भोजपुर– खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु पाल्ने परम्परागत चलन घट्दै गएको छ । खेतीपातीका लागि गोरुमा निर्भर किसान पछिल्लो समय कृषि उपकरणको प्रयोगतर्फ आकर्षित भएपछि गोरुपालन घट्न थालेको हो ।
विगतमा खेतीपाती गर्ने प्रायः प्रत्येक किसान परिवारले एक हल गोरु पाल्ने गर्थे । खेत जोत्न, माटो सम्याउनलगायत कृषि कार्यमा गोरुको प्रयोग हुन्थ्यो । तर, हातेट्रयाक्टरबाट कम समय र श्रममा खनजोत गर्न सकिने भएपछि किसानले गोरु पाल्न छाड्दै गएका छन् ।
टेम्केमैयुङ गाउँपालिका–५ का गणेश विष्टका अनुसार गोरुले एक दिन लगाउने खेतबारीको खनजोत हातेट्रयाक्टरबाट तीनदेखि चार घण्टामै गर्न सकिन्छ । परम्परागत रूपमा गोरुबाट खेत जोत्दा धेरै समय र श्रम खर्चिनुपर्ने भए पनि हातेट्रयाक्टरबाट छिटो काम सकिने उनले बताए।
‘समय र श्रम दुवै बचत हुने भएकाले अहिले किसानको रोजाइ हातेट्रयाक्टर बनेको छ’, उनले भने।
टेम्केमैयुङ गाउँपालिका–४ नागीका रामकुमार राईले पनि हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घटेको बताए। विगतमा खेतीपातीका लागि प्रायः प्रत्येक घरमा एक हल गोरु हुने गरेकामा अहिले अधिकांश किसानले पाल्न छाडेको उनको भनाइ छ ।
‘पहिले गाउँमा गोरु नपाल्ने घर कमै हुन्थे । खेतीपातीका लागि गोरु अनिवार्यजस्तै थियो’, उनले भने, ‘अहिले हातेट्रयाक्टरले खेतबारी जोत्न थालेपछि गोरु पाल्ने चलन निकै घटेको छ ।’
खेतीपातीमा परिवारका सदस्यको जनशक्ति कम हुँदै गएको अवस्थामा कृषि उपकरण उपयोगी बनेको किसान एकराज विष्टले बताए। हातेट्रयाक्टरको प्रयोगले खनजोतका लागि गोरुमाथिको निर्भरता घट्नुका साथै पशुपालनमा खर्चिनुपर्ने समय र श्रमसमेत बचत भएको उनको भनाइ छ । वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवाशक्ति बाहिरिने क्रम बढ्दा खेतीपातीमा जनशक्तिको अभाव हुने गरेको उनले बताए।
किसानको माग र आवश्यकताअनुसार स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयले अनुदानमा हातेट्रयाक्टर वितरण गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाले पनि किसानलाई हातेट्रयाक्टर वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए।
किसानबाट हातेट्रयाक्टरको माग बढी आउने गरेको उल्लेख गर्दै उनले गत वर्ष गाउँपालिकामार्फत ३६० वटा हातेट्रयाक्टर वितरण गरिएको जानकारी दिए। कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानको मागअनुसार कृषि उपकरण वितरण गर्दै आएको उनले बताए।
कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा परम्परागत खेती प्रणालीमा पनि परिवर्तन आउन थालेको अध्यक्ष राईको भनाइ छ । विगतमा गोरुमा आधारित खेती प्रणाली अहिले क्रमशः कृषि उपकरणमा आधारित हुँदै गएको र यसले ग्रामीण कृषि जीवनशैलीमा समेत प्रभाव पारेको अध्यक्ष राई बताउँछन्।
हातेट्रयाक्टरको प्रयोगले खेतीपातीमा सहजता थपिए पनि यसको सञ्चालनका लागि इन्धन, मर्मतसम्भार र प्राविधिक ज्ञान आवश्यक पर्ने पौवादुङमा गाउँपालिका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए। कृषि उपकरणको उचित व्यवस्थापन र मर्मतसम्भारमा किसानले ध्यान दिनुपर्ने उनको सुझाव छ । गाउँपालिकाले किसानलाई हातेट्रयाक्टर मर्मतसम्भारसम्बन्धी तालिमसमेत दिँदै आएको उनले जानकारी दिए ।
कृषिमा आधुनिक उपकरणको प्रयोग विस्तार हुँदै जाँदा पुस्तौँदेखि चल्दै आएको गोरु पाल्ने परम्परा भने क्रमशः कमजोर बन्दै गएको छ ।

















प्रतिक्रिया