अमेरिकामा हवाई सेवा अवरुद्ध हुँदा हजारौँ उडान प्रभावित « Khabarhub

अमेरिकामा हवाई सेवा अवरुद्ध हुँदा हजारौँ उडान प्रभावित


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण आइतबार पनि हजारौँ उडान प्रभावित भएका छन्। आइतबार देशभरका विमानस्थलबाट उडान रोक्न जारी गरिएको दुर्लभ आदेशपछि हवाई सेवा सामान्य अवस्थामा फर्किन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।

अमेरिकी यातायातमन्त्री सिन डफीले हवाई सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सोमबारसम्म लाग्न सक्ने बताएका छन्। विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले उडान तालिका नियमित बनाउन समय लाग्ने उनको भनाइ छ।

उडानसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने संस्था फ्लाइटअवेयरका अनुसार आइतबार मात्रै अमेरिकामा आठ हजार आठ सयभन्दा बढी उडान ढिला भएका छन् भने दुई हजार चार सय उडान रद्द भएका छन्।

यसअघि शनिबार पाँच हजार नौ सयभन्दा बढी उडान रद्द भएका थिए भने सात हजारभन्दा बढी उडान ढिला भएका थिए।

शुक्रबार अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलबाट उडान भर्न लागेका सबै विमानलाई रोक्न निर्देशन दिएपछि हवाई सेवा अस्तव्यस्त बनेको थियो। आदेश जारी हुँदा तीन हजार पाँच सयभन्दा बढी विमान आकाशमा उडिरहेका थिए। तीमध्ये केहीलाई अन्य विमानस्थलतर्फ मोडिएको थियो भने केही निर्धारित गन्तव्यमा पुगेका थिए।

उडान रोकिँदा कतिपय यात्रु विमानस्थलको धावनमार्गमा रहेका विमानभित्रै अलपत्र परेका थिए। अन्य यात्रु विमानस्थलमै रात बिताउन बाध्य भएका थिए। यसले अमेरिका मात्र नभई बेलायत र युरोपबाट हुने केही अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएका थिए।

यातायातमन्त्री डफीका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण हवाई ट्राफिक नियन्त्रक र विमान चालकबीच सञ्चारका लागि प्रयोग हुने महत्त्वपूर्ण प्रणालीमा आएको खराबी हो।

तामाका तारबाट फाइबर प्रविधिमा स्तरोन्नति गर्ने क्रममा जडान गरिएको कम्प्युटर राउटरले गलत सङ्केत पठाउँदा सञ्जालमा समस्या उत्पन्न भएको उनले बताए। उक्त राउटर अर्कान्सास राज्यको एल डोराडोमा जडान गरिएको थियो।

डफीले अमेरिकी हवाई यातायात नियन्त्रण प्रणाली दशकौँदेखि उपेक्षामा परेकाले व्यापक आधुनिकीकरण आवश्यक रहेको बताए। प्रणालीमा सुधार नगरे यस्ता समस्या दोहोरिन सक्ने उनको भनाइ छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई यातायात नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि थप बजेट विनियोजन गर्न संसद्लाई आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले अहिलेको हवाई नियन्त्रण प्रणालीका धेरै उपकरण ५० वर्ष पुराना रहेको उल्लेख गर्दै आधुनिकीकरणको काम एकैपटक प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्।

हवाई सेवा विश्लेषक माइल्स ओब्रायनले पनि अमेरिकी हवाई सञ्चार प्रणाली निकै पुरानो र जीर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन्। दशकौँदेखि प्रणालीको उचित मर्मत तथा आधुनिकीकरण नगरिएकाले अहिलेको समस्या देखिएको उनको भनाइ छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ७ : २७ बजे

धान काट्न व्यस्त छन् इलामका किसान

इलाम– इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ

अमेरिकामा हवाई सेवा अवरुद्ध हुँदा हजारौँ उडान प्रभावित

वासिङ्टन- अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण आइतबार

बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

काठमाडौँ – उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व

सयपत्री फूल बेचेर शुक्लागण्डकीका किसानले कमाए साढे नौ लाख

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले यस वर्ष तिहारमा सयपत्री फूल बिक्री