भोजपुर– भोजपुरका विभिन्न स्थानमा बुधबार अचानक परेको असिना पानीले पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुर्याएको छ ।
धान काटेर भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका छन् । असिना पानीका कारण खेतमा पाकेर रहेको धानमा क्षति पुगेको हो ।
भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानबालीमा क्षति पुर्याएको बताए। उनले असिना पानी पुनः दोहोरिने चिन्ताले किसानलाई सताएको उल्लेख गरे ।
‘हिजो एक्कासि असिना पानी पर्यो,’ उनले भने, ‘फेरि पनि दोहोरिने हो कि भन्ने चिन्ता बढेको छ । यही अवस्था दोहोरिए धानबालीमा ठूलो क्षति पुग्न सक्छ ।’
उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् ।
धान पाकेर खेत पहेँलपुर भएको समयमा मौसममा आएको परिवर्तनले किसान थप चिन्तित बनेका छन् । असिना पानी दोहोरिए पाकेको धान झर्ने, ढल्ने तथा काटेर खेतमा सुकाइएको धानसमेत नष्ट हुने जोखिम रहेको किसानको भनाइ छ ।














प्रतिक्रिया