चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण « Khabarhub

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरीे अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । 

चारपटकसम्म यसबीचमा ठेक्काको म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ८० प्रतिशत मात्र पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए ।

पछिल्लोपटक गत असारमा थपिएको म्याद पनि कात्तिकमा सकिइसकेको छ । ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो । सङ्घ सरकारको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत उक्त सडक निर्माणको काम भइरहेको हो ।

इन्जिनियर गौतमका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो ।

‘महानगरपालिकालगायत सम्बन्धित निकायबाट पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरिरहेको छ’, उनले भने, ‘मङ्सिर महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ, उक्त समयसीमाभित्र निर्माण पूरा नभएमा जरिवानालगायत अन्य कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’

सुरुमा जग्गाको विवाद देखाएर काममा ढिलाइ गरेको निर्माण कम्पनीले उक्त विवाद समाधान भएपछि पनि निर्माणलाई खासै गति दिन नसकेको इन्जिनियर गौतमले बताए । 

केही महिनाअघि सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैङ्क, परामर्शदातालगायतसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको थियो ।

जम्मा ३.२८ किमीको उक्त सडकलाई चार लेनमा विस्तार तथा स्तरोन्नति गर्न वर्षौं लागेपछि विकास निर्माणको काममा निकै सुधार आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । 

पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समयमा सडक नबन्दा पर्यटकीय क्षेत्र बेगानासदेखि उक्त सडक भएर यात्रा गर्ने सर्वसाधारणलाई सास्ती पुगेको बताए । 

‘पछिल्लो समय कामको गति केही बढेको जस्तो देखिएको छ, चारपटकसम्म म्याद थप हुँदा पनि सडक निर्माण नहुनु दुःखद छ,’ उनले भने, ‘निर्माण कम्पनीलाई जबाफदेही बनाउनुपर्छ, महानगरपालिकाकै गौरवको आयोजनामा चरम ढिलासुस्ती भइरहेको छ ।’

निर्माण कम्पनीसँग भ्याटसहित रु ७५ करोड ४८ लाखमा सडक निर्माणको ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्र्याक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नमूना सडक बन्ने उनको भनाइ छ । सडक छेउछाउमा बगैँचा, यात्रु प्रतीक्षालयसहित आकर्षक पूर्वाधार बनाइने भएको छ । सडकमा तीन वटा पुल पनि बन्नेछन् ।

पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिनेछ । महानगरकै गौरवको आयोजनाका रूपमा रहेको उक्त सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो ।

उक्त सडक बनेपछि सात तालको वाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको आर्थिक विकास र पर्यटन गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १ : २७ बजे

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

गण्डकी– विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

चितवन– तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच

बालुवा-गिट्टी कुटेर बिताएको झुप्रा खोलामा शिक्षामन्त्रीलाई लिएर पुगिन् मन्त्री बादी

काठमाडौँ– बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएको महिला, बालबालिका,

दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्याउँदै याङवरक

पाँचथर– दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकारको धर्ना (तस्बिरहरू)

काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिल अध्यादेश फिर्ता