चितवन– चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैँडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए ।
पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट तीन किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरूले दुईवटा गैँडालाई फरक फरक खाडलमा पारेर मारेका थिए ।
त्यसयता प्राकृतिक कारणले गैँडा मरेको भए पनि चोरी शिकारीका कारण गैँडा मरेका छैनन् । निकुञ्जको सुरक्षामा कडाइका कारण गैँडा मारिनबाट जोगिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राकृतिक कारणले गैँडा मरेको भए पनि एक हजार ४२ दिनयता तस्करले गैँडा मार्न पाएका छैनन् ।
आर्थिक वर्ष २०८०-०८१ को कात्तिक ३० अगाडिका वर्षमा तस्करले गैँडा मारेको तथ्यांक छ । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा पाँच वटा, २०७८-०७९ मा दुई र ७९-८० मा दुई वटा गैँडा तस्करले मारेका थिए ।
यसअघि आर्थिक वर्ष २०५८-०५९ मा ३८ गैँडा तस्करले मारेका थिए । सशस्त्र द्वन्द्वको बेला सुरक्षा पोष्ट कटौतीको फाइदा उठाउँदै तस्करहरुले गैँडा मारेका हुन् । त्यसयता सुरक्षा संयन्त्र चनाखो भएपछि एक हजार ७१ दिन शून्य चोरी शिकार भएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७५-०७६ मा ४३, २०७६-०७७ मा २६, २०७७-०७८ मा ३५, २०७९-०८० मा २०, २०८०÷०८१ मा २१, २०८१-०८२ मा २८ वटा र २०८२-०८३ मा २२ वटा गैँडा प्राकृतिक कारणले मृत्यु भएको थियो ।
निकुञ्जमा नेपाली सेनाको नयाँ गोरख गण दलले सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र स्थानीयको सहकार्यबाट चोरीशिकार नियन्त्रण सम्भव भएको थापामगर बताउँछन् ।
निकुञ्जमा हाल ५३ वटा पोष्ट छन् । उक्त पोष्टमा नेपाली सेना र निकुञ्ज सुरक्षाकर्मी रहेर सुरक्षा दिइरहेको उनले बताए। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा तस्करहरुले गोली हानेर, खाल्डोमा पारेर, विष खुवाएर, करेन्ट लगाएर गैँडा मार्ने गर्दछन् ।
यस्तै प्राकृतिक कारणले बुढो भएर, अन्य जनावरको आक्रमणमा परेर, आपसमा जुधेर तथा बाढीले बगाएर, दलदलमा फसेर, बाघले खाएर गैँडा मर्ने गरेका छन् । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा छन् ।
यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९५ वटा गैँडा रहेका छन् । सन् २०२१ यता गैँडा गणना भएको छैन । चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटामा पनि गैँडा रहेका छन् ।













प्रतिक्रिया