यी हुन् राष्ट्रसंघको महासभा हल्लाउने पाँच चर्चित भाषण « Khabarhub

यी हुन् राष्ट्रसंघको महासभा हल्लाउने पाँच चर्चित भाषण



काठमाडौं- मंगलबारदेखि संयुक्त राष्ट्रसंघको महासभामा नेताहरुले सम्बोधन गर्ने क्रम सुरु भएको छ । महासभालाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतले सम्बोधन गरेका छन् ।

राष्ट्रसंघ महासभा विश्वका शक्तिशाली नेता र कूटनीतिज्ञहरूका लागि आफ्ना प्राथमिकता र विश्वका समस्याबारे धारणा राख्ने मञ्च बनिआएको छ । महासभाको इतिहासमा कतिपय अवस्थामा एक आपसमा कट्टर शत्रु ठानिने राष्ट्रहरूका प्रमुखहरू समेत एकैठाउँमा भेला हुने गरेका छन् ।

प्रतिभाशाली खेलाडीले आफ्नो कला प्रस्तुत गर्ने मञ्च विश्वकप मानिएजस्तै राष्ट्रसंघ महासभालाई पनि विश्वभरका कूटनीतिज्ञ तथा नेताहरुलाई आफ्नो कूटनीतिक कुशलता प्रस्तुत गर्ने मञ्च मानिन्छ ।

इतिहासमा यस मञ्चबाट दिइएका भाषणहरूमध्ये कतिपय अविष्मरणीय छन् । कतिपय नेताहरुले महासभामा बडो गम्भीर सम्बोधन गरेका छन् त कतिपय नेताले हास्यास्पद भाषण समेत गरेका छन् ।

१. क्यास्ट्रोको म्याराथन भाषण

महासभामा सबैभन्दा लामो र इतिहासमै कीर्तिमानी भाषण गर्ने श्रेय क्युबाली नेता फिडेल क्यास्ट्रोलाई जान्छ । उनी क्युबाली क्रान्तिपछि सत्तामा आएका थिए । सन् १९६० मा क्यास्ट्रोले राष्ट्रसंघको मञ्चबाट लगातार साढे चार घण्टा अर्थात् २६९ मिनेटसम्म भाषण गरे ।

यो भाषणमा उनले विश्वव्यापी असमानता, सामन्तीहरुको शोषण, भोकमरी, अशिक्षा, स्वास्थ्य सेवाको अभाव र ल्याटिन अमेरिकामा सैन्य शासकहरूले जनतालाई गरिबीमा राखेको विषयमा लामो गहकिलो आलोचना प्रस्तुत गरेका थिए । रोचक संयोग के भने क्यास्ट्रोले यति लामो भाषण गरेको एक वर्ष नपुग्दै अमेरिकाले क्युबामाथि ‘बे अफ पिग्स’ मा सैन्य कारवाही सञ्चालन गरेको थियो । तर, क्यास्ट्रोलाई सत्ताच्युत गर्ने अमेरिकी प्रयास भने सफल हुन सकेन ।

२. चाभेजको ‘शैतान’ टिप्पणी

अमेरिकासँग तनाव कायम रहेका बेला सन् २००६ मा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले महासभाको मञ्चबाट तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुशलाई सिधै ‘शैतान’ को संज्ञा दिएका थिए । राष्ट्रपति बुशले महासभालाई सम्बोधन पछि चाभेजले महासभालाई सम्बोधन गरेका थिए ।

आफ्नो सम्बोधनमा राष्ट्रपति चाभेजले यसअघि त्यहाँ सैतान आएको र अहिले पनि त्यहाँ सल्फरको गन्ध आइरहेको टिप्पणी गरेका थिए । त्यसबेला चाभेजले अमेरिकी परराष्ट्र नीतिको तीव्र आलोचना गरेका थिए ।

३. गद्दाफीको अविष्मरणीय भाषण

चार दशकभन्दा बढी समय सत्तामा रहेका लिबियाका तत्कालीन शासक मुअम्मर गद्दाफी सन् २००९ मा पहिलो पटक राष्ट्रसंघको मञ्चमा उभिए । त्यो पहिलो उपस्थिति नै स्मरणीय र रोचक बन्यो । सामान्यतया वक्ताहरूलाई जम्मा १५ मिनेटको समय दिइने भए पनि गद्दाफीले त्यसबेला ९७ मिनेटसम्म भाषण गरेका थिए । आफ्नो सम्बोधनमा उनले विश्वका शक्ति राष्ट्रविरुद्ध तीखो आलोचना गरेका थिए ।

उनले राष्ट्रसंघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्यको भिटो अधिकारलाई अन्त्य गर्नुपर्ने माग राख्दै त्यो अधिकारले विश्वलाई सुरक्षित नभई आतंकित बनाएको आरोप लगाएका थिए । उनले आफ्नो भाषणमा राष्ट्रसंघको बडापत्र (चार्टर) समेत पढेर सुनाउँदै संस्थाले नियम लागू गर्न चुकेको आरोप लगाएका थिए ।

४. इरानले आणविक बम बनाउँदै गरेको नेतान्याहुको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सन् २०१२ को महासभामा गरेको भाषण भने भिन्नै कारणले चर्चित बन्यो । इरानको आणविक कार्यक्रम कति खतरनाक अवस्थामा पुगेको छ भनी बुझाउन उनले मञ्चमा नै एउटा कार्टुन-शैलीमा बमको चित्र कोरेका थिए । चित्रमा इरानले आणविक बम बनाउन आवश्यक युरेनियमको ७० प्रतिशत पहिले नै जम्मा गरिसकेको र थप बढिरहेको दाबी गरेका थिए ।

यति भनिसकेपछि उनले सोही कार्टुनमा एउटा रातो रेखा कोरेर देखाउँदै त्यही बिन्दुलाई ‘रेड लाइन’ तोकिनुपर्ने बताएका थिए । यो घटना पछि उनी सन् २०१५ को इरान आणविक सम्झौताका सबैभन्दा मुखर आलोचकका रूपमा उदाए । सो सम्झौता सन् २०१८ मा ट्रम्पले नै खारेज गरेका थिए । सन् २०१२ मा नेतान्याहूले इरानले आणविक हतियार बनाउँदै गरेको दाबी गरेपनि हालसम्म इरानले आणविक बम बनाएको पुष्टि भने भएको छैन ।

५. ट्रम्पको ‘रकेट म्यान’ र उत्तर कोरियालाई ‘ध्वस्त पारिदिने’ चेतावनी

सन् २०१७ मा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध निकै चिसिएको थियो । त्यसबेला राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभामा आफ्नो सम्बोधनका क्रममा उत्तर कोरियालाई लक्षित गर्दै आक्रामक भाषा प्रयोग गरे । सामान्यतया अन्तर्राष्ट्रिय सहकार्य र साझा चुनौतीमा केन्द्रित हुने यस्ता भाषणहरूको ठीक विपरीत, ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ‘रकेट म्यान’ को संज्ञा दिएका थिए ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले आवश्यक परे उत्तर कोरियालाई ‘पूर्ण रूपमा ध्वस्त’ पारिदिने चेतावनी समेत दिएका थिए । यद्यपि त्यसपछि नाटकीय शैलीमा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध सुध्रिने दिशामा अघि बढ्यो । ट्रम्प र किमबीच सिंगापुरमा शिखर वार्ता भयो । त्यसपछि पनि सम्बन्ध सुधारका प्रयास त भए तर पनि कुनै ठोस उपलब्धि भने हासिल भएन ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ५ : ०८ बजे

‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैन : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर

सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

मकवानपुर– मकवानपुरको सिमात खोलाले बगाउँदा श्यामबहादुर स्याङतानको मृत्यु भएको छ ।  बकैया

काठमाडौं जोड्ने राजमार्ग बन्द : रोकिए सार्वजनिक बस

काठमाडौं– विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन्

बालेनको सम्बोधन भइरहँदा न्यूयोर्कमा जलवायु न्यायका लागि भिजिट नेपालको प्रदर्शन

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले हिमालय

वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड, अवस्था हेरेर मात्रै सञ्चालनमा ल्याइने (तस्बिरहरू)

काठमाडौं– लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट