काठमाडौं– नेपाली संगीतका चर्चित कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै ‘सुरताल म्युजिकल टुर २०८३’ आयोजना हुने भएको छ ।
गायक प्रकाश सपूत, ‘भाका नेपाल’ ब्यान्ड, गायक प्रमोद, ‘परम्परा ब्यान्ड’ र ‘फिरेन्ते ब्यान्ड’को सहभागितामा हुने सांगीतिक यात्रा देशका सातै प्रदेशका १३ प्रमुख सहरमा पुग्नेछ।
सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा हुने टुर असोज १० गते धनकुटाको हिलेबाट सुरु हुनेछ । आयोजकका अनुसार सांगीतिक यात्रामार्फत चर्चित गीतसँगै नयाँ प्रस्तुतिसमेत दर्शकमाझ पुर्याइनेछ ।
टुरको मुख्य आकर्षण प्रकाश सपूतको लाइभ प्रस्तुति हुनेछ । यसपटक उनी आफ्ना चर्चित तथा सन्देशमूलक गीत लिएर ‘ट्र्याक’मा मात्र नभई ‘भाका नेपाल’ ब्यान्डसहित प्रत्यक्ष प्रस्तुतिमा देखिनेछन् । त्यस्तै, गायक प्रमोद, ‘परम्परा ब्यान्ड’ र ‘फिरेन्ते ब्यान्ड’ले पनि लाइभ संगीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।
कार्यक्रमलाई परम्परागत कन्सर्टभन्दा फरक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ । अत्याधुनिक साउन्ड सिस्टम, आकर्षक लाइटिङ, लाइभ इन्स्ट्रुमेन्ट, कोरस, डान्स र गीतको भावअनुसारका मञ्चीय प्रस्तुतिले कार्यक्रमलाई थप विशेष बनाउने तयारी छ। कार्यक्रम निशा पन्थीले सञ्चालन गर्नेछिन् ।
‘सुरताल’को अर्को महत्त्वपूर्ण पक्ष यसको सामाजिक उद्देश्य पनि हो । आयोजकका अनुसार कार्यक्रमको खर्च कटाएर बाँकी हुने कुल आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रदान गरिनेछ ।
यसअघि पोखराबाट टुर सुरु गर्ने तयारी भए पनि बाढीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पोखरा र धरानका कार्यक्रम स्थगित गरिएको थियो । त्यसपछि हिलेबाट टुर सुरु गर्ने निर्णय गरिएको सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारले बताए ।
उनका अनुसार यो अभियान मनोरञ्जनमा मात्र सीमित नभई विपद्को समयमा नागरिकसँग जोडिने र नेपाली मौलिक संगीतलाई देशका विभिन्न भूगोल तथा समुदायसम्म पुर्याउने उद्देश्यले अघि बढाइएको हो ।
टुरअन्तर्गत असोज १० गते हिले, असोज १४ गते तेह्रथुम, असोज १७ गते खाँदबारी र असोज १९ गते बर्दिबासमा कार्यक्रम हुनेछ। यससँगै पहिलो चरणको टुर पूरा हुनेछ ।
दोस्रो चरण मंसिर २ गते महेन्द्रनगरबाट सुरु हुनेछ। त्यसपछि मंसिर ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा सांगीतिक कार्यक्रम आयोजना हुनेछ ।
त्यसपछि पोखरा र धरानमा कार्यक्रम गर्दै ‘सुरताल म्युजिकल टुर २०८३’ को समापन गरिने आयोजकले जनाएको छ ।
स्थानीय दर्शकको रुचि र सम्बन्धित ठाउँको सांगीतिक वातावरणलाई समेत ध्यानमा राखेर प्रस्तुति तयार गरिने आयोजकको भनाइ छ।













प्रतिक्रिया