काठमाडौँ- नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तारका लागि दुवै देशका निजी क्षेत्रबीच साझेदारी गर्न जोड दिइएको छ ।
बङ्गलादेशको प्रमुख बन्दरगाह सहर चट्टोग्राममा बिहीबार आयोजित ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्यः व्यापार तथा पर्यटन सम्बन्ध सुदृढीकरण’ विषयक कार्यक्रममा यस्तो जोड दिइएको हो ।
कार्यक्रममा ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख प्रतीक कार्कीले नेपाल र बङ्गलादेशबीच आर्थिक साझेदारीका क्षेत्रमा निरन्तर प्रगति भइरहेको बताए।
उनले व्यापार, ऊर्जा, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धलाई दुई देशबीच आर्थिक सहकार्यका प्रमुख क्षेत्रका रूपमा उल्लेख गर्दै चट्टोग्रामका व्यवसायीलाई नेपालको निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरे।
नेपाली राजदूतावासका अनुसार कार्यक्रममा दूतावासका प्रथम सचिव योजना बम्जनले नेपाल र बङ्गलादेशबीच आर्थिक सहकार्यका प्रमुख क्षेत्र तथा दुवै देशका व्यवसायीबीच साझेदारी विस्तारका सम्भावनाबारे जानकारी गराएका थिए ।
कार्यक्रमले दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया