प्रदीप ज्ञवालीको निष्कर्ष : निर्वाचनपछि एमालेमा ध्रुवीकरण बढ्यो, तलैसम्म विभाजनको अवस्था ल्यायो « Khabarhub

प्रदीप ज्ञवालीको निष्कर्ष : निर्वाचनपछि एमालेमा ध्रुवीकरण बढ्यो, तलैसम्म विभाजनको अवस्था ल्यायो


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा रहेको भन्दै त्यसको समाधानका लागि राष्ट्रिय एकता र पार्टी एकता आवश्यक रहेको बताएका छन्।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ज्ञवालीले संकटको सामना गर्न पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्रकै एकता अपरिहार्य रहेको र त्यसको अगुवाइ एमालेले गर्नुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘पपुलिज्म’ र अराजकताको जगमा उभिएको शक्ति भएकाले दीर्घकालीन रूपमा असफल हुनु अनिवार्य रहेको दाबी गर्दै उनले रास्वपा असफल हुँदैमा एमाले स्वतः सफल नहुने बताए। त्यसका लागि एमालेले आफूलाई सुदृढ र रूपान्तरित बनाउनुपर्ने उनको भनाइ थियो।

एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेको उल्लेख गर्दै ज्ञवालीले त्यसलाई चिर्न पार्टीभित्र बलियो एकता र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताए।

उनले पार्टी पुनर्जागरणको मुख्य आधार आन्तरिक एकता भएको उल्लेख गर्दै एमालेभित्र वैचारिक समस्या नभए पनि केही विषयमा दृष्टिकोणको भिन्नता रहेको बताए।

निर्वाचनपछिको परिस्थितिलाई लिएर विकसित बहसले पार्टीभित्र ध्रुवीकरण बढाएको र त्यसले भावनात्मक विभाजन सिर्जना गरेको उनको भनाइ थियो।

निर्वाचन परिणामलाई सामूहिक चुनौतीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्ने समयमा पार्टीभित्र अस्वस्थ अवस्था देखिएको उनले बताए।

पुनर्गठनको बहस व्यक्ति केन्द्रित बनेको, अध्यक्ष केपी शर्मा ओलीलाई सम्पूर्ण समस्याको कारकका रूपमा चित्रित गर्ने प्रयास भएको तथा पार्टीका नियमित कामसमेत प्रभावित भएको उनको टिप्पणी थियो।

ज्ञवालीले कार्यदलको प्रतिवेदनलाई पार्टी एकताको आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिँदै त्यसको नेतृत्व अध्यक्ष ओलीले गर्नुपर्ने बताए। अब ओली आन्तरिक संघर्षमा भन्दा योजनाबद्ध नेतृत्व विकास र पार्टीभित्र भावनात्मक एकता निर्माणमा केन्द्रित हुनुपर्ने उनको धारणा थियो।

एमालेलाई लागेको धक्काको प्रमुख कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको ज्ञवालीले बताए।

स्थानीय तहमा देखिने प्रतिस्पर्धा, अपेक्षा र त्यसबाट उत्पन्न द्वन्द्वलाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा समस्या बढेको उल्लेख गर्दै उनले प्रतिस्पर्धापछि पुनः बलियो एकता कायम गर्ने नयाँ विधि खोज्नुपर्ने बताए।

उनले कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएका कार्यभारसँगै जनजीविकाका मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। जनतासँगको सम्बन्ध मजबुत बनाउन जनजीविकासँग जोडिएका विषयमा पार्टीको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

बैठकमा उठेको ‘प्रदीप ज्ञवालीको प्रतिवेदन’ सम्बन्धी चर्चाप्रति प्रतिक्रिया दिँदै उनले आफ्नो कुनै छुट्टै प्रतिवेदन नरहेको स्पष्ट पारे।

पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयकारी भूमिका निर्वाह गर्नु गल्ती नभएको उल्लेख गर्दै ध्रुवीकरण चर्किएको समयमा कुनै एक पक्षमा उभिएर अतिवादी धारणा व्यक्त गर्दा मिडियामा चर्चा पाए पनि त्यसले समस्या समाधान नगर्ने बताए।

पार्टीभित्रका विषयलाई मिडिया ट्रायल गर्ने तथा असहमतिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै ज्ञवालीले त्यसले क्षणिक चर्चा दिलाए पनि दिगो नेतृत्व निर्माण गर्न नसक्ने बताए।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ३ : २४ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा