म्याग्दी– सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा आज बिहान ३ः०० बजेदेखि तीव्र गतिको चिसो हावाहुरी चलिरहेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार हावाहुरीका कारण काभ्रेमा तीन र नारच्याङमा एक वटा घरको छानो उडाएको छ । रुख ढलेर भुरुङ्ग–तातोपानीदेखि मान्द्रेढुङ्गा जोड्ने सडक अवरुद्ध बनेको छ ।
‘गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ,’ उनले भने, ‘हावाहुरी निरन्तर चलिरहेको छ । थप विवरण सङ्कलन भइरहेको छ’, अन्नपूर्ण गाउँपालिका–३ दानाका वडासदस्य दुर्गादत्त सुवेदीले तीव्र गतिको चिसो हावा चलिरहेको बताए ।
‘हुरीको बेगले मानिसलाई समेत उडाउलाजस्तो महसुस भएको छ,’ उनले भने, ‘कालीगण्डकी करिडोरको कच्ची सडक र नदी किनारको बगरमा धुलो उड्दा अन्नपूर्ण र धौलागिरि हिमाल बादलले ढाकिएजस्तो देखिएको छ ।’
मुस्ताङ र आसपासका हिमाली क्षेत्रमा तापक्रम घटेपछि उत्पन्न हुने चिसो हावा कालीगण्डकी नदीले निर्माण गरेको अन्नपूर्ण र धौलागिरि हिमालबीचको गहिरो गल्छी हुँदै दक्षिणतर्फ बहने गर्छ । साँघुरो गल्छीबाट हावा तीव्र गतिमा तल झर्दा दाना, नारच्याङ र आसपासका क्षेत्रमा हुरीको प्रभाव देखिने गरेको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रमको असन्तुलन बढ्दै जाँदा उत्तरी हावाहुरी चल्ने समय परिवर्तन हुन थालेको स्थानीयको अनुभव छ । विगतमा हिउँद सकिन लाग्दा बढी चल्ने यस्तो हावा पछिल्ला वर्षहरुमा बेमौसममै चल्न थालेको छ ।
तीव्र हावाहुरीले कालीगण्डकी करिडोर आसपासका सुक्खा बगर र सडकको धुलो उडाउँदा बस्तीमा धुलोको समस्या बढ्नुका साथै कृषि बाली, सुन्तलाखेती र विद्युत् प्रसारण लाइनमा असर पुग्ने गरेको छ ।














प्रतिक्रिया