काठमाडौँ – सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य सुधारका कार्यक्रमलाई तीव्रता दिने भएको छ।
यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्था र नियन्त्रणका उपायबारे छलफल भएको छ।
बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथाममा जोड दिँदै बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निष्कर्ष निकालेको छ। यसका लागि सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना विस्तार, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय तथा विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने विषयमा छलफल भएको थियो। साथै, विशेषज्ञ चिकित्सकलाई देशमै टिकाउने उपायबारे पनि विचारविमर्श गरिएको थियो।
सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिङ्क, जङ्क फुड, विषादीयुक्त खाद्यवस्तु तथा अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख जोखिमका रूपमा औँल्याउँदै तिनको नियन्त्रण र नियमनका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा बैठकले जोड दिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारमा मात्र निर्भर नभई रोकथाम, जनचेतना, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ।
नेपालले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा नसर्ने रोगका कारण हुने अकाल मृत्युदर एक तिहाइले घटाउने प्रतिबद्धता जनाएको छ। सोही लक्ष्य हासिल गर्न सरकारले स्वास्थ्य प्रवर्द्धन र रोगको प्रारम्भिक पहिचानलाई प्राथमिकतामा राखेको छ।














प्रतिक्रिया