काठमाडौं- पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलद्वारा अर्का एक सर्वसाधारणको गैरन्यायिक हत्या गरिएको एक प्रमुख मानवअधिकार संस्थाले आरोप लगाएको छ । मानवअधिकार संस्था बलुच याकजेहती कमिटी (बीवाईसी) का अनुसार १९ वर्षीय युवक इमरान अब्दुल्लाहको गोली प्रहार गरिएको शव केच जिल्लाको मण्ड तालम्ब क्षेत्रमा फेला परेको हो । उनलाई बलपूर्वक बेपत्ता पारिएको करिब आठ दिनपछि नोभेम्बर १४ मा उनको शव फालिएको अवस्थामा भेटिएको बीवाईसीले जनाएको छ ।
बीवाईसीका अनुसार आफ्नो परिवारको गुजारा चलाउन र उज्ज्वल भविष्य निर्माण गर्न विदेशमा काम गर्दै आएका इमरानलाई पाकिस्तानी सुरक्षा बलले नोभेम्बर ९ मा बलपूर्वक बेपत्ता पारेको थियो । बेपत्ता पारिएका एक १९ वर्षीय युवकको यसरी हत्या गरिनु बाँच्न पाउने मौलिक अधिकार, मानव मर्यादा तथा यातना र गैरन्यायिक हत्याविरुद्धको संरक्षणको गम्भीर उल्लङ्घन भएको उक्त संस्थाले बताएको छ ।
अगाडि सिङ्गो भविष्य रहेको एक युवकलाई परिवारबाट खोसेर निर्जीव शरीरका रूपमा मात्र फिर्ता गरिएको र यसले परिवारलाई प्रियजनका साथै सत्य, न्याय र जवाफदेहिताको अधिकारबाट समेत वञ्चित गराएको बीवाईसीको विज्ञप्तिमा उल्लेख छ ।
कुन अपराधले १९ वर्षीय युवकलाई परिवारबाट खोसेर कानुनको संरक्षणभन्दा बाहिर राख्ने र गोली लागेको शव फिर्ता गर्ने अधिकार दिन्छ भनी प्रश्न गर्दै बीवाईसीले कानुनी प्रक्रियाविना कसैको पनि ज्यान लिने अधिकार कुनै व्यक्ति वा संस्थालाई नभएको स्पष्ट पारेको छ । बलपूर्वक बेपत्ता पारेर गैरन्यायिक हत्या गर्नु कानुनी शासन र मानवअधिकारका आधारभूत सिद्धान्तमाथिको गम्भीर प्रहार भएको संस्थाले ठहर गरेको छ ।
बलुचिस्तानको बिग्रँदो मानवअधिकार अवस्थाप्रति मौनता तोड्न र तत्काल कदम चाल्न बीवाईसीले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरू तथा विश्व समुदायलाई आह्वान गरेको छ । बलपूर्वक बेपत्ता पार्ने, हिरासतमा हत्या गर्ने र गैरन्यायिक रूपमा ज्यान लिने क्रमले बलुच परिवारहरूलाई निरन्तर तहसनहस पारिरहेको र हिंसाको यो बढ्दो प्रवृत्तिले बाँच्न पाउने अधिकारको व्यवस्थित उल्लङ्घन तथा न्यायबाट वञ्चित गराउने कार्यप्रति गम्भीर चिन्ता पैदा गरेको बीवाईसीले जनाएको छ । पछिल्लो समय बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलको अत्याचार र सर्वसाधारणको गैरन्यायिक हत्याको क्रम अभूतपूर्व रूपमा बढेको बताइएको छ ।














प्रतिक्रिया