चर्चित उपन्यासकार नथानियल हार्थन एउटा कार्यालयमा नोकरी गर्थे । जतिसुकै मिहिनेतसाथ काम गरे पनि उनी त्यसमा सफल हुन भने सकिरहेका थिएनन् । घरको गरिबीले गर्दा पारिवारिक दायित्व पूरा गर्नै पनि उनले नोकरी नगरी सुख थिएन ।
उनलाई आफू अफिसमा नोकरी गर्नका लागि जन्मेकै होइन जस्तो लागिरहन्थ्यो । उनको काम पनि सन्तोषजनक हुन सकिरहेको थिएन । परिणामस्वरूप एक दिन उनलाई नोकरीबाट निकालियो ।
नोकरीबाट निकालिएको पत्र पाएपछि उनी निराश हुँदै घर फर्किए । घर पुगेपछि उनले पत्नी सोफियालाई आफू नोकरीबाट निकालिएको सुनाए । पति जागिरबाट निकालिएको सुन्दा पनि सोफिया दुःखी भइनन् । उल्टै उनी खुसी भइन् ।
उनले पतिलाई अँगालोमा बेर्दै भनिन्– ‘मेरा प्यारा पतिदेव, तपाईं कति प्रतिभाशाली हुनुहुन्छ भन्ने मलाई मात्र थाहा छ । यथार्थमा तपाईं यस्तो कुनै नोकरी गर्न जन्मेको मान्छे नै होइन । अब तपाईंले कत्ति पनि निराश नभईकन आफ्नो लेखन कार्यमा लाग्नुपर्छ । मलाई विश्वास छ, तपाईं एक सफल लेखक बन्नुहुनेछ ।’
हार्थनले खुइय गर्दै भने— ‘तिमी त भन्छ्यौ नि ! तर नोकरीको अभावमा चुलो कसरी जलाउने ? पत्नी सोफियाले दराज खोलेर पैसाको बिटो निकालेर अगाडि राखिदिइन् । पैसा देखेर हार्थन छक्क परे ।
उनको मनोदशा बुझेर सोफियाले भनिन्– मेरा प्यारा पतिदेव, यो सबै तपाईंकै कमाइ हो । मैले थोरै–थोरै गरी जोगाएको पैसा हो । यसबाट हामी एक वर्ष त दुःखसुख बाँच्न सक्छौँ । यहीबीच म पनि नोकरी खोज्न सक्छु । त्यसैले अब तपाईं आफ्नो पूरा ध्यान र क्षमता लेखनमा लगाउनुहोस्, घर म सम्हाल्छु ।
पत्नीको प्रोत्साहन पाएपछि हार्थन लेखन कार्यमा समर्पित भए । केही महिनाको अथक प्ररिश्रमपछि उनले अमेरिकी साहित्यको महान् उपन्यास ‘द स्कार्लेट लेटर’ तयार गरे ।
प्रतिक्रिया