लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८ विकेटको एकपक्षीय जित निकाल्दै घरेलु टोली इङ्गल्यान्डले शृंखला ३–० ले ‘क्लीन स्विप’ गरेको छ। ओल्ड ट्राफोर्डमा प्राप्त जितसँगै इङ्गल्यान्ड भारतलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।
जितका लागि पाएको १२५ रनको सामान्य लक्ष्य इङ्गल्यान्डले मात्र ९.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। घरेलु मैदानमा बल बाँकी रहने हिसाबले इङ्गल्यान्डले टी–२० मा हात पारेको यो अहिलेसम्मकै ठूलो जित हो। ६२ बल बाँकी छँदै लक्ष्य भेट्याउने क्रममा जोस बट्लरले ३२ बलमा ६२ रनको अविजित अर्धशतकीय पारी खेले। कप्तान ह्यारी ब्रुकले २१ बलमा ३३ रनको योगदान दिए। दोस्रो विकेटका लागि बट्लर र ब्रुकबीच ८५ रनको साझेदारी भएको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका १८.५ ओभरमा १२४ रनमै समेटिएको थियो। श्रीलंकाका लागि पथुम निसन्काले ३६ र कमिन्दु मेन्डिसले ३५ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
श्रीलंकालाई सस्तैमा समेट्न इङ्गल्यान्डका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरे। सोनी बेकरले १७ रन दिएर २ विकेट लिए भने जोफ्रा आर्चर र विल ज्याक्सले पनि समान २-२ विकेट हात पारे। जेमी ओभरटनले अत्यन्तै किफायती बलिङ गर्दै ४ ओभरमा १५ रन दिएर १ विकेट लिए। लिआम डसनले इशान मलिङ्गालाई सिधा थ्रोमार्फत रनआउट गराउँदै उत्कृष्ट प्रर्दशन गरे ।
सन् २०२४ को गृष्मऋतुमा ह्यारी ब्रुकले टोलीको कप्तानी सम्हालेयता इङ्गल्यान्डले खेलेका २६ टी–२० मध्ये २३ खेलमा जित हात पारेको छ। दुवै टोलीबीच तीन खेलको एकदिवसीय (ओडीआई) शृंखला मंगलबारदेखि डरहाममा सुरु हुनेछ।













प्रतिक्रिया