ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई पाकिस्तानले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति नदिएपछि केन्द्रको दोस्रो एकाइका लागि निर्धारित इन्धन ढुवानी रोकिएको छ।
ढाकास्थित पाकिस्तानी उच्च आयोगले हवाई उडान मार्ग र हवाई क्षेत्र प्रयोगको अनुमतिसम्बन्धी विषय प्राविधिक तथा प्रक्रियागत रहेको जनाएको छ। सम्बन्धित उड्डयन अधिकारीबीच समन्वय आवश्यक पर्न सक्ने र त्यसका कारण उडान तालिकामा परिवर्तन हुन सक्ने आयोगको भनाइ छ।
पाकिस्तानले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै घटनालाई द्विपक्षीय सम्बन्धमा असर पार्ने विषयका रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ।
रूपपुर आणविक ऊर्जा केन्द्रको दोस्रो एकाइका लागि आणविक इन्धन सेप्टेम्बर २४ मा बङ्गलादेश पुग्ने तय भएको थियो। तर पाकिस्तानी हवाई क्षेत्र प्रयोगको अनुमति नपाएपछि इन्धन ढुवानी हुन सकेन। बङ्गलादेशका विज्ञान तथा प्रविधिमन्त्री फकीर महबूब अनमले अनुमति नदिनुको वास्तविक कारण अझै स्पष्ट नभएको बताए। उनका अनुसार रुसी पक्षले इन्धन अक्टोबरको पहिलो साता बङ्गलादेश पुग्ने नयाँ समयतालिका दिएको छ।
बङ्गलादेशको विज्ञान तथा प्रविधि मन्त्रालयका संयुक्त सचिव शेख मोहम्मद तौहिदुल इस्लामले विमानस्थलमा इन्धन ढुवानीका लागि आवश्यक तयारी पूरा भइसकेको अवस्थामा रुसी सरकारी आणविक ऊर्जा निगम रोसाटमका सम्पर्क अधिकारीले हवाई क्षेत्रसम्बन्धी विषय स्पष्ट नभएको जानकारी गराएको बताए। त्यसपछि ढुवानी पुनःनिर्धारण गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
रोसाटमको सहयोगमा निर्माण भइरहेको रूपपुर बङ्गलादेशको पहिलो आणविक ऊर्जा केन्द्र हो। परियोजनाअन्तर्गत तेस्रो पुस्ताका दुई भिभिइआर–१२०० रिएक्टर निर्माण भइरहेका छन्। दुवै रिएक्टरबाट कुल दुई हजार चार सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
केन्द्रको पहिलो एकाइका लागि कम समृद्ध युरेनियम इन्धनको पहिलो खेप रुसबाट बङ्गलादेश पुगेपछि बङ्गलादेशले आणविक ऊर्जा उत्पादनतर्फ औपचारिक प्रवेश गरेको थियो। पहिलो खेपमा १६४ वटा इन्धन संयन्त्र रूसी कार्गो विमानमार्फत ढाका ल्याइएको थियो। त्यसपछि कडा सुरक्षाबीच इन्धनलाई पबनाको इश्वरदीस्थित रूपपुर केन्द्रमा पुर्याइएको थियो।














प्रतिक्रिया