काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिने भएको छ ।
अभिनयमार्फत नेपाली सिने क्षेत्रमा विशेष योगदान पुर्याएकी निरुतालाई उनको कला, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा आयोजना गर्न लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ कार्यक्रममा निरुतालाई उपाधि प्रदान गरिने आयोजकले जनाएको छ ।
सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको फिल्म ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी निरुताले साढे तीन दशकको अवधिमा नेपाली फिल्म क्षेत्रमा छुट्टै पहिचान बनाएकी छन् । ‘दर्पणछायाँ’, ‘रहर’, ‘मितज्यू’, ‘आफ्नो मान्छे’, ‘ठुलदाई’, ‘आफन्त’, ‘चाँदनी’, ‘दाल भात तरकारी’ र ‘३६ को आँकडा’ लगायतका दर्जनौँ फिल्ममा उनको अभिनयलाई दर्शकले रुचाएका छन् ।
अभिनयमा मात्र सीमित नरहेकी निरुताको गायनमा पनि रुचि छ । उनले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक ‘वंश’को शीर्षगीतमा स्वर दिएकी छन् । त्यस्तै, ‘दीपशिखा’ म्युजिक एल्बमका लागि पनि उनले गीत गाएकी छन् ।
रिबन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाका अनुसार नेपाली फिल्म क्षेत्रमा निरुताले पुर्याएको योगदान र उनको प्रेरणादायी यात्राको सम्मानस्वरूप यो उपाधि प्रदान गर्न लागिएको हो ।
यसअघि अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’ उपाधिबाट सम्मानित गरिएको थियो ।
निरुताको सम्मानले नेपाली फिल्म क्षेत्रमा लामो समय योगदान पुर्याएका कलाकारको पहिचान र योगदानलाई कदर गर्ने परम्परालाई निरन्तरता दिनेछ ।














प्रतिक्रिया