बागलुङ- जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत् प्रसारण लाइन गत बिहीबारदेखि नियमित सञ्चालनमा आएको हो।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीका अनुसार प्राविधिक समस्या समाधान र आवश्यक मर्मतपछि प्रसारण लाइन सञ्चालनमा ल्याइएको हो। प्राधिकरणको १८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त लाइन करिब ३५ किलोमिटर लामो छ।
लाइन विस्तारको काम सम्पन्न भए पनि विभिन्न प्राविधिक समस्याका कारण विद्युत् आपूर्ति सुरु हुन सकेको थिएन। वितरण केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गरेपछि विद्युत् सञ्चालनमा आएको हो।
विद्युत् पुगेपछि ढोरपाटन उपत्यकाका बासिन्दाको जनजीवन सहज हुने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो। यसअघि लघुजलविद्युत् र सौर्य ऊर्जामा निर्भर रहेको उक्त क्षेत्रमा मौसम प्रतिकूल हुँदा विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कसमेत विच्छेद हुने गरेको थियो।
बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त लाइन सञ्चालनमा आएसँगै बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन्। यसबाट उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन्।
वितरण केन्द्रका प्रमुख मरासिनीका अनुसार अब स्थानीय उपभोक्ताले विद्युत् जडानका लागि जुनसुकै समयमा बुर्तिबाङस्थित नो लाइट शाखामार्फत आवेदन दिन सक्नेछन्। ढोरपाटनमा विद्युत् पुगेपछि हालसम्म अन्धकार रहेको निसेलढोर क्षेत्रमा समेत विद्युत् विस्तार गर्ने बाटो खुलेको छ।
विद्युत् सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यका र आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या पनि समाधान भएको छ। करिब तीन हजार मिटर उचाइमा रहेको ढोरपाटनमा राष्ट्रिय प्रसारण प्रणालीको पहुँच पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवनसँगै पर्यटन, उद्योग तथा आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय ढोरपाटनमा पर्यटकको आगमन बढ्दै गएको छ। गत आर्थिक वर्षमा मात्रै उक्त क्षेत्रमा ३७ हजार पर्यटक पुगेका थिए। पर्यटकको सङ्ख्या बढेसँगै त्यहाँ विद्युत्को मागसमेत बढ्दै गएको छ।

















प्रतिक्रिया