काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसदमा आवाज उठाउने « Khabarhub

काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसदमा आवाज उठाउने


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न आवाज उठाउने जनाएको छ ।

पार्टीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हेर्ने संयोजक डा डिला सङ्ग्रौलाले आज पत्रकार सम्मेलन गरी यही पुस ४ गतेदेखि शुरु हुने संसद्को हिउँदे अधिवेशनमा सो विषयमा आवाज उठाउने जानकारी गराएकी हुन् ।

सरकारले युएई, मलेसिया, जापान र मरिससलगायतका श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता, सम्झदारी, सहमति गरे पनि सो विषयका प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयन गर्न नसकेको उनले आरोप लगाइन् ।

सांसद सङ्ग्रौलाले मलेसिया जाने कामदारसँग मेनपावर कम्पनीले सेवा शुल्क नलिने भने पनि कानूनी छिद्र प्रयोग गर्दै विचौलियामार्फत ठूलो रकम असुली रहेको उदाहरण दिएकी थिइन् ।

यसैगरी जापानसँग श्रम सम्झौता गरिएकोमा भाषा परीक्षा र सीप परीक्षणका प्रक्रिया झन्झटिला भएको कारण सोचेअनुसार नेपाली कामदार जान नपाएको टिप्पणी गरिन् ।

उनले सरकारले पुनः श्रम स्वीकृतिलाई अझ सहजीकरण गर्न नियोगबाट दिने सेवालाई सहजीकरण गर्न नसकेको, पुनः श्रम स्वीकृति लिने नेपालीका लागि प्रदेशस्तरमा सेवा विस्तार गरे पनि प्रक्रियागत झन्झट भएकोमा मन्त्रालयले सहजीकरणका लागि आधिकारिक निकायलाई निर्देशन गर्न नसकेको बताइन् ।

सांसद सङ्ग्रौलाले वैदेशिक रोजगार विभागको सेवालाई अनलाइन प्रक्रियामा लगिरहेको बेला व्यवसायीले विभाग र मन्त्रालयमा अनावश्यक दबाब दिने कार्य मन्त्री परिवर्तनसँगै शुरु भएको आरोप लगाइन्। उनले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल एउटा श्वेतपत्र जारी गर्न ध्यानाकर्षणसहित सरकारसँग माग गरिन् । सांसद सङ्ग्रौलाले यस क्षेत्रका समस्याको पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका कार्यक्रम ल्याउन पनि आह्वान गरिन् ।

सरकारले श्रमिकले न्यूनतम ज्याला कार्यान्वयन गर्न गत वर्ष नै कार्यक्रम ल्याएको भए पनि सबै श्रमिकले न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेको बताउँदै उनले यसका लागि मन्त्रालयले गर्नुपर्ने श्रम अडिटको प्रक्रिया मन्त्री परिवर्तनसँगै सुस्ताएको धारणा व्यक्त गरिन् ।

कांग्रेस कृषक, मजदूर, श्रमिक वर्गको पक्षमा सधैँ दृढतापूर्वक उभिएको बताउँदै उनले सरकारका रचनात्मक कामको समर्थन र गलत कामको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ०१ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को