दाङ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने उल्लेख गर्दै तोकिएकै समय निर्वाचन हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दुवै तहका निर्वाचन एकैपटक गर्न नहुने बताए । स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए ।
प्रदेशको निर्वाचन आगामी मङ्सीरमा हुने स्थितिमा ६ महिनासम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्ने कुरा स्वीकार्य हुन नसक्ने र यसले राष्ट्रियसभा तथा राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित हुने महासचिव पोखरेलले उल्लेख गरे ।
उनले वर्तमान संविधान जनअधिकारका दृष्टिले समृद्ध रहेकाले यसका आधारभूत जगलाई खलबल्याएर वा अधिकार कटौती गरेर नभई सुदृढीकरणका लागि मात्र आवश्यक संशोधन गर्न सकिने प्रष्ट पारे ।














प्रतिक्रिया