म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन ।
यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले घरबास बगाएपछि उनीहरूको दसैँ खल्लो बनेको छ । जिन्दगीभरको कमाइ र मेहनतले बनाएको घर गुमाएका उनीहरूलाई चाडपर्वको खुसीभन्दा घरबारविहीन हुँदाको पीडाले बढी सताएको छ ।
बेनी नगरपालिका–१ बेलबोटकी देवी थापाले फर्सेमा गाईभैँसी पालेर दुई दशक बिताइन् । बाढीले घर बगाएपछि अहिले उनी माइतीको आश्रयमा छिन् । घर गुमाउँदाको पीडाले यस वर्ष दसैँ मनाउने जाँगर नचलेको उनले बताइन् ।
‘जिन्दगीभरको कमाइ र मेहनतले जोडेको घर बाढीले बगायो । अहिले माइतीमा आश्रय लिएर बसेका छौँ,’ उनले भनिन्, ‘घर गुमेको पीडाले चाडपर्व मनाउने मनस्थिति छैन । यसपालि जमरा पनि राखेकी छैन ।’ ६६ वर्षीय तीर्थबहादुर केसीको पीडा पनि उस्तै छ । बाढीले घर बगाएपछि उनी ६ जनाको परिवारसहित छिमेकीको घरमा डेरा लिएर बसेका छन् ।
‘घरगोठ र सम्पत्ति सबै गुमायौँ । अहिले छिमेकीको घरमा बसेका छौँ,’ उनले भने, ‘यस्तो अवस्थामा दसैँ मनाउने अवस्था नै छैन ।’ कालीगण्डकी नदीको बाढीले बस्तीलाई बगरमा परिणत गरेपछि फर्सेका करिब एक सय परिवारको अवस्था यस्तै छ । जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीका अनुसार बाढीले फर्सेका ७५ घर पूर्ण रूपमा क्षति भएका छन् भने २७ घर जोखिममा छन् ।
बाढीका कारण विस्थापित भएका ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् । घरबारविहीन भएका परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेहरूलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ ।
‘बाढीपीडित सर्वसाधारण मात्र होइन, प्रभावितको व्यवस्थापनमा खटिएका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई पनि दसैँको रौनकले छोएको छैन,’ वडाध्यक्ष जिसीले भने, ‘पूर्वसूचना र सतर्कताका कारण मानवीय क्षति हुन पाएन । कालीगण्डकीको बाढीबाट फर्से सबैभन्दा बढी प्रभावित बस्ती बनेको छ ।’
रातको समयमा बाढी आएपछि ज्यान जोगाउन भागेका धेरै बासिन्दाले शरीरमा लगाएको कपडा र हातमा भएको मोबाइलबाहेक केही निकाल्न पाएनन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, नगद र महत्वपूर्ण कागजात बाढीमै बगे ।
‘शरीरमा भएको कपडा मात्रै लगाएर झरीमा भिज्दै राति दुई बजे सडकमा निस्कियौँ,’ स्थानीय डल्ली दमाईले भनिन्, ‘घरमा अन्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, नगद र महत्त्वपूर्ण कागजात थिए । तर, हामीसँग ज्यान जोगाउने समय मात्रै थियो ।’
हाल विस्थापित परिवार दिनमा एकपटक बाढीले बगाएको घर भएको ठाउँमा पुग्छन् । भग्नावशेष हेर्छन् । पुराना दिन सम्झन्छन् । अनि भारी मन लिएर फर्किन्छन् । कृष्ण दमाई, राजेन्द्र श्रेष्ठ, सूर्य थापा, धनकुमारी अधिकारी र टीकाराम क्षेत्रीको अवस्था पनि उस्तै छ । उनीहरूले पनि शरीरमा लगाएको कपडाबाहेक घरबाट केही निकाल्न पाएनन् ।
बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुल बगाएको छ । इतिहास र स्थानीय जनजीवनसँग जोडिएको उक्त पुल अब सम्झनामा मात्रै सीमित भएको छ । बाढीबाट नभत्किएका घरभित्र पनि पानी र हिलो पसेकाले बस्न नसकिने अवस्था छ । बचेका घर जोखिममा छन् ।
पञ्चायतकालमा फर्से व्यापारिक केन्द्रका रूपमा परिचित थियो । बागलुङ, मुस्ताङ र म्याग्दी ओहोरदोहोर गर्ने यात्रुका लागि यो महत्वपूर्ण ठाउँ थियो । सडक विस्तारसँगै फर्सेको पुरानो व्यापारिक स्वरूप बदलियो । स्थानीय बासिन्दा कृषि तथा पशुपालन व्यवसायमा लागे । बेनी, कुश्मा र बागलुङ बजार नजिकै भएकाले यहाँका बासिन्दाले दूध र तरकारी उत्पादनलाई आम्दानीको मुख्य स्रोत बनाएका थिए ।
बाढीले घरगोठ र पशुपालनका संरचना बगाएपछि किसानको जीविकोपार्जन सङ्कटमा परेको छ । सरकारी निकायबाट सहयोग पाएमा पुनः पशुपालन व्यवसाय सुरु गर्न सकिने आशा सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीले बताए ।
कृषक रुपा सापकोटाले गोठमा बिछ्याउने काउम्याट उपलब्ध भए गाईभैँसीलाई चिसोबाट जोगाउन सकिने बताइन् । उनले बाढी प्रभावित किसानका लागि तत्काल पशुआहारा र दानाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
पुनःस्थापनाको पर्खाइमा प्रभावित बस्ती
पछिल्लो मनसुनजन्य विपद्बाट जलजला गाउँपालिका–८ स्थित फर्सेसँगै वडा नम्बर ७ का ताङवाङ र खानीगाउँ प्रभावित भएका छन् । वडा नम्बर ४ को लामाखेतमा कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ ।
पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । ‘पहिरोले बस्ती घेरिएको छ । पाखो चिराचिरा परेको छ भने घरका पर्खाल सुरक्षित छैनन्,’ उनले भने, ‘त्यसैले खानीगाउँ र ताङवाङका बासिन्दा सुरक्षित ठाउँमा आएर अस्थायी टहरा बनाएर बसेका छन् । प्रभावित बस्तीको स्थलगत निरीक्षण गरी आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाएका छौँ ।’
जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेका अनुसार गाउँपालिकाभर बाढीपहिरोबाट १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् । थप एक ४० घर जोखिममा छन् । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताए ।
उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ । बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उनले बताए ।
दसैँमा घर फर्किने, परिवारसँग बसेर मीठोमसिनो खाने र खुसी साटासाट गर्ने फर्सेबासीको चाहना यस वर्ष बाढीले खोसेको छ । घरबार गुमाएका उनीहरूका लागि अहिले चाडपर्वको उल्लासभन्दा सुरक्षित बास र गुमेको जीवनयापन पुनः कसरी सुरु होला भन्ने चिन्ताले सताएको छ ।














प्रतिक्रिया