काठमाडौं– मोरङकी २१ वर्षीया करुणा कार्की गत असार १४ गतेदेखि बेपत्ता छिन् । उनको खोजीमा परिवार भौतारिएको छ । सबैतिर खोज्दा पनि उनको अत्तोपत्तो लागेको छैन् । छोरीको खोजीका लागि प्रहरीसमक्ष निवेदनसहित सबै आफन्त गुहारे पनि अहिलेसम्म करुणा फेला परेकी छैनन् ।
सुनसरीको इनरुवाका १३ वर्षे मुकेश चौधरी पनि असार ८ गतेदेखि बेपत्ता छन्। प्रहरी प्रशासन र आफ्नो क्षमता अनुसारको परिवारको खोजाईले पनि उनी अहिलेसम्म फेला परेका छैनन् ।
साउन ४ देखि बेपत्ता भएकी बर्दियाकी पार्वती बराललाई परिवारले भेट्टाउन सकेको छैन् । यी तीनै बेपत्ता युवती, किशोर, किशोरीको खोजीमा परिवार तथा प्रहरी, प्रशासन जुटेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन् ।
मोरङकी करुणा, सुनसरीका मुकेश र बर्दियाकी पार्वती प्रतिनिधि पात्र हुन् । ३ वर्षका अवधिमा उनीहरुजस्ता ३४ हजार ४ सय जना बेपत्ता भएका छन् ।
यो सूची फोटोसहित नेपाल प्रहरीको वेभसाईटमा पूर्ण विवरणसहित राखिएको छ । मानिस कहाँ कसरी र किन हराउँछन भन्ने विषय प्रहरीका लागि ठूलो टाउको दुखाईको विषय नै बनेको छ ।
नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेल भन्छन्–‘अहिले मानिस हराउने समस्याले विकराल रुप लिएको छ । महिला, बालबालिका तुलनात्मक रुपमा धेरै हराएका छन् । केहि फेला परेपनि धेरै बेपत्ता हुने गरेका छन् । हामी खोजीमा जुटिरहेका छौं ।’
३४ हजार ४ सय बेपत्ता
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ३ बर्ष बर्षमा मात्र ४५ हजार ४ सय २३ जना मानिस हराएका थिए। यो प्रहरी कार्यालयमा दर्ता भएको उजुरीको संख्या हो । दर्ता नभएका घटना अरु पनि हुनसक्ने प्रहरीको अनुमान छ ।
हराएका मध्ये ११ हजार २३ जना फेला परेका छन् । प्रहरी र आफन्तको खोजीमा उनीहरु फेला परेपनि अझै ३४ हजार ४ सय बेपत्ता छन् । यो ३ वर्षको मात्र तथ्यांक हो ।
हराउने महिला तथा बालबालिका धेरै
तथ्याङ्क अनुसार, बेपत्ता हुनेमा सबैभन्दा बढी महिला तथा बालबालिका छन् । आर्थिक बर्ष २०७३/७४ मा ७ हजार २ सय ७९ जना बालबालिका हराएका थिए । त्यसमध्ये १ अजार ६ सय १३ जना मात्र फेला परे ।
त्यस्तै आर्थिक बर्ष २०७४/७५ मा यो संख्या झनै बढ्यो । ८ हजार २ सय ७७ हराएका बालबालिका मध्ये १ हजार ८ सय १९ जना मात्र फेला परे । गत आर्थिक बर्ष अर्थात २०७५/७६ मा हराउने बालबालिकाको संख्या ११ हजार १ सय ५३ पुग्यो । त्यसमध्ये ३ हजार ३ सय ७ जना फेला परे ।
हराउनेमा बालबालिका मात्र होइन । महिलाको संख्या पनि उस्तै छ । आर्थिक बर्ष २०७३/७४ मा ३ हजार ३ सय ३२ जना हराएकोमा ७ सय ३९ जना फेला परेका छन् । त्यस्तै २०७४/७५ मा ४ हजार २ सय ६१ जना महिला हराएका थिए । त्यसमध्ये ८ सय ५ जना मात्र फेला परे ।
२०७५/७६मा यो संख्या बढेर हराउने महिला ५ हजार ८ सय ५२ जनाको उजुरी प्रहरी कार्यालयमा दर्ता भयो । जसमध्ये १ हजार ५ सय ५ जना मात्र फेला परे । समग्रमा हेर्दा पछिल्लो ३ बर्षमा मात्र १९ हजार ९ सय ७० जना बालबालिका बेपत्ता छन् । त्यसैगरी ११ हजार १ सय २१ जना महिला बेपत्ता छन् । त्यसैगरी बेपत्ता हुने पुरुषको संख्या ४ हजार ६४ छ ।
कहाँ जान्छन् हराएका मानिस ?
महत्वकांक्षाका कारण परिवारलाई थाहै नदिई घर छाड्नेदेखि आर्थिक प्रलोभनमा परी विभिन्न दलालको फन्दामा पर्नेसम्म छन् ।
बेपत्ता भएकाहरु भने कहाँ जान्छन्, के गर्छन भन्ने अत्तोअपत्तो अहिले सम्म लागेको छैन् ।
यति ठूलो संख्यामा नागरिक बेपत्ता हुँदा सरकारले बेपत्ता नागरिक खोज्ने उचित काम गरेको देखिँदैन भने हराउनुको कारण खोज्न कुनै अध्ययन पनि गरेको पाइँदैन ।
अनुसन्धानमा रहेको प्रहरीले पनि यो निक्कै ठूलो समस्या बन्दै गएको दाबी गर्दै आएको छ । नेपाल प्रहरीको कार्य एंव अपराध अनुसन्धान विभागका प्रमुख एआईजी पुस्कर कार्की भन्छन् ‘हराउने संख्या हेर्दा निकै ठुलो देखिन्छ । तर, हराएका मध्ये सबैको अवस्था अज्ञात नै छ भन्न चाहीं मिल्दैन । कतिपय परिचय लुकाएर बसेका हुन्छन् भने कतिपय रेष्टुरेण्ट, डान्सबार, नाइट क्लव, घरेलु कामदारका रुपमा समेत काम गरिरहेका हुन्छन् । मात्र डाडाबेसका अभावमा भन्न सक्ने अवस्था नआएको हो ।’
अवस्था यो भएपनि ढुक्कले बस्ने वातावरण भने नभएको कार्की बताउँछन् । उनले भने, ‘हराएका मध्ये कतिपय अपराधको शिकार बनेको समेत पाइएको छ । कतिपयलाई मिर्गौला लगायतका मानव अंग तस्करीका लागि प्रयोग गर्ने गरेको पनि पाइएको छ । धेरैलाई जबरजस्ती यौन व्यवसायमा लगाएको अनुसन्धानका क्रममा खुल्दै आएको छ ।’
यता राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले पनि प्रत्येक वर्ष मानिस हराउने क्रम बढेकाले यस विषयमा सबै गम्भीर हुनुपर्ने बताइन् । उनले भनिन्, ‘हराउने व्यक्तिहरुको संख्या ठूलो मात्रामा छ । त्यसमध्ये धेरैलाई यौन व्यवसायका लागि बेचबिखन गरिएको पाइन्छ । कतिपयको प्रयोग मानव अंग बिक्री–वितरणको उद्देश्यबाट पनि भएको छ । यसको नियन्त्रणका लागि सबै गम्भीर हुनुपर्छ ।’
पूर्वएआइजी देवेन्द्र सुवेदी पनि मानिस हराउने समस्या निकै चुनौतीपुर्ण रहेको बताउँछन् । उनी भन्छन्, ‘प्रत्येकबर्ष हराउने संख्या बढ्नु र उनीहरुको अवस्था अज्ञात हुनु गम्भिर कुरा हो । खुला सीमाका कारण हराएका मध्ये कतिपय बेचबिखन र यौन शोषणमा पर्न सक्छन् । त्यसैले यस्तो गम्भिर समस्या हो । नियन्त्रणका लागि सबै सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।’
प्रतिक्रिया