भक्तपुर- भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिक भावना, कर्तव्यबोध र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना तथा व्यवस्थित सहर बनाउन सकिने बताएका छन् ।
शनिबार भक्तपुर नगरपालिका–१ मा स्थानीयवासीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरसफाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा भक्तपुरले तुलनात्मक रूपमा प्रगति गरिरहेको बताए।
भक्तपुरको पहिचान यहाँका सम्पदा र भौगोलिक क्षेत्रले मात्र नभई नागरिकको इमानदारी, अनुशासन र सचेतनाले निर्माण गरेको उनको भनाइ थियो ।
निर्वाचनमा बहुमत प्राप्त हुँदैमा सबै कुरा सही नहुने उल्लेख गर्दै प्रजापतिले राजनीतिक निर्णय गर्दा त्यसको दीर्घकालीन प्रभावबारे पनि विचार गर्नुपर्ने बताए।
उनले सुशासन र कानुनी शासन व्यवहारमै देखिनुपर्नेमा जोड दिँदै सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने प्रवृत्तिको आलोचना गरे।
प्रजापतिले विगतमा काठमाडौँको रानीपोखरी पुनर्निर्माणलगायत विभिन्न स्थानका विकास निर्माणका काममा भक्तपुरको नेतृत्व र जनशक्ति परिचालन गरी सफलता हासिल गरिएको अनुभव पनि सुनाए।
उनले दक्ष जनशक्ति र उपलब्ध क्षमताको सदुपयोग गर्दै सचेत, अनुशासित र व्यवस्थित ढङ्गले अघि बढ्न स्थानीयवासीलाई आह्वान गरे।














प्रतिक्रिया