काठमाडौँ– कात्तिक शुक्ल एकादशीका अवसरमा शुक्रबार देशभर हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।
भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गराई विशेष पूजा गरेर यो पर्व मनाउने परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु चार महिनापछि आजकै दिन ब्युँझिने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई हरिबोधिनी एकादशीका दिन गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर तुलसीको दामोदरसँग विवाह गरिन्छ । तुलसी भगवान् विष्णुलाई प्रिय भएकाले तुलसी विवाह गर्ने परम्परा बसेको धार्मिक मान्यता छ ।
हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लागेको छ । काठमाडौँको शेषनारायण र इचँगुनारायण, भक्तपुरको चाँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
यसैगरी, काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थानमा पनि विशेष मेला लागेको छ । त्यहाँ कार्तिक शुक्ल पूर्णिमासम्म मेला सञ्चालन हुने परम्परा छ । बूढानीलकण्ठ नारायणस्थानको दर्शन तथा पूजा गर्दा उपत्यकाका चार नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।














प्रतिक्रिया