मुस्ताङ– जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको छ ।
दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोम र लोमान्थाङ कार्यालयले हिउँ चितुवाको आहारा प्रजाति नाउरको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने उद्देश्यले छुट्टाछुट्टै सर्वेक्षण गरिरहेका एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीले जानकारी दिए ।
मस्ताङको तल्लो क्षेत्रमा हिउँ चितुवाको अध्ययनका लागि क्यामेरा जडान गरिएका एक र उपल्लो मुस्ताङमा तीन गरी चार वटा क्षेत्रमा चरन तथा घाँसको अध्ययन भइरहेको छ । ती क्षेत्रमा घाँसका नमूना सङ्कलन गरी चरनको विद्यमान अवस्था, घाँसका प्रजाति र विविधता, जैविक पदार्थको परिमाण तथा पोषण तत्वको अवस्था मापन गरिने छ ।
वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा १० वर्गमिटरका खण्ड बनाई प्रत्येक खण्डभित्र एक वर्गमिटरका उपखण्ड निर्धारण गरेर घाँसको नमूना सङ्कलन भइरहेको छ । तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा १५ र घरपझोङ गाउँपालिकामा नौ गरी २४ वटा खण्ड तथा तिनका ४८ वटा उपखण्डबाट हिउँ चितुवाको आहारा प्रजातिले खाने घाँसको नमूना सङ्कलन भइरहेको उनले बताए ।
वारागुङ मुक्तिक्षेत्रका साङ्ता, फल्याक, लुप्रा, मुक्तिनाथ, कागबेनी र झोङलगायत उच्चलेकका चरन क्षेत्रमा नमूना सङ्कलन भइरहेको छ। क्यामेरा जडान गरिएका क्षेत्रमा एक खण्डदेखि अर्को खण्डसम्मको दूरी कम्तीमा ५०० मिटर कायम गरेर नमूना लिइएको थकालीले जानकारी दिए ।
यसैगरी, उपल्लो मुस्ताङमा एक्याप लोमान्थाङले हिउँ चितुवाको अध्ययनका लागि यसअघि क्यामेरा जडान गरिएका तीन क्षेत्रमा चरन तथा घाँसको गुणस्तर मापन सुरु गरेको छ । हिउँ चितुवाको सङ्ख्या वृद्धि गर्न यसको आहारा प्रजातिको सङ्ख्या बढाउनुपर्ने र त्यसका लागि चरन क्षेत्र सुधार तथा घाँसको गुणस्तर वृद्धि आवश्यक रहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १५० वटा खण्डबाट घाँसको नमूना सङ्कलन भइरहेको छ । हिउँ चितुवाको अध्ययनका लागि निर्धारण गरिएका तीन क्षेत्रमा पाँच वर्गकिलोमिटरको जाली संरचनाभित्र पर्ने चरन क्षेत्र समेटेर नमूना सङ्कलन भइरहेको उनले जानकारी दिए । घाँसले ओगटेको क्षेत्रका आधारमा प्रतिखण्ड बढीमा ४० देखि ५० वटासम्म नमूना सङ्कलन गरिनेछ।
सर्वेक्षणका क्रममा हरियो घाँस र सुकेको घाँसको तौलसमेत मापन गरिने प्रमुख पौडेलले बताए । सङ्कलित नमूना प्रयोगशालामा पठाएर घाँसको पोषण तत्त्व र गुणस्तर परीक्षण गरिनेछ। यसबाट नाउरको आहारा उपलब्धता र गुणस्तर सुधारका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हिउँ चितुवाको प्रमुख आहारा नाउर भएकाले यसको आहाराको गुणस्तर र उपलब्धताले नाउरको शारीरिक अवस्था, मोटोपन तथा प्रजनन क्षमतामा पार्ने प्रभावसमेत अध्ययन गरिने उनको भनाइ छ । चरन क्षेत्रको अवस्था र घाँसका प्रजातिबारे वैज्ञानिक अध्ययन गरी आहारा प्रजातिको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने लक्ष्य छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्याले नाउरको आहारा तथा बासस्थानमा असर पारेको विश्लेषण गरिएको छ । गुणस्तरीय घाँसको अभावमा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेपछि स्थानीय किसानका पशुचौपाया हिउँ चितुवाको आक्रमणको जोखिममा पर्ने गरेका छन् ।
चरन क्षेत्रमा गुणस्तरीय घाँसको उपलब्धता घट्दै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुले हिउँ चितुवाको आहारा प्रजाति संरक्षणमा चुनौती थपेको छ । चरन क्षेत्रको गुणस्तर सुधार र चरिचरनलाई व्यवस्थित तथा सन्तुलित बनाउन सके नाउरको संरक्षणसँगै हिउँ चितुवा र यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अध्ययनका क्रममा चरन क्षेत्रमा पाइने घाँसको हरियो र सुकेको अवस्थाको तौल मापन गरिएको प्रमुख पौडेलले जानकारी दिए । सङ्कलित नमूना गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइने र त्यसबाट घाँसको पोषण गुणस्तर मापन गरिने उनले बताए ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा नाउरले खाने घाँसको अभाव हुन थालेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको प्रमुख पौडेलको कथन छ ।
चरन क्षेत्रमा मिचाहा प्रजातिका घाँस फैलिने र गुणस्तरीय घाँसको उपलब्धता घट्ने गर्दा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेका छन् । यसले स्थानीय किसानले पालेका पशुचौपाया हिउँ चितुवाको आक्रमणमा पर्ने जोखिम बढाएको छ ।
पछिल्ला केही वर्षयता उच्चलेकका चरन क्षेत्रमा पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्याले नाउरको बासस्थान र आहारामा असर पारेको छ । गुणस्तरीय घाँसको उपलब्धता घट्दै जाँदा हिउँ चितुवा र यसको आहारा प्रजाति संरक्षणमा चुनौती थपिएको छ ।
हिउँ चितुवाको बासस्थान क्षेत्रमा घाँसको गुणस्तर सुधार गर्नुका साथै चरिचरनलाई व्यवस्थित र सन्तुलित बनाउन सके नाउरको संरक्षण तथा हिउँ चितुवा र त्यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम गर्न सहयोग पुग्ने प्राकृतिक स्रोतसाधनको संरक्षणमा सक्रिय व्यक्तिहरूले बताएका छन् ।














प्रतिक्रिया