकेर दुवै पक्षलाई वार्तामा आउन भनिएको हो । तर सर्वोच्च अदालतमा नै १६, १७, १८ र १९ गते १५औँ महाधिवेशन गर्ने भन्ने गगनजीहरूले कुरा पुर्‍याइसकेको हुनाले नरोकिने भन्ने कुरा पनि आएको छ ।’

यता पूर्णबहादुर खड्काले पनि कांग्रेस एक बनाउनका लागि दुवै महाधिवेशन रोक्नुपर्ने अडान लिएका छन् । तर कांग्रेसको गगन पक्ष कुनै पनि हालतमा महाधिवेशन नरोकिने बताउँछ । देउवाको साथ छोडेर गगन कांग्रेसमा पुगेका मीन विश्वकर्माका अनुसार अब महाधिवेशन रोकिने कुनै सम्भावना छैन ।

‘भोलिदेखि वडा अधिवेशन सुरु हुँदैछ । ७ गतेसम्ममा शेरबहादुर दाइ पनि आइसक्नुहुन्छ भन्ने हिसाबले छलफल जारी राखेका छौँ । गगनजीहरूले पनि देउवासँग बैठक गर्ने अन्तिम तयारी गरिरहनुभएको छ । अहिलेसम्म भेट भएन, रित्तो हात किन भेट्ने भन्ने हिसाबले केही विषयहरू मिलाउने सन्दर्भमा तयारी भइरहेको छ,’ विश्वकर्माले भने, ‘मोटामोटी कुरा मिलिसकेका छन् । तर मानसम्मानको कुरोमा चाहिँ केही समस्या देखिएको छ । हामी छलफलमै छौँ । सकभर एउटै महाधिवेशन गर्ने तयारी गरिरहेका छौँ ।’

यता कांग्रेस महामन्त्री गुरु घिमिरे पटक पटक देउवासँग भेट्ने चरण मिलाउँदा पनि उनीनिकट व्यक्तिहरूले भेट्न नदिएको आरोप लगाउँछन् । उनी अहिले पनि गगन थापा र शेरबहादुर देउवाबीचको सम्बन्धमा कुनै तुष नरहेको उल्लेख गर्दै कसैले उनीहरूलाई भड्काइरहेको बताउँछन् ।

‘हामीले अग्रजहरूलाई सम्मान दिन्छौँ भनिरहेका छौँ । त्यही हिसाबले तयारी पनि भइराखेको हो । हामीले त महाधिवेशनको उद्घाटनमा उपस्थित भएर प्रमुख अतिथिको आसन गरिदिनुहोस्, आफैँ १५औँ महाधिवेशन उद्घाटन गरिदिनुहोस् भनिरहेकै छौँ नि,’ घिमिरेले भने, ‘यहाँभन्दा कति लचिलो हुने ? हामीले उहाँहरुलाई सम्मानपूर्वक निमन्त्रणा गरिरहेका छौँ । अब पनि महाधिवेशनमा निमन्त्रणा गर्छौँ । तर भोलिबाट हुने वडा अधिवेशन र आगामी महाधिवेशन रोकिँदैन ।’

यसअघि बिहीबार कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि गगनले देउवालाई १५औँ महाधिवेशनमा उपस्थित भएर उद्घाटन गरिदिन आग्रह गरेका थिए ।

अहिले चुनदेवी सम्पर्क कार्यालयमा दिनहुँजसो शेरबहादुर देउवानिकट नेताहरूको बैठक चलिरहेको छ । शेरबहादुर देउवा भने गगन थापाले संवाद गर्छन् भन्ने प्रतीक्षा गरिरहेका छन् । देउवालाई अहिले पद चाहिएको होइन । उनलाई मानसम्मान चाहिएकाले उनी सम्मानपूर्वक बहिर्गमनको प्रतीक्षामा रहेको उनी पक्षमा लामो समय काम गरेका नेता विश्वकर्मा बताउँछन् ।

त्यसकारण पनि गगन थापासँग अन्तिम संवादको तयारीमा देउवा रहेको आँकलन गर्न सकिन्छ । यता थापा पक्षका नेताहरु भने संवाद भनेर आफूहरूलाई झुलाउने काम भइरहेकाले महाधिवेशन रोकेर संवाद नगर्ने, तर आवश्यक परेको खण्डमा संवाद हुँदै जाने बताउँछन् ।

‘संवादको नाममा महाधिवेशन नै रोकेर झुलिने काम हुँदैन । आवश्यक परेको खण्डमा पूर्वसभापतिसँग हाम्रो सभापतिले संवाद गर्नुहोला । त्यसका पनि केही प्रक्रिया र तयारीहरू हुन्छन्,’ कांग्रेस महासचिव प्रदीप पौडेल भन्छन्, ‘हामीले संवाद नै गर्दैनौँ भनेका छैनौँ । यसअघि पनि संवादका लागि विभिन्न पहलहरू भएका थिए । तर ती पहलहरूलाई कसले, कहाँ भड्कायो भन्ने विषय चाहिँ महत्त्वपूर्ण छ ।’

नेपाली कांग्रेस देउवा समूहका नेता रमेश लेखकका अनुसार देउवा अहिले गगनको प्रतीक्षामा छन् । उनी गगनले चाहेको खण्डमा संवाद गरेर पार्टी एक बनाउने तयारीमा रहेको जानकारी दिन्छन् । उनी गगन थापालाई एकपटक महाधिवेशन रोकेर देउवासँग संवाद गर्न आग्रह गर्छन् ।

‘पार्टी एक बनाउन ठूलो कुरै छैन । गगनजीहरूले एक पटक पूर्वसभापति देउवा दाइसँग छलफल र संवाद गरे धेरै कुरा टुङ्गिएर जान्छन् । देउवा दाइको चाहना यो छ कि गगनजी एकपटक आएर संवाद गरिदिनुहोस् । भोलिबाट सुरु हुन लागेको वडा अधिवेशन रोकिदिनुहोस्,’ लेखकले खबरहबसँग भने, ‘आजका मितिसम्म पनि देउवा दाइ पार्टी विभाजनको पक्षमा हुनुहुन्न । गगनजीहरू नेतृत्वमा रहेको हिसाबले लचिलो भएर अग्रजहरूको सम्मान गर्दै उहाँसँग संवाद गरिदिए हुन्छ ।’

विगतमा गगन थापाले पटक पटक देउवासँग सम्पर्क गरेर भेट्न खोजे पनि अन्य नेताले भेट गर्न नदिएको चर्चा चलेको छ । तर नेता प्रकाशमान सिंह कुनै पनि हिसाबमा गगनले देउवासँग संवाद गर्न नै नचाहेको र पार्टी एकलौटी बनाउन खोजेकाले आफूहरू नझुक्ने बताउँछन् ।

‘गगनजी पार्टी एकता होइन, विभाजनको पक्षमा देखिनुहुन्छ । किनभने अग्रज नेता र पूर्वसभापतिसँग अहिलेसम्म छलफल र सल्लाह गर्नुभएको छैन । त्यसकारण हामीले आफ्नो हिसाबले तयारी गरिरहेका छौँ । हामी देउवा दाइ लगायत गगनजीसँग झुकेर जाने पक्षमा छैनौँ, किनभने अग्रजको सम्मान गर्नु र लोकतान्त्रिक व्यवस्थालाई बचाउनु नेतृत्वको दायित्व हो,’ सिंहले भने, ‘केटाकेटीको हातमा नेतृत्व पुगेपछि यस्ता विषयहरूले प्राथमिकता नपाउने रहेछन् । गगनजी पार्टीलाई कुन दिशामा लाँदैहुनुहुन्छ, त्यो उहाँले नै विश्लेषण गर्ने कुरा हो । अग्रजहरूलाई लात हानेर पार्टी कहीँ पनि पुग्दैन ।’

‘तपाईंहरू जस्ता नेताले नै शेरबहादुर देउवालाई गगन थापासँग मिल्न दिनुभएन रे नि?’ भन्ने प्रश्नमा सिंहले भने, ‘शेरबहादुर दाइ जतिको मान्छेलाई हामीले उक्साउनुपर्छ र ? यो कुरा गर्ने मान्छे केटाकेटीबाहेक केही पनि होइन । गगनजीहरूले यस्तै कुरा गरेका कारण पार्टी एक हुन नसकेको हो । म उहाँहरूलाई सुध्रिन आग्रह गर्छु ।’ सिंह रुखो शैलीमा १४औँ महाधिवेशनको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्ने भएकाले त्यसमा आफूहरू क्लियर रहेको बताउँछन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ७ : ५४ बजे

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१