काठमाडौं- भारतले आफ्नो प्राचीन सांस्कृतिक विरासत र आधुनिक आर्थिक तथा प्राविधिक विकासलाई कसरी साथसाथै अघि बढाइरहेको छ भन्नेबारे जानकारी दिन अन्तर्राष्ट्रिय सञ्चारभ्रमण आयोजना गरिएको छ । भारतको विदेश मन्त्रालयद्वारा आयोजना गरिएको १० दिने मिडिया भ्रमणका क्रममा एसिया, अफ्रिका, युरोप, मध्यपूर्व र ल्याटिन अमेरिकाका १९ देशका सम्पादक तथा पत्रकारहरू सहभागी थिए । उनीहरुले भारतको ऐतिहासिक पृष्ठभूमिदेखि लिएर यसको आधुनिक स्वरूपसम्मको नजिकबाट अनुभव गर्ने अवसर पाएका छन् ।
भ्रमणको सुरुआत ऐतिहासिक सहर आगराबाट भएको थियो, जहाँ पत्रकारहरूले भारतको पहिचानका रूपमा रहेको ताज महल र आग्रा फोर्टको अवलोकन गरेका थिए । मुगल सम्राट शाहजहाँले निर्माण गराएको ताज महलले प्रेम र समर्पणको कथा मात्र नभई सामाजिक सेवा, नेतृत्व र भावी पुस्ताका लागि छाडिने धरोहरको महत्त्वबारे जानकारी दिइएको थियो । दक्षिण अफ्रिकी पत्रकार फौजिया मुड्लेका अनुसार ताज महलले समाजका लागि गरिने त्याग र सेवाको प्रतीकलाई उजागर गर्दछ। आगराका यी सम्पदाहरूले कसरी भारतले आफ्नो इतिहासलाई जोगाएर विश्वभरका पर्यटकमाझ प्रस्तुत गरिरहेको छ भन्ने स्पष्ट पारेका छन्।
आग्राको ऐतिहासिक अध्ययनपछि भ्रमण टोली भारतको आर्थिक राजधानी मानिने मुम्बई पुगेको थियो। तटीय सहर मुम्बईमा पुग्दा नाइजेरियाका पत्रकार फ्रेड आइडिहाईले यसलाई आफ्नै देशको लगोस सहरसँग तुलना गर्दै खुसी व्यक्त गरे । मुम्बई महानगरपालिका (बीएमसी) का अधिकारीहरूसँगको छलफलमा चक्रवात, बाढी, भूकम्प र पहिरोजस्ता प्राकृतिक विपद्हरूसँग जुध्न सहरले अपनाएका उपायबारे जानकारी गराइएको थियो। मुम्बईका नयाँ पूर्वाधारहरू विपद्-प्रतिरोधी प्रविधिबाट निर्माण गरिएका छन् भने तटीय क्षेत्रमा प्रहरी गस्ती, लाइफगार्ड र भारतीय नौसेना तथा कोस्ट गार्डसँगको समन्वयमा बलियो सुरक्षा एवं उद्धार संयन्त्र तयार पारिएको छ।
आर्थिक विकासको क्षेत्रमा भारतको फड्कोलाई बम्बई स्टक एक्सचेन्जको विकासक्रमले स्पष्ट पार्दछ। बरको रुखमुनि अवस्थित साधारण सेयर कारोबारबाट सुरु भएको यो संस्था आज अत्याधुनिक डिजिटल स्टक एक्सचेन्जमा रूपान्तरण भइसकेको छ। संस्थाका प्रबन्ध निर्देशक एवं मुख्य कार्यकारी अधिकृत सुन्दररामन राममूर्तिले पहिले हातको इसारा र मौखिक बोलकबोलबाट हुने सेयर कारोबार आज लगानीकर्ताको हात-हातमा रहेको स्मार्टफोनसम्म पुगेको जानकारी दिए । हाल भारतमा २६ करोडभन्दा बढी खाताहरू सञ्चालनमा छन् । राममूर्तिले सेयर बजारलाई ‘विश्वासको मन्दिर’ भन्दै यसले घरायसी बचतलाई देशको आर्थिक वृद्धिमा परिचालन गर्न ठूलो भूमिका खेलेको उल्लेख गरे।
डिजिटल भुक्तानी प्रणालीमा भारतले गरेको क्रान्ति नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियामा प्रत्यक्ष अवलोकन गराइएको थियो । यहाँको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) ले देशको वित्तीय प्रणालीलाई नयाँ उचाइमा पुर्याएको छ। NPCI इन्टरनेशनलकी एसिया प्यासिफिक प्रमुख सोनल अस्नानीका अनुसार युपीआईको मुख्य शक्ति यसको सहजता र अन्तर-सञ्चालनशीलता हो, जसले जुनसुकै बैंक खाता र एपबीच सजिलै कारोबार गर्न अनुमति दिन्छ । सन् २०२६ को अगस्ट महिनासम्ममा ७५२ बैंकहरू युपीआईमा आबद्ध भइसकेका छन् भने सोही महिना मात्रै २४.५ अर्बभन्दा बढी कारोबार रेकर्ड भएका छन् ।
भ्रमणको अन्तिम चरणमा टोली मुम्बईस्थित फिल्म सिटी पुगेको थियो, जहाँ भारतको सिर्जनात्मक अर्थतन्त्र र सांस्कृतिक प्रभावको अवलोकन गरियो। बलिउडले भारतीय संस्कृति, सङ्गीत र फेसनलाई विश्वभर फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। नाइजेरियाको ‘नलिउड’ र भारतको ‘बलिउड’ बीचको सांस्कृतिक सम्बन्धलाई जोड्दै दुवै देशबीच चलचित्र निर्माण, प्राविधिक तालिम र वितरणमा सहकार्य बढाउने सम्भावनाबारे पनि चर्चा गरियो।














प्रतिक्रिया