दोलखा– रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले बाढीमा परी बेपत्ता भएका जिल्लाका ५९ जनाको विवरण यकिन गरी आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार काठमाडौंलाई पत्राचार गर्दै बेपत्ता नागरिकको विवरण पठाएको हो ।
कार्यालयका अनुसार २०८३ साउन १० गते बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी दोलखा जिल्लाका नौ स्थानीय तहका ५९ जना नागरिक बेपत्ता भएका थिए ।
घटनापछि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयअनुसार सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरण संकलन तथा एकीकृत गरी ५९ जना बेपत्ता नागरिकको विवरण यकिन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले ‘रसुवा भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिकता विवरण यकिन गर्ने प्रक्रिया २०८३’ बमोजिम स्थानीय तहबाट प्राप्त विवरणलाई एकीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सिफारिससहित पठाएको जनाएको छ ।

प्रशासनले उक्त विवरणलाई वैधानिकता प्रदान गर्दै बेपत्ता नागरिकको कानुनी अवस्थासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाएको हो।यससँगै लामो समयदेखि आफन्तको अवस्थाबारे अन्योलमा रहेका परिवारका लागि कानुनी प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ।
यद्यपि प्रशासनको पत्राचारसँगै उनीहरूलाई औपचारिक रूपमा मृत घोषणा भइसकेको भने होइन। सम्बन्धित निकायबाट आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्रै मृत घोषणा हुने प्रक्रिया अघि बढ्नेछ।
भोटेकोसी बाढीले दोलखाका नागरिकसमेत प्रभावित भएपछि बेपत्ताको पहिचान, विवरण प्रमाणीकरण र कानुनी व्यवस्थापनको विषय पेचिलो बन्दै आएको थियो ।
प्रशासनको पछिल्लो कदमले बेपत्ता नागरिकका परिवारले भोग्दै आएको कानुनी अन्योल समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सुवाश बस्नेत/दोलखा
यस्तो छ नामावली :
















प्रतिक्रिया