तेहरान- इरानले आफ्ना सातवटै सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी पुनः नखोल्ने स्पष्ट पारेको छ । इरानका एक उच्च सुरक्षा अधिकारीले अमेरिकाले आफ्ना मागलाई स्पष्ट रूपमा सम्बोधन गरी कार्यान्वयन नगरेसम्म जलघाँटी खोल्ने सम्भावना नरहेको बताएका छन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको पछिल्लो प्रतिक्रियाप्रति असन्तुष्टि जनाएको छ । इरानका अधिकार र माग पूर्ण रूपमा सम्बोधन तथा कार्यान्वयन भएपछि मात्रै हर्मुज जलघाँटी पुनः खोलिने उनको भनाइ छ ।
यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले पनि माग पूरा नभएसम्म अमेरिकासँग कुनै सम्झौता नहुने बताए । लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रतिबद्धता कुनै पनि कूटनीतिक प्रक्रियाको अनिवार्य र सम्झौता गर्न नसकिने सर्त भएको उनले स्पष्ट पारेका छन्।
इरानका अनुसार गत जुन १८ मा इरान र अमेरिकाबीच हस्ताक्षर भएको समझदारीपत्रको पहिलो बुँदामै सबै मोर्चामा युद्ध अन्त्य गर्ने विषय समेटिएको छ ।
यसअघि सेप्टेम्बर २२ मा इरानले मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष शत्रुता अन्त्य गर्न र आफ्ना सर्त पूरा भए सात दिनभित्र हर्मुज जलघाँटी खोल्ने प्रस्ताव पठाएको थियो । त्यसपछि दुवै पक्षबीच सन्देश आदानप्रदान भएको थियो । इरानले आफ्नो प्रस्तावप्रति सद्भाव देखाउँदै सात दिनको समयसीमालाई घटाएर दुई दिनमा झारेको बाघाईले सोमबार बताएका थिए ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो । त्यसयता इरानले हर्मुज जलघाँटीमाथिको नियन्त्रणसमेत कडा बनाउँदै आएको छ ।
दुवै पक्षबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
समझदारीअनुसार दुवै देशले इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा अन्तिम सहमतिका लागि ६० दिनभित्र वार्ता गर्ने तय भएको थियो । उक्त समयसीमा अगस्ट १७ मा समाप्त भए पनि बढ्दो तनावका कारण वार्तामा उल्लेख्य प्रगति हुन सकेन ।














प्रतिक्रिया