महिला क्रिकेट : राखेप र प्रशिक्षकबीच ‘जुगाँको लडाइँ’,कमजोरी लुकाउन आरोप–प्रत्यारोप « Khabarhub

महिला क्रिकेट : राखेप र प्रशिक्षकबीच ‘जुगाँको लडाइँ’,कमजोरी लुकाउन आरोप–प्रत्यारोप



काठमाडौं– नेपालले क्रिकेटमा निक्कै ठूलो फड्को मारेको छ । एक दशकलाई हेर्दा अन्य खेलको तुलनामा नेपाली खेल जगतलाई चिनाउन क्रिकेट नै सफल भएको छ । तर, लगातारको सफलता हात पार्दै आएको नेपाली क्रिकेट टोली र खेलाडी भने उपेक्षामा परेको गुनासो गर्छन्।

अनेकन समस्यालाई झेल्दै नेपाली क्रिकेट टोलीले प्राप्त गरेका उपलब्धी हामी सबैसामु छर्लङ्ग छन् । यो अवस्थामा आफूहरुलाई अभिभावकीय भूमिकाको जरुरत रहेको खेलाडीहरु बताउँछन् । नेपाली क्रिकेटको लोकप्रियता बढ्नुमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता नै हो । नेपाल क्रिकेट संघ (क्यान) विवादको भूमरिमा परिरहँदा नेपाली क्रिकेट टोलीले आफुलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासम्म पुर्‍याएको छ ।

पुरुष टोलीसँगै नेपालमा अहिले महिला क्रिकेट टोलीको पनि लोकप्रियता बढ्दो छ । राष्ट्रिय महिला टोली पनि आफूलाई बलियो सावित गर्न संघर्षरत छ । महिला टोलीले पछिल्लो समय खेलेका २ अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई बलियो प्रतिस्पर्धी टोलीका रुपमा उपस्थिति जनाएका छन् । उचित खेलमैदानको अभाव, नियमित परीक्षण नपाई नै महिला टोलीले गरेको यो प्रदर्शन उदाहरणीय हो ।

जनवरीमा सम्पन्न ‘थाइल्यान्ड महिला टि—२० स्म्यास’ प्रतियोगिता र थाइल्यान्डमै केही दिन अगाडि सम्पन्न ‘ट्वान्टी—२० महिला विश्वकप एसिया क्षेत्र छनोट’ प्रतियोगितामा देखाएको प्रशंसनीय प्रदर्शन सम्झनलायक रह्यो । नेपाली टोली दुवै प्रतियोगितामा आफ्नो बलियो सहभागिता जनाउँदै उपविजेता बन्यो ।

थाइल्यान्डको अघिल्लो भ्रमणभन्दा विश्व कप एसिया क्षेत्र छनोटमा नेपाली टोलीले अझ सशक्त प्रदर्शन गर्न सफल भयो । प्रतियोगितामा माथिल्लो चरण प्रवेशका लागि एक टोलीमात्र छनोट हुने प्राबधान भएका कारण नेपाली टोली उपविजेताबाटै फर्किन बाध्य बन्यो । उपबिजेता बनेर स्वदेश फर्किँएको टोली प्राप्त उपलब्धीको खुसी मनाउने आकांक्षा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्यो ।

प्रतियोगिताको बिजेता नबनेपनि राम्रो उपस्थिति जनाएर आएको टोली विमानस्थल शुन्य देख्दा निराश बन्यो । उनीहरुले अपेक्षा गरेका खेल प्रेमी त त्यहाँ गएनन् नै, कामको तारिफ गर्न सरकारी अधिकारीहरु पनि कोही उपस्थित भएका थिएनन् । जसले खेलाडीको मुहारमा बादल ल्याइदियो ।

यस्तो अवस्थामा खेलाडीहरुलाई उर्जा दिनु राज्यको दायित्व हो । तर त्यसो हुन सकेन । यसका कारण धेरै हुनसक्छन् । तर, नेपालको प्रतिनिधित्व गर्दै दमदार प्रस्तुती दिएर फर्किएको टोलीले उचित सम्मान पाउनै पर्छ । यो सम्मान दिने विषयलाई लिएर जिम्मेवार निकाय भने एकअर्काप्रति दोषारोपण गर्दै पन्छिन खोज्छन् ।

अहिले क्यान निलम्बनमा रहँदा क्यानकी पूर्वसीईओ भावना घिमिरेले आईसीसीको प्रतिनिधिको जिम्मेवारी सम्हालेकी छिन् । नेपाली क्रिकेटका केही अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा घिमिरेमार्फत् आईसीसीलाई जानकारी गराइन्छ । त्यस्तै, नेपाली क्रिकेटका प्राविधिक कोअडिनेटरका रुपमा रमन सिवाकोटी छन् । घिमिरे र सिवाकोटी दुवै जनाको नेपाली क्रिकेटमा योगदान पुर्‍याउँदै आएको भएपनि कतिपय कुरामा समन्वय नभएको देखिन्छ । पछिल्लो महिला क्रिकेट टोलीको हकमा पनि यही अभाव खड्किएको देखिन्छ ।

खेलाडीको काम प्रतियोगितामा सहभागी भएर खेल्नु हो । खेलाडीले देशका तर्फबाट खेलिसकेपछि त्यसको मूल्याङ्कन गर्ने काम सरकारको हो

यता नेपाली खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भने आफूलाई महिला टोली फर्किने सूचनासमेत नभएको दाबी गर्छ । विमानस्थलमा सरकार तथा राखेपका तर्फबाट स्वागत गर्न कोही नजानुमा महिला टोलीको व्यवस्थापन पक्षको लापरबाही मुख्य कारण रहेको राखेप सदस्य सचिव केशवकुमार बिष्टले बताए ।

यो विषयमा खबरहबले विष्टसँग कुराकानी गर्दा उनी निक्कै आक्रोशित भए, ‘हामीलाई कसैले जानकारी नै नगरी उनीहरु आउँदैछन भन्ने कसरी थाहा पाउने ? के हामीले पत्रपत्रिका हेरेर टोली फर्किदै रहेछ भन्दै विमानस्थल पुग्ने ?’ उनले महिला टोलीका तर्फबाट कुनै पनि किसिमको समन्वय नभएको आरोप लगाए ।
विश्व कप एसिया क्षेत्र छनोटमा उपविजेता भएर आएको महिला टोलीलाई सरकारी पक्षले अहिलेसम्म कुनै प्याकेजको व्यवस्था नगरेको पनि बताए ।

नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्‍यो भने पुरस्कारको घोषणा गर्ने परम्परा छ । तर, महिला टोलीले दुई—दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्दै उपविजेता हुँदा पनि सरकारले प्रोत्साहनस्वरुप केही दिन सकेको छैन् ।

हौसला बढाउने र प्रोत्साहन हुने कुनै काम नभएपनि महिला क्रिकेटरहरु आशावादी भएर खेलिरहेका छन् । ‘हामीले प्रतियोगिता नहुँदा आफ्नो क्षमता देखाउन पाएका थिएनौं । घरेलु प्रतियोगिता हुने भएपछि अब हामीले आफ्नो क्षमता पनि देखाउन सक्छौं,’ राष्ट्रिय महिला टोलीकी कप्तान रोविना क्षेत्री बेलबासीले केही समय अगाडि एक औपचारिक कार्यक्रम भनेकी थिइन्,‘हामी आगामी दिनमा राम्रो प्रदर्शन गछौं । खेलेरै देशका लागि केहीगर्ने सोच छ।’

त्यसो त, सदस्य सचिव बिष्टले क्यान नहुँदा यस्तो समस्या देखिएको बताएका छन् । उनले महिला टोलीसँग राखेपको प्रशिक्षक नहुँदा पनि समन्वयको समस्या हुने गरेको बताए । ‘महिला टोलीमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक भएको भए काम गर्न सहज हुन्थ्यो होला उहाँ (विनोद दास) आईसीसीको प्रशिक्षक पर्नुभयो । हामीसँग छलफल नै हुँदैन,’ बिष्टले अगाडि थपे,‘आईसीसीको मात्रै बफादार भएर हुन्छ । हामीसँग छलफल हुनुपर्दैन ? कहिले काही पैंसा चाहिए आउनुहुन्छ । मागेको सहयोग गरेकै छौं ।’

बिष्टले पुरुष राष्ट्रिय टोलीमा राखेपका प्रशिक्षक भएकाले काम गर्न सजिलो भएको पनि उदाहरण दिए ।

विष्टको आरोप सुनेका महिला टोलीका प्रशिक्षक तथा राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले आफूलाई राखेपसँग समन्वय गर्ने अधिकार नभएको बताउँछन् । ‘मलाई राखेपको तर्फबाट प्रशिक्षक बनाइएको होइन । आईसीसीले महिला टोलीको नेतृत्व दिएको हो । मसँग परिषद् वा अन्य कुनै संस्थासँग छलफल गर्ने अधिकार नै छैन्,’ दासले भने, ‘मलाई आईसीसीले खेलाडी छनोट गर्ने अभ्यास गराउने र प्रतियोगितामा खेलाडीको प्रदर्शनलगायत कुराको मात्र जिम्मेवारी दिइएको छ।’

खेलाडीको क्षमता र प्रदर्शनलाई सरकारले मूल्यांकन गर्नुपर्ने दासको भनाई छ । उनले भने, ‘खेलाडीको काम प्रतियोगितामा सहभागी भएर खेल्नु हो । खेलाडीले देशका तर्फबाट खेलिसकेपछि त्यसको मूल्याङ्कन गर्ने काम सरकारको हो । खेलाडी स्वयंले राम्रो गर्‍र्यौं पुरस्कार दिनुस् भनेर जानु कदापि राम्रो होइन । मलाई उहाँहरुसँग गएर यस्तो गर्नु पर्‍यो, उस्तो गर्नु पर्‍यो भन्ने अधिकार पनि छैन । अब यस्ता विषयमा सरकारले मूल्याङ्कन गरेर त्यसलाई प्रोत्साहन गर्ने कि तिरस्कार गर्ने उनीहरुको कुरा हो ।’

पदीय जिम्मेवारीमा रहेकाले अर्कोलाई दोषी देखाएर तर्किन मिल्दैन । आरोप–प्रत्यारोपले खेलाडीको मनबल त गिर्छ नै उनीहरुले क्षमता अनुसारको प्रदर्शन पनि गर्न सक्दैनन् । अनि समन्वयको अभाव भन्दै एउटै खेलका दुई टोलीबीच विभेद पनि गर्न मिल्दैन 

उनले अहिले अवस्थामा सिर्जना हुन्छ भन्ने थाहा भएको भए आफूले पहिले नै जानकारी दिने बताए । त्यो समय पहिलो प्राथमिकतामा खेल र खेलाडी भएको हुँदा अहिले सिर्जित अवस्थातर्फ आफू चनाखो बन्न नसकेको स्वीकार गरे । यदि सूचनाकै अभावमा यस्तो भएको हो भने आफू माफी माग्न पनि तयार रहेको उनले बताए ।

क्रिकेटकै प्रसंग निकाल्दै सदस्यसचिव विष्टले पाकिस्तानविरुद्धको पाँच दिनको टि—२० शृङ्खलाको विजेता नेत्रहीन नेपाली महिला क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने तयारी सरकारले गरेको जानकारी दिए । उनले सहयोगका लागि भनेर सिफारिस गरिसकिएको र उक्त विषयमा मन्त्रीपरिषद् बैठकले निर्णय गरेपछि निश्चित हुने बताए ।

महिला क्रिकेट टोलीको पछिल्लो यो परिदृश्यलाई लिएर विभिन्न टिक्का टिप्पणी सार्वजनिक भइरहेका बेला पदीय जिम्मेवारीमा रहेकाले अर्कोलाई दोषी देखाएर तर्किन मिल्दैन । आरोप–प्रत्यारोपले खेलाडीको मनबल त गिर्छ नै उनीहरुले क्षमता अनुसारको प्रदर्शन पनि गर्न सक्दैनन् । अनि समन्वयको अभाव भन्दै एउटै खेलका दुई टोलीबीच विभेद पनि गर्न मिल्दैन ।

क्रिकेटको पुरुष टोलीको तुलनामा महिला टोली केही विभेदमा परेको खेल विज्ञहरु पनि बताउँछन् । पुरुष टोली यूएईसँगको एकदिवसीय तथा ट्वान्टी—२० शृङ्खला जितेर फर्कंदा विमानस्थलमा रेड कार्पेटमा भव्य स्वागत गरिनु तथा महिला टोली फर्किंदा कोही पनि उपस्थित नहुनले नराम्रो सन्देश जाने खेलकुदका जानकारहरु बताउँछन् । त्यसैले नेपाली खेलाडीले गरेको प्रदर्शन र उनीहरुको क्षमता विकासका लागि पनि सरकारले प्रोत्साहन जगाउने काम गर्नु जरुरी हुन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ९ : १० बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको