काठमाडौं– इजरायली सेनाले नेपाली सेनालाई प्रतिआतंकवाद सम्बन्धी विशेष सैन्य तालिम प्रदान गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले नेपाल भारतविरुद्ध परिचालित आतंकवादी समूहको आश्रयस्थल बन्न सक्ने भन्ने प्रतिवेदन सार्वजनिक गरेको केही हप्तापछि इजरायली डिफेन्स फोर्सले नेपाली सेनालाई विशेष सैन्य तालिम दिएको हो ।
नेपाली सेनाको प्रतिआतंकवाद कारबाहीका लागि स्थापना भएको भैरबनाथ ‘घ’ लाई इजरायली सेनाले सो तालिम दिएको हो।
गत आइतबारबाट शुरु भएको तालिम आतंकवाद बिरुद्धको सैन्य कारबाही, आतंकवादीबाट हुनसक्ने हवाईजहाज अपहरण र महत्वपूर्ण व्यक्ति तथा स्थानको सुरक्षा लगायतका विषयमा केन्द्रित रहेको थियो । तालिमको बुधबार समापन गरिएको हो । समापन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि इजरायलका राजदूत बेनी ओमार समेत उपस्थित भएका थिए ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘इजरायली सेनासँग यस बिषयमा लामो अनुभव छ, त्यो साटासाट भयो।’
तालिम निरीक्षणको क्रममा प्रधानसेनापति थापाले आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम रहेको र यस तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा अन्तरप्रणाली (इन्ट्रोप्रोबाबिलिटी) सहकार्य क्षमता बढाउने अवसर प्रदान भएको बताए।
प्रतिक्रिया